काठमाडौं- जेनजी आन्दोलनको महिनौं पछि पनि त्यसको पराकम्पको अनुभव भैरहेको छ । सिमरामा नेकपा एमाले र जेनजी समूहबीच भएको झडप त्यसको ज्वलन्त उदाहरण हो । यो घटनाले क्रमशः शान्ति छाउँदै गएको अवस्थामा फेरि तनावपूर्ण स्थिति सिर्जना भएको छ ।
नेकपा एमालेको भ्रातृ संगठन युवा संघले बाराको परवानीपुरमा मधेस प्रदेशस्तरीय युवा जागरण अभियान कार्यक्रम राखेको थियो । सो कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलसहित भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेता काठमाडौंबाट सिमरा जाँदै थिए । नेताहरू सिमरा विमानस्थल झर्ने पक्का भएपछि स्थानीय जेनजी समूहका युवाहरू विमानस्थलबाहिर जम्मा भएर नेतालाई रोक्ने प्रयास गरेका हुन् । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा स्थिति असमान्य भएको हो ।
भदौ २३ र २४ को जेनजी आन्दोलनले सत्ता उलटपुलट बनाएसँगै सुशीला कार्की नेतृत्वको नागरिक सरकारले देशको शासन सत्ता चलाएको छ । चुनाव गराउन गठन भएको अन्तरिम सरकार चुनावको तयारीमा लागिरहँदा राजनीतिक चुनावको मुख्य सरोकारवाला पक्ष राजनीतिक दलहरूले आफ्ना राजनीतिक कार्यक्रम लिएर जिल्लास्तरमा जान थालेका छन् । यसै सन्दर्भमा बुधबार एमालेका नेताहरू पार्टी कार्यक्रममा सहभागी हुन जान पाएनन् ।
सरकारले घोषणा गरेको फागुन २१ को प्रतिनिधि सभा चुनावका सम्बन्धमा यस घटनाले संशय थपेको देखिन्छ । पार्टी नेताहरूलाई स्वागत गर्न पूर्वमन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह र अच्युत मैनाली विमानस्थलमा पुगेका थिए । तर महेश बस्नेत बारा ओर्लने सूचना पाएलगत्तै मंगलबारदेखि नै जेनजी युवाहरूले सामाजिक सञ्जालमार्फत विरोध कार्यक्रम तय गरेका थिए । जेनजी समूहका युवाहरूले विमानस्थलको गेट तोडफोड गर्दै विमानस्थलभित्रका सार्वजनिक संरचना र सवारीसाधनमा समेत क्षति पु¥याएको अवस्था छ ।
घटनापछि जेनजी मधेश प्रदेशका संयोजक शिव यादवले घटनाको कारक एमाले भएको दाबी गरेका छन् । बुधबार बिहान बाराको सिमरामा जेनजीहरूले आयोजना गरेको पूर्वनिर्धारित शान्तिपूर्ण कार्यक्रमका लागि बिहान १० बजे नै भेला भएका साथीहरूलाई एमाले कार्यकर्ताले कुटपिट गरेपछि स्थिति तनावग्रस्त बनेको यादवले दाबी गरेका छन् ।
विमानस्थल आक्रमण भयो, केही गाडीमा क्षति भयो । यसलाई प्रशासनले एकखालको आक्रमणकै रूपमा लिएको छ । लोकतन्त्रमा कसैले कसैलाई निषेध गर्नु ठिक होइन । राजनीतिक दलहरुलाई जनतामा जान रोक्ने काम जुनसुकै समूहको नाममा भए पनि खेदजनक र निन्दनीय छ । जब दलहरुलाई देशभित्रै आवागमनमा अबरोध पुग्छ भने शान्तिपूर्ण निर्वाचनको कल्पना गर्न पनि सकिंदैन । जेनजिले दललाई अबरोध गर्ने र दलका कार्यकर्ताले जेनजिलाई अबरोध गर्ने अवस्था सिर्जना हुनु आसन्न निर्वाचनका लागि शुभ संकेत होइन । कुनै कारणवश निर्वाचन हुन सकेन भने मुलुक राजनीतिक शून्यतामा जानेछ । त्यतिबेला यो सरकारको औचित्य पनि सकिनेछ । अनि शून्यतामा विभिन्न शक्तिकेन्द्रहरुले खेल्न खोज्छनेछन् । मुलुक नै संकटमा पार्ने काम जेनजि वा कुनै पनि समूहले गर्नु हुँदैन । ठूलो परिवर्तनको चाहना राखेर गरिएको जेनजि आन्दोलनको ऐजेण्डा स्थापित गराउन सबैले संयम अपनाउन जरुरी छ ।
प्रतिक्रिया