काठमाडौँ - कुनै पनि मुलुकको आर्थिक विकासमा पर्यटन उद्योगको ठूलो महत्व हुने गर्दछ । पर्यटक आगमनले अर्थतन्त्रमा मात्र होइन समाजका विभिन्न पक्षहरुमा असर गर्दछ । पर्यटकहरुले आफ्नो देशको ज्ञान ,सीप र प्रविधि तथा अनुभव पनि साथमा लिएर आउने गर्दछन् । त्यसैले मुलुकमा पर्यटकहरुको आगमन कसरी वृद्धि गर्ने भन्ने बारेमा सरकारले विभिन्न उपायहरुको खोजी गर्नु पर्दछ ।
पर्यटन उद्योगको विकास, स्थिर राजनीतिक व्यवस्था, शान्तिसुरक्षा र स्थानीय मानिसहरुको पर्यटकप्रतिको सकारात्मक व्यवहारले पर्यटकहरुको आगमनमा वृद्धि हुन्छ । हालैका दिनहरुमा नेपालमा पर्यटक भित्रिने क्रम वृद्धि भएको देखिन्छ । २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् ।
त्यसैगरी क्रमशःसंयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९, बंगलादेशबाट ५ हजार ६५३, अष्ट्रेलियाबाट ५ हजार ३९३, श्रीलंकाबाट ४ हजार ८३१, म्यानमारबाट ४ हजार ४८४, फ्रान्सबाट ४ हजार २११ र जर्मनीबाट ४ हजार १३४ पर्यटक भित्रिएका हुन् ।
क्षेत्रगत रुपमा दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, एसियाली अन्य मुलुकबाट २८ हजार ६१३, युरोपबाट ५ हजार ८९१, अमेरिकाबाट १३ हजार ६७८, मध्य पूर्वी मुलुकबाट १ हजार ८०२, अफ्रिकाबाट ४१२ र अन्य मुलुकबाट ६ हजार २६९ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
२०२५ को पछिल्लो ११ महिना जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९ पर्यटक भित्रिएका छन् । यस वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो महिनालाई मुख्य पर्यटकीय याम मानिन्छ ।
सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।
नेपालको अर्थतन्त्रमा पर्यटनको महत्वपूर्ण हिस्सा रहेको कुरालाई आत्मसात गर्दै सरकारले पर्यटकीय क्षेत्रको विस्तार र विकासमा प्राथमिकता दिन जरुरी छ । अर्थतन्त्रका अन्य सुचकहरु कमजोर रहेको सन्दर्भमा पर्यटन आर्थिक विकासको लागि कोसेढुंगा सावित हुनेछ । देशका दूरदराजमा रहेका पर्यटकीय स्थलहरुको खोजी गरी तिनीहरुको प्रचार प्रसारमा सरकारले ध्यान दिनु पर्दछ । यही क्षेत्रको विकासको लागि गठित नेपाल पर्यटन बार्डले नयाँ नयाँ पर्यटकीय संभावनाहरुको खोजी गर्न आवश्यक छ । देश विदेशमा पनि नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसारमा बोर्डको अपेक्षाकृत पहलकदमी देखिएको छैन । सरकारको यसतर्फ गम्भीर ध्यानाकर्षण होस् ।
प्रतिक्रिया