रुकुममा नेकपाको पराजित मानसिकता

आइतबार, ०३ फागुन २०८२, १० : ४१

काठमाडौं - निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुका बीच झडपहरु हुन थालेका छन् । निर्वाचन लोकतन्त्रको एउटा महत्वपूर्ण प्रक्रिया हो । आफ्नो विचार र कार्यक्रमको आधारमा जनताबाट अनुमोदिन हुने सबैलाई समान अधिकार हुन्छ । दलहरुले अहंकार देखाउँदा निर्वाचन स्वस्थ र शान्तिपूर्ण रुपमा सम्पन्न हुने सम्भावना कमजोर बन्छ । त्यस्तै घटना रुकुम पश्चिममा भएको छ । १८ वटा पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता राजकुमार शर्मालाई अभद्र व्यवहार गरेका छन् । शर्मा त्रिवेणी गाउँपालिका –२ को सिम्रुतुमा निर्वाचन को कार्यक्रमको सन्दर्भमा पुगेका थिए ।  

सिम्रुतुमा प्रलोपा र नेकपा (एमाले) को संयुक्त चुनावी बैठक बसिरहेको बेला नेकपाका कार्यकर्ताहरुले नाराबाजी र ढुङगामुढा गरेका थिए । त्रिवेणी गाउँपालिका –२ स्थित सहिद प्रतिष्ठानको सभाहलमा बैठक बसिरहेको बेला प्रतिनिधिसभाका उम्मेदवार तथा नेता जनार्दन शर्मा र पुर्वमुख्यमन्त्री राजकुमार शर्मा बिरुद्ध नाराबाजी गरिएको थियो । शान्तिपूर्ण रुपमा आफ्नो कार्यक्रममा लागिरहेको बेला यस प्रकारका हर्कत हुनुले नेकपा सम्भावित पराजयबाट त्रसित रहेको नै बुझिन्छ । यता प्रलोपाले गाउँपालिका मातहतको उक्त प्रतिष्ठानमा नियामानुसारको हलभाडा तिरेर बैठक गरेको जनाएको छ । बैठक सञ्चालनवापत एक हजार गाउँपालिकामा बुझाएको तर नेकपाका कार्यकर्ताहरुले गलत कार्य गरेको प्रलोपाको भनाइ छ ।

नेकपाका कार्यकर्ताहरुले सहिद परिवारलाई धोका दिएको,अपमान गरेको र पार्टी छोडेर गएको भन्दै आक्रोशित भएको बताइन्छ । उनीहरुले प्रलोपाका संरक्षक एवम् प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माबिरुद्धसमेत नाराबाजी गरेका थिए । तर उनीहरुले आरोप लगाए जस्तो नेता शर्माले माओवादी पार्टी छोडेका होइनन् । माओवादी पार्टीलाई पहिले नै प्रचण्डले अलपत्र पारेर माधव नेपाल लगायतका पार्टीसँग एकता गरेका हुन । उनीहरुले बनाएको नयाँ पार्टी नेकपाले आफ्नो विधान र कार्यक्रममा कही पनि माओवादीको विरासतको रुपमा रहेको जनयुद्ध र माओवादलाई उल्लेख गरेको छैन । माधव नेपालहरुले विगतमा माओवादी जनयुद्धप्रति कस्तो नीति अपनाएका थिए भन्ने सबैलाई जगजाहेर नै छ । त्यसैले नेकपाले शहीद परिवार, बेपत्ता तथा घाइतेहरुको जिम्मा लिने कुनै सम्भावना छैन । यसको लागि जनार्दन शर्मा नै उपयुक्त नेता हुन । उनले आफ्नो पार्टीमा यी विषयहरुलाई सम्बोधन गरेको पाइन्छ ।  

प्रलोपा र एमालेवीच चुनावी बैठक भइरहेको बेला नेकपाका कार्यकर्ताहरुले हारको मानसिकताबाट गलत हर्कत देखाएको प्रलोपा का कार्यकर्ताहरुले बताएका छन् । लोकतन्त्रमा यस्ता क्रियाकलापहरु स्विकार्य हुन सक्तैनन् । यदि नेकपाले लोकतान्त्रिक मूल्य मान्यताको सम्मान गर्दछ भने यस्ता गतिधिहरुलाई पूर्ण रुपमा बन्द गर्नुपर्दछ । जनताले जसलाई स्विकार्छन् त्यसलाई सबै दलले पनि स्विकार गर्नुपर्दछ ।  भविष्यमा सरकारकै नेतृत्व गर्ने तयारी गरेको नेकपा जस्तो दलका कार्यकर्ताहरु अहिले नै पराजयको मानसिकताबाट ग्रसित भएर अर्को दलमाथि जाइलाग्नु सर्वथा निन्दनीय छ । 

 
 
आइतबार, ०३ फागुन २०८२, १० : ४१

प्रतिक्रिया