देश छोड्ने दरमा आएन कमी

बुधबार, ०६ फागुन २०८२, ११ : ५४

काठमाडौं - यतिबेला मुलुक नयाँ सरकार बनाउनको लागि निर्वाचनको संघारमा छ । निर्वाचनमा होमिएका सबै राजनीतिक दलहरुले मुलुकमा व्यापक रोजगारी सिर्जना गर्ने भनेर घोषणा पत्रहरु पनि ल्याएका छन् । तर नागरिकहरुले देश छोड्ने क्रम भने रोकिएको छैन । यो संख्या झन बढ्दै गएको तथ्याङ्कहरुले देखाएका छन् ।

वैदेशिक रोजगार विभागको एक विवरण अनुसार चालु आर्थिक वर्षको ७ महिना (साउन–माघ) सम्ममा वैदेशिक रोजगारीमा जान ४ लाख ७२ हजार ६७३ युवाले श्रमस्वीकृति लिएका छन् । दैनिक रुपमा हेर्दा यो औसतमा झण्डै २२५१ जना हो । महिनामा हेर्दा ६७ हजार ५२४ जना हो ।

गत आर्थिक वर्षको ७ महिनामा ४ लाख ६२ हजार २५१ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिएका थिए । गत आवसँग तुलना गर्दा चालु आवमा १० हजार ४ सय २२ जना धेरैले श्रमस्वीकृति लिएको देखिएको छ । यो माघमा मात्र ७० हजार ५०३ युवाले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएको पाइएको छ ।  

गत आवको सोही अवधिको तुलनामा समग्र श्रम स्वीकृति संख्या बढेको छ । अहिलेसम्म श्रम स्वीकृति पाएको संख्यालाई हेर्दा यो वर्ष ८ लाख २० हजार हाराहारी नेपाली कामका लागि विदेश पुग्ने देखिएको छ ।

यसैगरी चालु आवमा श्रम स्वीकृति लिनेको संख्या औसत प्रतिमहिना ६७ हजार रहेकामा गत आवमा यो संख्या ६६ हजार थियो । चालु आवका सात महिनामा विदेश जानेको संख्या एकनासको छैन । सामान्य रुपमा भए पनि प्रत्येक महिना उतारचढाव आएको छ । चालु आवको साउनमा ६८ हजार ११० जनाले विदेश जान श्रमस्वीकृति लिएका थिए । भदौमा यो संख्यामा सामान्य गिरावट आएको थियो । भदौमा ६७ हजार ९७२ जनाले श्रमस्वीकृति लिएका थिए ।

यस्तै, चाडपर्वको महिना भएका कारण असोजमा विदेश जानेको संख्या ६४ हजार ६३४ जनामा झरेको थियो । तर, अर्को चाडपर्वको महिना कात्तिकमा भने ७३ हजार ९४ जनाले देश छोडेका थिए । गत वर्ष साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ र असोजमा ५३ हजार ५२५ जनाले विदेश जान श्रमस्वीकृति लिएका थिए ।

विभागका अनुसार गत आवका सात महिनामा पनि विदेश जानेको संख्यामा उतारचढाव आएको थियो । श्रमस्वीकृति लिनेको संख्या स्थिर प्रकारको भने छैन् । विभागको रिपोर्ट अनुसार कात्तिकमा ७० हजार ९५०, मंसिरमा ८४ हजार २२६ र पुसमा ६५ हजार युवाले श्रम स्वीकृति लिएको देखिएको छ ।

गत आर्थिक वर्षभरिमा भने ८ लाख ३१ हजार युवाले वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७८-७९ मा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ६ लाख ३० हजार ९० थियो । वैदेशिक रोजगारीको इतिहासमा गत आवको मंसिरमा सबैभन्दा बढी ८४ हजार २२६ जनाले श्रम स्वीकृति लिएका थिए ।

देशको सक्रिय जनशक्ति यसरी विदेश पलायन भैरहने हो भने निकट भविष्यमै नेपाली समाजले ठूलो संकटको सामना गर्नुपर्ने हुन्छ । मुलुकमा उत्पादनको दर घट्नेछ र त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेछ । तसर्थ, सरकार, जिम्मेवार राजनीतकि दल तथा सबै सरोकारवालाहरुले समस्याको तत्कालीन र दीर्घकालीन समाधान खोज्न विलम्ब गर्नुहुँदैन । 

 
बुधबार, ०६ फागुन २०८२, ११ : ५४

प्रतिक्रिया