काठमाडौँ - विश्वकै पाचौं ठूलो अर्थतन्त्र भारतले आर्थिक वर्ष २०२६–०२७ का लागि ५३४ खर्ब भारु बराबरको बजेट विनियोजन गरेको छ। औद्योगिक र आर्थिक विकासलाई प्राथमिकता दिँदै आगामी अर्थमन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको संघीय बजेटमा चालुतर्फ ४१२ खर्ब र पुँजीगततर्फ १२२ खर्ब भारुबराबरको बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री सीतारमणले सरकारले औद्योगिक विकासलाई प्राथमिकता दिएको बताएकी छन् । उनले गत वर्ष अगस्ट १५ पछि ३५० भन्दा बढी आर्थिक सुधार गरिएको समेत जानकारी दिइन् ।
अर्थमन्त्री सीतारमणले बजेट वक्तव्यका क्रममा भनिन्, ‘आर्थिक विकासलाई तीव्र बनाउनका लागि मैले ६ क्षेत्रमा सुधारको प्रस्ताव गर्दछु । सात रणनीतिक क्षेत्रमा उत्पादन बढाउने, पुराना औद्योगिक क्षेत्रलाई पुनः नयाँ बनाउने, च्याम्पियन एसएमई बनाउने, इन्फ्रालाई बढावा दिने, लामो समयका लागि सुरक्षा तथा स्थिरता सुनिश्चित गर्ने र सहरी आर्थिक क्षेत्रको विकास गर्ने ।’
अर्थमन्त्री सीतारमणका अनुसार आर्थिक वर्ष ०२६-२७ का लागि आगामी ५ वर्षमा बायोफर्मामा १० हजार करोड रुपैयाँ लगानी गरिनेछ ।
त्यसैगरी बजेटमा ‘रेयर अर्थ’ अर्थात् पृथ्वीमा रहेका दुर्लभ खनिजका लागि पनि सरकारले विशेष लगानी गर्ने भनिएको छ । ओडिशा, केरल, आन्ध्र प्रदेश र तमिलनाडुलाई समेटेर रेयर अर्थ म्याग्नेट करिडोर बनाइने छ । इलेक्ट्रोनिक्स कम्पोनेन्ट्स म्यानुफ्याक्चरिङका लागि ४० हजार करोड रुपैयाँको प्रस्ताव गरिएको छ ।
साथै भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६-०२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो ।
चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ८ सय ३० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ । यसअघि सुरुमा भारतले ८ सय करोड अनुदान दिने घोषणा गरे पनि पछि संशोधन गरेर ८ सय ३० करोड पुर्याएको थियो ।
भारतले नेपाल लगायतका छिमेकीहरुलाई अनुदान दिदै आएको छ । यसरी अनुदान पाउनेमा भुटान शीर्षस्थानमा रहेको छ । दक्षिण एसियामै शक्ति राष्ट्रको रुपमा रहेको भारतले छिमेकीहरुलाई विभिन्न माध्यमबाट आफ्नो प्रभावमा राख्दै आएको छ ।
प्रतिक्रिया