सरकारको खर्च गर्ने क्षमतै नभए कसरी उठ्ला अर्थतन्त्र  ?

बुधबार, २८ माघ २०८२, १३ : ०७

काठमाडौं- नेपालमा जेठ १५ गते संघीय सरकारले बजेट ल्याउने संवैधानिक व्यवस्था छ । बजेट ल्याउनुभन्दा पहिले व्यापक तयारी र छलफल हुने गर्दछ । त्यति बेला राजनीतिक दल र जनप्रतिनिधिहरू बजेट आफ्नो स्वार्थ अनुकूल ल्याउन सरकारलाई दबाब दिने गर्दछन् । सकेसम्म बजेटको आकार बढाउन उनीहरूले निकै कसरत गर्ने पनि गर्दछन् । तर सरकारले आफैले ल्याएको बजेट पनि खर्च गर्ने क्षमता नराखेको देखिन्छ । बजेट खर्च गर्नको लागि सरकारले तदनुकूलको वातावरण बनाउनु पर्दछ ।

वर्तमान सरकार मात्र होइन विगतदेखिका सरकारहरूले पनि पूर्ण बजेट खर्चको क्षमता प्रदर्शन गर्न सकेका छैनन् । बजेट खर्च नै हुन नसकेपछि आर्थिक समृद्धि कसरी प्राप्त गर्न सकिन्छ ? अर्थतन्त्रलाई बिस्तार गर्न पनि यो तरिकाले सम्भव हुँदैन । अहिले पनि  स्रोत जुटाउन र खर्च गर्न नसकेपछि सरकारले चालु आर्थिक वर्षमा विनियोजित बजेटको आकार घटाएको छ । अर्थमन्त्री रामेश्वर खनालले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा सुरुमा कुल विनियोजित बजेटमा २ खर्ब ७५ अर्ब ७८ करोड ३३ लाख रुपैयाँ घटाइएको बताए ।

चालु आवमा एमालेबाट अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए । ठुलो आकारमा विनियोजित बजेट खर्चिन नसक्ने देखिएपछि संशोधन गर्दै १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँमा झारिएको बताइएको छ ।

अर्थ मन्त्रालयले मंगलबार आव ०८२/८३ को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोडबाट घटाएर ११ खर्ब २५ अर्ब ९७ करोड ९४ लाख रुपैयाँमा कायम गरेको छ । चालु आवको २६ माघसम्म पुँजीगत खर्च १४.९८ प्रतिशत मात्र छ ।

पुँजीगत खर्चको अवस्था एकदमै दयनीय रहेको स्वयम् मन्त्रालयकै अधिकारीले स्वीकार गर्दै आएका छन् । मन्त्रालयले चालु आवमा पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएकोमा यसलाई घटाएर २ खर्ब ४३ अर्ब ३० करोड ३४ लाख रुपैयाँ बनाइएको छ । तसर्थ, सरकारले जनतालाई ठुला आश्वासन मात्र दिएर हुँदैन खर्च गर्ने क्षमता पनि वृद्धि गर्न जरुरी छ । यसको लागि राज्य संयन्त्रमा विज्ञहरूलाई पनि स्थान दिने र उनीहरूको विज्ञताको भरपुर प्रयोग गर्ने अभ्यासको थालनी गर्न आवश्यक हुन्छ । 

मुलुक यति बेला निर्वाचनको संघारमा छ । राजनीतिक दलहरूले समृद्धिको सपना बाँड्ने बेला पनि हो यो । नागरिकले यस समयलाई मुलुक बनाउने अवसरको रूपमा उपयोग गर्न सक्नुपर्दछ । कुन दल र उम्मेदवारको मुलुक बनाउने स्पष्ट योजना र दृष्टिकोण छ भन्ने गहिरो रूपमा बुझ्न जरुरी छ । अनि मात्र मुलुकले योग्य जनप्रतिनिधि र सक्षम सरकार प्राप्त गर्नेछ ।    

 
 
बुधबार, २८ माघ २०८२, १३ : ०७

प्रतिक्रिया