काठमाडौं - वर्तमान अन्तरिम सरकारले सत्ता सम्हाले यता बाह्य अर्थतन्त्रका समग्र सूचकहरू राम्रा देखिएका छन् । तर आन्तरिक अर्थतन्त्रमा भने अझै सुधारको खाँचो देखिएको छ । नेपाल राष्ट्र बैंकले ६ महिनाका आर्थिक सूचकहरूको अवस्था सार्वजनिक यस्तो स्थिति देखिएको हो ।
राष्ट्र बैंकका अनुसार यो अवधिमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.४२ प्रतिशत रहेको छ । जुन राम्रो भए पनि उल्लेखनीयरूपमा कर्जा परिचालन हुन नसकेको देखिएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत रहेको छ ।
मुलुकमा आर्थिक मन्दीको कारण बेरोजगारी र महंगी बढे पनि बाह्य अर्थतन्त्र भने बलियो अवस्थामा छ । ६ महिनामा देशको कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १७ करोड पुगेको छ । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । ६ महिनामा सरकारको चालू खाता चार खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर पाँच खर्ब एक अर्ब २४ करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । यसबाहेक विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशतले र अमेरिकी डलरमा ३२।३ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पुस महिनाको विप्रेषण आप्रवाह एक खर्ब ९२ अर्ब ६२ करोड रहेको छ ।
राष्ट्र बैंकका अनुसार, यो अवधिमा निर्यात ४३.८ प्रतिशतले र आयात १४.२ प्रतिशतले बढेको छ भने नेपाल सरकारको खर्च छ खर्ब ९० अर्ब २२ करोड र राजस्व परिचालन पाँच खर्ब ७७ अर्ब ४० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ५.४ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८२–८३ को छ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो । पुसमा विप्रेषण आप्रवाह एक खर्ब ९२ अर्ब ६२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक सय २२ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।
सरकारको चालू खाता चार खर्ब २९ अर्ब ९१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब ६५ अर्ब ६७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २३ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा तीन अर्ब तीन करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति पाँच खर्ब एक १ अर्ब २४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ८५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा तीन अर्ब ५४ करोडले बचतमा रहेको छ ।
अर्थतन्त्रका बाह्य सुचकहरु बलिया देखिएको समयमा सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्न सकेमा समग्र अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरिएको छ । निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्ने दायित्व बोकेको सरकारले अर्थतन्त्र सुधारमा पनि केही कदम चाल्नु मुलुकको बृहत्तर हीतमा नै हुनेछ ।
प्रतिक्रिया