काठमाडौं - केही वर्षदेखि निकै विवादमा आएको सहकारी क्षेत्रमा सरकारको एउटा चेतावनीले तरङ्ग सिर्जना गरेको छ । विगतमा सहकारी सञ्चालकहरुले आफ्नो अनुकूल हुने कार्यविधी बनाएर रकम हिनामिना गरेका घटनाहरु हुँदै आएका थिए । एउटा व्यक्ति विभिन्न सहकारीको सञ्चालक हुने र आफ्नो स्वार्थ अनुकूल चलाउने गर्दै आएको अभ्यास थियो । त्यसबाट धेरै विकृतिहरु पैदा भएको भनेर आलोचना पनि हुँदै आएको हो । यही विषयलाई ध्यानमा राखेर सहकारी विभागले दोहोरो भूमिकामा रहेका सहकारी सञ्चालकलाई कारबाही गर्ने भएको छ । एकैचोटि दुई वा सोभन्दा बढी सहकारीको सञ्चालक बस्नेलाई कारबाहीको चेतावनी दिइएको हो । ‘सहकारी ऐन, २०७४’ को दफा ४१९५० ले कुनै व्यक्ति एक समयमा एउटा मात्र सहकारीको सञ्चालक रहनसक्ने व्यवस्था गरेको छ ।
सहकारी ऐनकै दफा ४४(१) को खण्ड (ग) मा अनुसार, ‘कुनै सञ्चालक अर्को सहकारी संस्थाको सञ्चालक रहेमा निज आफ्नो पदमा बहाल रहन सक्ने छैन’ भनने व्यवस्था छ । त्यसका बाबजूद एउटै सञ्चालक विभिन्न सहकारीको सञ्चालक बसिरहेको अवस्था छ । विभागले एउटा निर्देशन जारी गर्दै सबै सहकारीलाई कानुन कार्यान्वयन गर्न भनेको छ ।
सहकारी ऐनले गरेको व्यवस्था अनुसार व्यवहारमा काम नभएकोतर्फ विभागको ध्यानाकर्षण भएको देखिएको छ । विभागले भनेको छ, ‘हालसम्म पनि केही व्यक्तिहरु दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भइरहेकोले निर्देशनका बाबजूद यसरी हालसम्म पनि दोहोरो सञ्चालकमा बहाल रहनुभएका सञ्चालक सदस्यलाई यथाशीघ्र उक्त कानुनी प्रावधान कार्यान्वयनका लागि सम्बन्धित सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई यो निर्देशन जारी गरिएको छ ।’
अहिले जारी गरेको परिपत्रलाई पनि सहकारी सञ्चालकहरुले पादना गर्छन ्भन्नेमा कुनै ग्यारेन्टी छैन । किनकी विगतदेखि नै यस्तै चल्दै आएको हो भन्ने मानसिकताले पनि काम गर्न सक्छ । तर यसपटक सरकार ऐन कार्यान्वयन गराउन कडा रुपमा प्रस्तुत हने संकेत देखाएाके छ । विभागद्वारा अटेर गरेमा ‘सहकारी ऐन, २०७४’ र ‘सहकारी नियमावली, २०७५’ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ । यसले सहकारी सञ्चालकहरुलाई कानुनी दायरामा ल्याउने विश्वास गरिएको छ । अर्थतन्त्रको महत्वपूर्ण हिस्सा सहकारीलाई नियमन गर्न अवश्य पनि राज्यले गम्भीरता प्रदर्शन गर्न निकै जरुरी छ ।
प्रतिक्रिया