भेनेजुएलामाथिको अमेरिकी आक्रमण विश्व शान्तिकै लागि खतरा

आइतबार, २० पुस २०८२, १२ : ५०

काठमाडौं–अहिले अमेरिकी साम्राज्यवादको दादागिरीले स्मिा नाँघेको छ । अमेरिकी स्वार्थको हीत विपरित चल्ने मुलुकमाथि खुनी आक्रमण गर्ने उसको पुरानै नीति हो । दक्षिण अमेरिकी मुलुक भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरेर अमेरिकाले आफ्नो तानाशाही चरित्र विश्वलाई देखाएको छ । 
 भेनेजुएलामा विश्वकै ठूलो तेल भण्डार रहेको छ । त्यहाँ विश्वको १७ प्रतिशत पेट्रोलियमा रहेको मानिन्छ । अमेरिकी आक्रमण पछि विश्वकै अर्थतन्त्रमा समेत गहिरो प्रभाव पार्ने विश्लेषण गर्न थालिएको छ । यसले विश्व ऊर्जा बजार अस्थिर बनाउने र यसको प्रत्यक्ष–अप्रत्यक्ष असर नेपालजस्ता विकासशील देशहरूमा गहिरो रूपमा देखिन्छ।

भेनेजुएलाको तेल आपूर्ति अवरुद्ध हुने आशंकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न सक्छ। नेपाल पूर्ण रूपमा इन्धन आयातमा निर्भर भएकाले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्नु स्वाभाविक हुन्छ। इन्धन महँगो हुँदा यातायात, कृषि, उद्योग र निर्माण क्षेत्रको लागत बढेर दैनिक उपभोग्य वस्तुको मूल्य चर्किन्छ, जसले जनजीवन थप महँगो बनाउँछ।

तेल आयातमा बढी रकम खर्चिनुपर्दा नेपालको व्यापार घाटा बढ्ने र विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने जोखिम पनि रहन्छ। यसले रुपैयाँमाथि दबाब सिर्जना गर्नुका साथै सरकारको विकास खर्च प्रभावित हुन सक्छ। विश्व अर्थतन्त्र सुस्त हुँदा वैदेशिक रोजगारी, रेमिट्यान्स, लगानी र पर्यटनसमेत प्रभावित हुने सम्भावना रहन्छ।

यसरी हेर्दा, भेनेजुएलामा अमेरिकी आक्रमण समकालीन अर्थतन्त्रकोलागि  ठूलो झट्का बन्न सक्छ। ऊर्जा निर्भरता घटाउने, वैकल्पिक ऊर्जा प्रवर्द्धन गर्ने र आर्थिक सहनशीलता बढाउने नीति यस्तो अनिश्चितताबाट जोगिने दीर्घकालीन उपाय हुन सक्छ। त्यसको लागि नेपालले पनि स्वाधिन अर्थतन्त्रको विकासमा ध्यान दिन जरुरी हुन्छ । 

एउटा स्वतन्त्र र सार्वभौम मुलुकमाथि भएको निर्लज्ज आक्रमणको घार निन्दा र भत्र्सना गरिनु पर्दछ । संयुक्त राष्ट्रसंघको सदस्य समेत रहेको भेनेजुयलामा किन आक्रमण गरियो र जन निर्वाचित राष्ट्रपति मदुरोलाई किन अपहरण गरियो भन्ने प्रश्नको जवाफ राष्ट्रसंघले माग्नै पर्दछ । यदि अमेरिकी कदमप्रति आँखा चिम्लिने हो भने राष्ट्रसंघकै औचित्यमाथि पनि प्रश्न उठ्नुपर्दछ ।  

 

आइतबार, २० पुस २०८२, १२ : ५०

प्रतिक्रिया