बजारमा लगानीको अभाव, राष्ट्र बैंकले ९० अर्ब झिक्दै

आइतबार, २१ मंसिर २०८२, १३ : ३९

काठमाडौँ - सरकारले अर्थतन्त्रका बाह्य सूचकहरुमा सकारात्मक परिवर्तन आएको बताए पनि लगानीको वातावरण बन्न सकिरहेको छैन । जसको कारण राष्ट्र बैंकले बारम्बार बजारबाट तरलता खिचीरहेको छ । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज (आइतबार) मात्रै राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

यस प्रकारले तरलता बढ्दै जाने तर बजारमा लगानीको वातावरण नबन्ने अवस्थाको गम्भीर विश्लेषण गर्नुपर्दछ । यसको जिम्म्ेवार को हो ? अर्थप्रशासनका ज्ञाता मानिने अर्थमन्त्री रहेकोबेला पनि मुलुकले सही आर्थिक दिशा प्राप्त गर्न नसक्नु स्वभाविक होइन । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ । सोही क्रममा आज निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ८४ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

बजारबाट तरलता तान्ने काम हाम्रो अर्थतन्त्रमा नयाँ विषय रहेन । पछिल्ला तीन वर्ष यता राष्ट्र बैंकले सातामा दुई पटक आइतबार र बुधबार नियमित रुपमा बजारबाट पैसा झिक्दै आएको छ । सुरुका दिनमा छोटो अवधिका लागि पैसा झिक्दै आएको राष्ट्र बैंकले अहिले लामो अवधिका लागि पैसा झिक्न थालेको हो ।

राष्ट्र बैंकको नियम अनुसार निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने जनाइएको छ । यसरी निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

सरकारले यो प्रवृत्तिको अन्त्य गर्न ठोस कदम चाल्न जरुरी छ । बजारमा पैंसाको हाहाकार हुने तर राष्ट्र बैंकले बजारबाट अबौं रकमको तलता तानिरहने हो भने अर्थतन्त्र चलायमान हुन सक्तैन । स्वदेशमै केही गरौं भन्ने नागरिकको हातमा पैंसा पुग्ने अवस्थाको सिर्जना गर्न सरकारलाई के कुराले रोकेको छ ? यसको गहन समीक्षा हुन जरुरी छ । 

 
आइतबार, २१ मंसिर २०८२, १३ : ३९

प्रतिक्रिया