काठमाडौं- देशमा आम तहका भन्दा पनि नेतृत्व तहमा रहेकाहरूले बारम्बार भन्ने गरेका छन्, दिगो विकासका लागि स्थिर सरकार चाहिन्छ । त्यो स्थिर सकारका लागि कुनै एउटा दलको बहुमत आवश्यक पर्छ ।
लोकतन्त्रमा निर्वाचन मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसर हो । नागरिकले कसैको बहकाउमा नलागेर विववेकपूर्ण तरिकाले मतदान गरेको खण्डमा देशले समृद्धी प्राप्त गर्दछ । यही समृद्धीमा आम नागरिकको पनि जीवनस्तर वृद्धि हुन्छ । तसर्थ, कुनै दल वा नेताका चिप्ला र मिठा कुरा सुनेर होइन को देशप्रति जिम्मेवार छ, कसले देश बनाउने योजना ल्याएको छ त्यो हेरेर मात्र मत दिने निर्णय गर्नु पर्दछ । बहकाउमा मत दिने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन बेलैमा सचेत हुनु पर्दछ ।
आज प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारी दर्ता भैरकेको छ । निर्वाचनमा भाग लिन पाउने सबै दलहरुको अधिकार हो । दल मात्र नभएर स्वतन्त्र व्यक्तिहरुले पनि निर्वाचनमा उम्मेदवार बन्न पाउँछन् । जनतालाई पनि आफुलाई चित्त बुझेको उम्मेदवारलाई मतदान गर्ने अधिकार छ । जेनजि आन्दोलनको पृष्ठभूमिमा हसन गैरहेको यस निर्वाचनलाई पहिलेका नियमित निर्वाचन जस्तो मान्न सकिदैन । मुलुकमा सुशासन र स्थिर तथा जवाफदेही सरकार चाहियो भनेर नवयुवाहरुले आन्दोलन गरेका हुन । त्यसैले बिगतमा मुलुकप्रति कसले के कस्तो योगदान गरेको छ र कोसँग देश बनाउने स्पष्ट योजना र दृष्टिकोण छ भन्ने पनि मतदाताले मनन गर्नु आवश्यक हुन्छ । देश बनाउने दायित्व यसकारण मतदाताको पनि हो । मतदाता जिम्मेवार सचेत नहुने हो भने देश दृष्टिकोणबिहीन झुण्डहरुको हातमा जानेछ ।
यो चुनावका लागि मात्र दल खोलेको एउटा नयाँ दलले आफ्नो पक्षमा बहुमत दिन कारण खोल्दै भनेको छ देश विगत तीन दशकदेखि सधैँ अस्थिर बन्दै गयो अब स्थिर बनाउन आफ्नो दलले बहुमत ल्याउँनै पर्छ । विगतले के देखाएका छन् भने कुनै दलको बहुमतमा देशले स्थिरता पाउँदो रहेन छ । त्यसका लागि नेता सुध्रिन आवश्यक पर्दोरहेछ । त्यसको उदाहरण हो संविधान घोषणापछिको पहिलो आम निर्वाचनको परिणाम । त्यो निर्वाचनमा एउटै विचार मिल्ने दलसँग चुनावी गठबन्धन गरियो । एउटै घोषणापत्रमा चुनाव लडियो । मत पनि सोचेभन्दा बढी नै पाइयो होला र चुनाव लगत्तै पार्टी मर्ज भयो । त्यसको परिणाम एउटै पार्टीको दुई तिहाइ मत पुग्यो । कुनै पनि दलका लागि यो सामान्य उपलब्धी होइन, विशेष नै मान्नुपर्छ ।
त्यसैले कुनै दलले बहुमत पाउँदैमा पनि स्थिरता र सुशासन नहुँदोरहेछ भन्ने निकट अतितका घटनाक्रमहरुले पनि पुष्टि गरेकै छन् । नेताहरुको नियत र इच्छाशक्तिमा मात्र ती कुराहरु निर्भर हुन्छन् । अहिले कतिपय शीर्ष नेताहरु आफ्नो पहिलेको निर्वाचन क्षेत्र छोडेर नयाँ ठाउँमा उम्मेदवार बनिरहेका छन् । उनीहरुले पहिलेको निर्वाचन क्षेत्रमा के प्रतिवद्धता गरेका थिए ? भन्ने स्मरण गर्न जरुरी छ । पहिलेका वाचाहरु अधुरै छोडेर अर्को क्षेत्र रोज्ने प्रवृत्तिले नेताहरु गैर जिम्मेवार बन्दै गएका छन् । यस्ता नेताहरुबाट देशले के पाउन सक्छ ? त्यसैले आम निर्वाचनमा मतदान गर्दा यस्ता विषयहरुलाई पनि समीक्षा गर्ने बानीको विकास भए राम्रै हुने थियो ।
प्रतिक्रिया