काठमाडौं - अर्थतन्त्रका बारेमा सधैंजसो निराशाजनक समाचार आउने गरेकोमा अहिले केही आशा र सुधारका संकेतहरु देखिएका छन् । चालू आर्थिक वर्ष ०८२/८३ को पाँच महिना (साउन–मंसिर)मा वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्ष ०८१/८२ को सोही अवधिको तुलनामा २० प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा भएको वैदेशिक व्यापार सात खर्ब ३५ अर्ब १४ करोड रुपैयाँबाट बढेर यो वर्ष आठ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ ।
आयात र निर्यातको तुलनामा निर्यात अत्यन्त न्यून हुँदै आएकोमा पाँच महिनाको वैदेशिक व्यापार तथ्यांकमा निर्यातको हिस्सा उल्लेख्य सुधार भएको छ । अघिल्लो वर्ष ७३ अर्ब ६५ करोड रुपैयाँ रहेको निर्यात अहिले एक खर्ब १६ अर्ब ५० करोड रुपैयाँ पुगेको हो । यो ५८ प्रतिशतभन्दा बढीको वृद्धि हो । आयात पनि १६ प्रतिशतले बढेका कारण व्यापार घाटा झनै चुलिएको छ ।
सरकारी तथ्यांक अनुसार गत आवको पाँच महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ रहेको आयात यो वर्ष सात खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । जसकारण व्यापार घाटा पाँच खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँबाट बढेर ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १०.५ प्रतिशतको वृद्धि हो । यसले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको देखिएको छ ।
भदौमा भएको जेनजि आन्दोलनको मुख्य माग नै सुशासन र भ्रष्टाचार नियन्त्रण थियो । त्यसै आन्दोलनको पृष्ठभूमिमा बनेको सरकारबाट नागरिकले गरेको अपेक्षा पनि यही नै थियो । अहिले त्यसका केही संकेतहरु देखिएका छन् । यसैगरी,आयातको तुलनामा निर्यात वृद्धि छिटो भएकाले आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । अघिल्लो वर्ष ८.९८ रहेको यस्तो अनुपात यसपालि ६.५८ मा झरेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.०२ प्रतिशतबाट बढेर १३.२० प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८९.९८ प्रतिशतबाट घटेर ८६.८० प्रतिशतमा रहेको छ ।
पाँच महिनाको वैदेशिक व्यापार तथ्यांकमा प्रमुख आयात हुने वस्तुहरूमा इन्धन, कच्चा खानेतेल, मल, फलाम–इस्पात र विद्युतीय उपकरणहरू अग्रस्थानमा छन् । तथ्यांकअनुसार कच्चा सोयाबिन तेल सबैभन्दा धेरै आयात हुने वस्तु बनेको छ । यसको आयात मूल्य ४६ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी रहेको छ । त्यसपछि डिजेल ४५ अर्ब ६० करोड रुपैयाँ र पेट्रोल २७ अर्ब ३३ करोड रुपैयाँबराबर आयात भएको छ ।
नेपाली बजारमा आयात हुने अन्य वस्तुहरुमा खाना पकाउने ग्यास (एलपिजी) २२ अर्ब ३९ करोड, फलामजन्य उत्पादन २१ अर्ब ८४ करोड र स्मार्ट फोन आयात १९ अर्ब १३ करोड रुपैयाँबराबर भएको छ । रासायनिक मल डिएपी १९ अर्ब सात करोड, सुन १५ अर्ब ७२ करोड, हट–रोल्ड फलाम तथा इस्पातजन्य सामग्रीको आयात ११ अर्ब ६४ करोड रहेको छ । औषधिजन्य सामग्रीको आयात ११ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । हवाई इन्धन आठ अर्ब ३४ करोड, कच्चा सनफ्लावर तेल सात अर्ब ६ करोड, कोइला सात अर्ब र धान ६ अर्ब ८८ करोडको आयात भएको भन्सार विभागले जनाएको छ ।
यसैगरी निर्यातमा कृषिजन्य उत्पादनको वर्चस्व रहेको देखिएको छ । नेपाल आफै पनि कृषि प्रधान मुल्ुक भएर होला यहाँबाट निर्यात हुने वस्तुहरु पनि कृषि क्षेत्रकै बढी रहेको पाइन्छ । गत पाँच महिनामा निर्यात भएका वस्तुमा कृषि तथा धागो र कपडा उत्पादनको दबदबा छ । यस अवधिमा सबैभन्दा बढी प्रशोधित सोयाबिन तेल ४६ अर्ब ५५ करोड रुपैयाँबराबरको निर्यात भएको छ । अलैँची निर्यात दोस्रो स्थानमा छ, जसको निर्यात मूल्य पाँच अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, गलैँचाको निर्यात पनि उल्लेख्य रहेको छ । यस समूहअन्तर्गत चार अर्ब १३ करोड रुपैयाँबराबरको गलैँचा निर्यात भएको छ । खानेतेलतर्फ सूर्यमुखी र स्याफ्लावरको प्रशोधित तेल, रिफाइन्ड ब्लिच्ड डिओडोराइज्ड पाम ओलिनजस्ता वस्तुहरू पनि निर्यात सूचीमा अग्रस्थानमा छन् । यस्तै, जुट तथा फाइबरबाट बुनेका कपडा, फेल्टजन्य सामग्री र जुटका बोराको निर्यात पनि उल्लेख्य छ । त्यस्तै पोलिस्टर फाइबरयुक्त धागो, ऊन वा जनावरको रौँबाट बनेका सल, स्कार्फ, मफलरलगायतका सामग्रीको निर्यातले पनि योगदान दिएको छ । कालो चियाको निर्यात निरन्तर कायम देखिन्छ । त्यस्तै, मिश्रित फलफूलको रस, खुद्रा बिक्रीका लागि प्याक गरिएको कुकुर तथा बिरालोको आहार र तोरीको पिना पनि निर्यात हुने प्रमुख वस्तुमा देखिन्छन् ।
माथिका विवरणहरुले अर्थतन्त्र खतमै भएको भन्ने जुन भाष्य बनेको थियो त्यसलाई खण्डन गरेका छन् । पक्कै पनि यति नै अवस्थामा सन्तोष मान्नु भने हुँदैन । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले अझै धेरै कामहरु गर्नुपर्दछ । अर्थतन्त्र र आर्थिक प्रशासन समेत राम्ररी बुझेका अर्थमन्त्री मुलुकले पाएको छ । त्यसैले पनि अर्थव्यवस्थामा सुधारको आशा गर्न सकिने स्थिति रहेको छ ।
प्रतिक्रिया