काठमाडौं- जेनजी प्रदर्शनपछि राजनीतिक उथलपुथल मात्र भएन आर्थिक –सामाजिक क्षेत्र पनि नराम्री प्रभावित हुन पुग्यो । प्रधानमन्त्री लगायतका उच्च पदस्थहरुलाई सेनाले उद्धार गरेर ज्यान जोगायो । मुलुकको आर्थिक क्षेत्रमा ठूलो आक्रमण भयो । केही घण्टामै मुलुकको सत्तापलट भएपछि बनेको अन्तरिम सरकारले परिस्थितिलाई सामान्य बनाउने प्रयास जारी राखे पनि परिणाम सन्तोषजनक देखिएको छैन ।
यद्यपी भागेका नेताहरु फर्केर आएका छन् । घर जलाइएका कारण उनीहरु भाडामा बसिरहेका छन् । तिनैमध्येका पूर्व प्रधानमन्त्री केपी ओली पनि एक हुन् । उनी अहिले भक्तपुरको गुण्डुमा बसिरहेका छन् । जहाँ उनका विश्वासपात्र कार्यकर्ता महेश बस्नेतको घर पनि छ । उनै महेशले कसैले आँट नगर्दा ओलीलिाई गुण्डुमा ल्याएर बसोबासको व्यवस्था मिलाए । ओली जस्तो नेता त्यहाँ आएपछि गुण्डुको चहलपहल बढ्नु स्वाभाविक नै हो । उनको सुरक्षा सतर्कता स्थानीयहरुले सास्ती भोग्नुपरेको समाचार पनि आएको थियो । त्यति मात्र होइन, त्यस क्षेत्रमा अचानक जग्गाको मूल्य बढेको प्रचार पनि भयो । यतिसम्मकी ओली त्यहाँ बस्न थालेपछि जग्गाको मूल्य दोब्बर बढेको प्रचार भयो । यो प्रचार गर्नेमा स्थानीय एमालेका कार्यकर्ताहरु नै थिए ।
तर आजको अर्थले यसबारेमा स्थानीयहरुसँग सम्पर्क गर्दा उक्त प्रचारमा सत्यता नभएको थाहा भएको छ । आनामा एक दुई लाख बढे पनि प्रचारमा आए जस्तो १५/१६ लाख बढेको हल्ला मात्र हो । किन यस्तो प्रचारबाजी भयो होला भन्ने प्रश्नमा उनको जवाफ छ, ‘ओली आएको कारण प्रशासनले स्थानीयहरुलाई दुख दिने काम गरेको थियो । सुरक्षा सतर्कताको नाममा अनेकौं झण्झट व्यहोर्नु परेको थियो । यसलाई सन्तुलन गर्न एमाले कार्यकर्ताले ओली आएको कारण गुण्डुको विकासमा टेवा पुगेको छ भन्ने मान्यताको विकास गर्न चाहेका थिए । यहाँको घर जग्गाको मूल्य बढेर स्थानीयलाई फाइदा पुगेको भ्रम सिर्जना गर्न खोजिएको मात्र हो । अर्को कारण आन्दोलनको कारण सेनाको हेलिकोप्टरमा भोगेर ज्यान जोगाएका आफ्ना नेता ओलीको लोकप्रियतामा कमी नआएको पुष्टि गर्न पनि यो प्रचार गरिएको हुन सक्छ ।’
यता सरकारी तथ्यांकहरुले बिगत तीन वर्षदेखि काठमाढौं उपत्यकामा घर जग्गा कारोबार स्थिर रहेको देखाएका छन् । रियल इस्टेट एजेण्ट लालपुर्जा नेपालका प्रमुख कार्यकारी अधिकृत सन्जय नेपालका अनुसार उपत्यकामा २ देखि ३ करोडसम्मका घरहरु अधिकांश ग्राहकले खोज्ने गर्दछन् । त्यस्तै जग्गाको हकमा ३ देखि ५ आनासम्मका प्लटहरुको धेरै खोजी हुने गर्दछ । ग्राहकले १ देखि २ करोडसम्मको बजेटमा जग्गा खोज्ने गरेका छन् ।
व्यवसायीहरुका अनुसार कोभिडअघि काठमाडौं–३२ स्थित पेप्सीकोला टाउन प्लानिङमा प्रतिआना जग्गाको मूल्य ६५ लाखसम्म पुगेको थियो । अहिले त्यहाँ ४०÷५० लाख रुपैयाँ आनामा कारोबार हुने गरेको स्थानीयहरु बताउँछन् । । यो एउटा उदाहरण मात्र हो, यस्तै अवस्था उपत्यकाका अन्य स्थानमा पनि रहेको व्यवसायीहरुको भनाइ छ । खासगरी रिङरोडभित्रका जग्गाको मूल्य १० प्रतिशतसम्म र बाहिर १५ प्रतिशतसम्मले घटेर कारोबार भइरहेको छ । एकाध व्यक्तिले मूल्य घटाएर जग्गा बेचेपछि त्यस क्षेत्र वरपरको जग्गाको मूल्य त्यही दररेटअनुसार प्रचलनमा आउने परम्परा छ ।
विगतमा मूल्य उच्च हुँदा पनि यसरी नै बढ्दै आएको थियो । काठमाडौं उपत्यकामा घरजग्गाको मूल्य घट्नुको प्रमुख कारण किनबेचमा कमी आउनु हो । कोभिडपछिको आर्थिक मन्दीले व्यवसायमा गरेको लगानीमा घाटा, बढ्दो बेरोजगारी, बैंक ऋण प्रवाहमा देखिएको नीतिगत जटिलतालगायत कारणले पनि जग्गाको मूल्य घटेको हो । अर्को सरकारले केही वर्षअघि जग्गाको कित्ताकाट गर्न प्रतिबन्ध लगाएको थियो । त्यसपछि नै कारोबार घट्न सुरु भएको थियो । अहिले कित्ताकाट खुलाए पनि आर्थिक मन्दीका कारण कारोबारले गति लिन सकेको छैन ।
अहिलेको आर्थिक मन्दीका कारण जग्गा खरिद गर्ने व्यक्ति नै नपाउने अवस्था आएको छ । ‘कोभिडअघि खरिद गर्न जग्गा नपाउने अवस्था थियो । अहिले किन्ने ग्राहक पाइँदैन,’ घरजग्गा कारोबारमा दुई दशकदेखि संलग्न एक व्यवसायीले आफ्नो अनुभव सुनाए । जग्गा महँगो भएपछि लगानीकर्ताले अहिले सेयर र सुनजस्ता क्षेत्रमा लगानी गर्दा जग्गा किनबेच बन्दजस्तै भएको देखिन्छ ।
किनबेचमा आएको सुस्तता अझै हटेको भने छैन । दुई–चार वर्षअघि छोटो समयमा धेरै फाइदा लिने हिसाबले जग्गा किन्नेहरु अहिले घाटा खाएर बेच्न खोज्दा समेत बिक्री नभएको गुनासो गर्दै आएका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी ठूलो समूहले जग्गा बिक्री नगरी होल्ड गरेर बस्दा कारोबार नभएको र कारोबार नहुँदा आपतमा परेकाले मूल्य घटाएर बचेको बताउँछन् । ‘आर्थिक मन्दीका कारण बैंकबाट ऋण लिएर जग्गा खरिद गर्नेले लिलामीमा पर्ने भयले पनि मूल्य घटाएर बेच्दा मूल्य घटेको जस्तो देखिएको छ,’ लोहनीले भने, ‘तर, तथ्यांकमा नै मूल्य घटेको भने पाइँदैन ।’
साना जग्गा व्यवसायीले किनबेच नै ९५ प्रतिशतसम्म घटेको बताउँदै आएका छन् । कतिपय व्यवसायी जग्गा कारोबार नै छोडेर अर्को व्यवसायमा लागेका छन् । व्यवसायीहरुका अनुसार अर्थतन्त्रमा देखिएको मन्दी कायम रहनु र बैंकले खुलेर लगानी गर्ने नीतिगत व्यवस्था नभएका कारण जग्गा कारोबारले गति लिएको छैन ।
सहरी क्षेत्र केन्द्रित आवास अवधारणाका कारण उपत्यकामा जग्गाको मूल्य सर्वसाधारणले किन्नै नसक्ने गरी महँगो भयो अनि त्यसको असर मूल्यमा परेको हो । गत आवमा जग्गा कारोबारमा देखिएको मन्दी यो वर्ष चलायमान हुने अपेक्षा गरिए पनि फागुनसम्मको तथ्यांकले यो वर्ष पनि जग्गाको कारोबार विगत वर्षजस्तै रहने देखिएको छ । लामो समयसम्म जग्गाको कारोबार नहुँदा मूल्य घटाउनुपर्ने बाध्यता छ । सरकारले जग्गाको कित्ताकाट खुलाए पनि देशभरका मालपोत कार्यालयमा कारोबार सामान्य बढेको देखिएको छ भने यसबाट उठ्ने राजस्व पनि समानजस्तै छ ।
एक सरकारी तथ्यांक अनुसार, हाल देशभर ३ खर्ब रुपैयाँ रियलस्टेट क्षेत्रमा ऋण लगानी छ । यसको दोब्बर लगभग ५ खर्ब व्यवसायीको अनुमानित लगानी छ । पछिल्लो समय घरजग्गामा लगानी बढेर ८ खर्ब पुगे पनि कारोबार बढ्न नसक्दा समग्र अर्थतन्त्रमा नै असर परेको छ । यही मूल्यलाई आधार बनाएर २० प्रतिशत घट्ने हो भने देशभर जग्गाको मूल्य २ खर्ब घटेको अनुमान लगाउन सकिन्छ । यद्यपि, ठूला लगानीकर्ता जग्गाको मूल्य घटेको मान्दैनन् ।
मुलुककै अर्थव्यवस्था खराब अवस्थामा पुगेको, घर जग्गा कारोबारमा पनि यसको असर परेको र कारोबार घटिरहेको देखिन्छ । त्यसैले गुण्डुमा गरिएको प्रचारबाजी पनि सत्य हुने स्थिति छैन । यो खाली राजनीतिक स्टन्ट मात्र रहेको स्थानीयहरुले बताएका छन् ।
प्रतिक्रिया