काठमाडौं - अमेरिका र इजरायलद्वारा इरानमा गरिएको आक्रमणको कारण मध्यपूर्वमा सिर्जित समस्याले विश्व अर्थतन्त्र र तेल आपूर्तिमा समस्या उत्पन्न भएको छ । उक्त क्षेत्रमा हालै देखिएको संकट र फागुन २१ को निर्वाचनका कारण पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा इन्धन खपत दोब्बरले बढेको छ ।
नेपाल आयल निगमको थानकोट डिपोबाट सामान्य दिनमा पेट्रोल र डिजेल साढे सात सय किलोलिटर आपूर्ति हुने गरेको थियो । पछिल्ला तीन दिनयता भने दोब्बरभन्दा बढीले आपूर्ति गरिएको थानकोट डिपो कार्यालयका प्रमुख जगदिश यादवले जानकारी दिए ।
अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्त रुपमा सैन्य आक्रमण गरेपछि इन्धन अभाव हुनुको साथै निर्वाचनको कारण इन्धन खपत बढेको छ । निर्वाचनका कारण मानिसहरु घर जान लागेकाले माग बढेको अनुमान गरिएको छ । काठमाडौं उत्पयकाका विभिन्न ठाउँका पेट्रोल पम्पमा लाइन बढ्न थालेपछि पेट्रोल पम्पमा उपभोक्ताको लाइन बढेको देखिन्छ ।
सामान्य अवस्थाभन्दा थानकोट डिपोबाट हुने इन्धनको बिक्री हाल लगभग दोब्बर भएको छ । पेट्रोल र डिजेल औसतमा दैनिक बिक्री साढे सात किलोलिटर हुने गरेकोमा सोमबार १ हजार ३ सय ८१ किलोलिटर पुगेको छ । यद्यपी इन्धनको आपूर्तिमा कुनै समस्या नभएको बताइएको छ । डिपोले दैनिक ५० देखि ६० गाडी मगाइरहेको छ र आवश्यक परेमा अमलेखगञ्जबाट १ सयदेखि १ सय ५० गाडीसम्म लोड गर्न सकिने क्षमता रहेको छ । यद्यपी इन्धन अभाव हुने आशंकाले उपभोक्ताहरुले सामान्य समयभन्दा बढी इन्धन हाल्न थालेका छन्, जसले गर्दा एउटा सवारी साधनलाई इन्धन भर्न र पैसा फिर्ता लिन साविकको भन्दा बढी समय लागिरहेको छ ।
शनिबार अमेरिका र इजरायलले इरानमाथि संयुक्त रुपमा सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा बढ्दै गएको तनावले नेपालमा तेल आपूर्तिमा समस्या आउने आशंकामा उपभोक्ताले तेल भर्न थालेका छन् । तर, निगमले तत्काल उक्त तनावको प्रभाव नपर्ने बताएको छ । भारतसँग हरेक पाँच–पाँच वर्षमा नेपाली बजारको मागअनुसार तेल आपूर्ति गर्ने सम्झौता हुने गरेको छ । त्यसकारण नेपालमा इन्धन आपूर्तिमा समस्या नहुने निगमको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार भारतसँग १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिन्छ । अहिले मार्च १ देखि १५ सम्मका लागि मूल्य निर्धारण भएर आइसकेको छ । त्यसकारण अहिले पेट्रोलियम पदार्थको आपूर्ति र मूल्य दुवैमा कुनै समस्या हुँदैन । पाइपलाइनबाट सहज रुपमै तेलको आपूर्ति भइरहेको हुँदा अभाव हुन्छ भन्ने आशंकामा आवश्यकभन्दा बढी तेल र ग्यास खरिद नगर्न उपभोक्तालाई निगमले आग्रह गरेको छ ।
नेपालमा अहिले दैनिक २० लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल बिक्री हुन्छ । भारतसँग नेपाली बजारको मागअनुसार आपूर्ति गर्नुपर्ने सम्झौता भएको हुँदा तत्काललाई नेपालको आपूर्ति प्रणालीमा असर पर्दैन ।
प्रतिक्रिया