टिप्पणी

रवि–बालेन भेटको राजनीतिक अर्थ

मंगलबार, ०८ पुस २०८२, १४ : ०६

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सफाई पाएर जेलमुक्त भएका होइनन् । उनीमाथिको अभियोग जस्ताको तस्तै छ । उनी धरौटीमा छुटेका हुन । एक अर्थमा उनले आफूबाट भएको अपराधलाई स्विकारेको अवस्था छ । बुटवलको एउटै सहकारीमा भएको दस करोडको हिनामिनामा आफ्नो भागको २ करोड ४० लाख बिगो बुझाएका छन् । यस्ता अभियोग उनलाई अरु ५÷६ वटा छन् । तर उनी जुन तामझामका साथ जेल बाहिर आए त्यो स्वभाविक छैन । धरौटीमा छुट्दा त यस्तो विजयोत्सव मनाएका छन् साँच्चै मुद्धा जिते भने यनिले के गर्लान् ? 

जेलमुक्त भएपछि उनले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । उनीमाथि लागेका आरोपहरुको बारेमा कोही पनि अनभिज्ञ छैन । उनले गरेका कर्मको फल बिस्तारै पाइ नै रहेका छन् । यद्यपी उनी जस्तै ठगीमा संलग्न भएका आफ्ना नेता कार्यकर्तालाई पूर्ववर्ति सरकारले पक्राउ नगरेकोले उनीप्रति मानिसहरुको केही सहानुभूति जागेको हुनुपर्दछ । तर उनी निर्दोश भने होइनन् । उनी न्यायायिक परिक्षणमै छन् । यसैबीच उनले उनी रकाठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच मध्यरातमा भएको भेटवार्ताले राष्ट्रिय राजनीतिमा केही तरङ्गहरु भने सिर्जना गरेको छ । यद्यपी दलहरुबीच हुने सहकार्यलाई राजनीतिमा सकारात्मक नै मान्नु पर्दछ ।  

सोमबार राति काठमाडौँमा रहेको असिम साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा रवि र बालेनबीच भेटवार्ता भएको हो। भेटपछि दुवै नेता एउटै गाडीमा सँगै बाहिरिएका थिए । भेटमा सहभागी असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा भएको छ ।

भेटवार्तामा भएका ठोस विषय सार्वजनिक नगरिए पनि मिलेर अघि बढ्नुपर्ने आवश्यकता र राजनीतिक सहकार्यका विषयमा सकारात्मक संवाद भएको नेताहरूको भनाइ छ। भेटलाई पछिल्लो समय देखिएको राजनीतिक दूरी घटाउने प्रयासका रूपमा पनि हेरिएको छ।

उनीहको भेटलाई रास्वपाका नेताहरुले एकदमै ऐतिहासिक र सुखद भविष्यको संकेतको रुपमा व्याख्या गरेका छन् । यी दुवै व्यक्तिहरु वैकल्पिक राजनीतिको वकालत गर्दै आएका छन् । रविको बारेमा त दुनियाँले सबै बुझिसकेको छ । बालेनको बारेमा भने मानिसहरुमा केही भ्रमहरु बाँकी नै थिए । किनकी उनी आम मानिसहरुको बीचमा खुलस्त हुँदैनन् । उनी जे भन्नु छ फेसबुक स्टेटसमा मात्र भन्छन् , त्यो पनि मध्यरातमा मात्र । जनेजि आन्दोलनको सेरोफेरोले बालेनको रहष्यको पर्दाफास गरिदिएको छ । उनको भूमिका सिर्जनात्मक भन्दा पनि ध्वंशात्मक रहेको कतैबाट पनि छिपेको छैन । काठमाडौं जलिरहँदा उनको भूमिका के कस्तो थियो भन्ने छर्लङ्ग भैसकेको छ । त्यसैले यी दुवै पात्रहरु नेपाली समाज र राजनीतिमा परिक्षण भैसकेका छन् । रवि त पुराना दलहरुकै सरकारमा दुई पटक सरकारमा गैसकेका छन् । सत्ताको लोभ र मोहमा उनी पनि कुनै पुराना दलभन्दा कम देखिएनन् । तसर्थ, रास्वपाका नेताहरुले भने जस्तो उनीहरुको भेट र सहकार्यले राष्ट्रिय राजनीतिमा कुनै उल्लेखनीय प्रभाव पार्ने अवस्था देखिदैन ।  
 

 
मंगलबार, ०८ पुस २०८२, १४ : ०६

प्रतिक्रिया