काठमाडौँ - जेन-जि आन्दोलनपछि फेरिएको राजनीतिक परिदृष्य चुनावमा झन अप्रत्यासित रुपमा देखापरेको छ । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, एमाले र नेकपामाथि ‘खतराको घण्टी’ बज्ने स्पष्ट संकेत प्रारम्भिक मतगणनाले देखाइसकेको छ । ०७९ को आम निर्वाचनमा चौथो स्थानमा रहेको रास्वपा अहिलेको प्रारम्भिक नतिजा हेर्दा पहिलो पार्टी बन्ने निश्चितजस्तै छ ।
काठमाडौंका पूर्वमेयर बालेन्द्र शाहको प्रवेशसँगै सुरु भएको ‘घण्टी’ को लहरले रास्वपा मुलुकको सबभन्दा ठूलो पार्टी बन्दै छ । जेन(जी आन्दोलनअघि सरकारको रहेका कांग्रेस-एमालेले यो निर्वाचनमा सबभन्दा ठूलो धक्का खाएका छन् । विघटित संसदमा ८९ सहित पहिलो भएको कांग्रेस र ७८ सहित दोस्रो दल एमालेले जेन-जी आन्दोलनमा भएको मानवीय क्षतिको ठूलो मूल्य चुकाउने अवस्थामा पुगेका छन् ।
जेन( जी आन्दोलनलाई समर्थन गरे पनि नेकपाको पक्षमा जनमत देखिएको छैन । नेकपा चौथो दल हुने संघर्षमा देखिन्छ ।
२०७२ मा संविधान जारी भएपछि आलोपालो सरकारको नेतृत्व गरेका कांग्रेस, एमाले र नेकपाले जनअपेक्षा अनुसार सुशासन, भ्रष्टाचार नियन्त्रण, सरकारी सेवा, रोजगारी सृजना गर्न सकेनन् । सत्ताको खेलका कारण आम मानिसमा निराशा र आक्रोश पैदा भएको थियो ।
त्यही निराशा र आक्रोशलाई उनीहरुले आशा खोज्दै यो प्रतिनिधिसभा निर्वाचनमा ‘ब्यालेट’ विद्रोह गरेका छन् । मतदाताले आशा खोज्दै रास्वाका वरिष्ठ नेता ‘बालेन’ लाई जनादेशमार्फत मुलुकको नेतृत्वमा पुर्याउने गरी रास्वपालाई रोजेका छन् । निर्वाचनको पूर्ण परिणाम आएलगत्तै रास्वपाको परीक्षा सुरु हुनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले विजययात्राको सरुवात गरेसँगै आगामी सरकार र त्यसले लिने नीतिहरुको बारेमा जिज्ञासाहरु पैदा भएका छन् । वैकल्पिक शक्तिको हवाला दिएर नेपाली राजनीतिमा स्थापित भएको रास्वपाको निकट अतित भने त्यति आशालाग्दो छैन । २०७९ मा पहिलोपटक संसदमा द्धौथो शक्तिको रुपमा रहेको उक्त पार्टी दुईपटक सरकारमा सहभागि भैसकेको छ । उसले उठाएका अधिकांश उम्मेदवारहरु विवादास्पद रहेका छन् । उनीहरुले संसदमा कस्तो भूमिका प्रदर्शन गर्छन् भन्ने कौतुहलता पनि देखिएको छ । यद्यपी लोकतन्त्रमा जनताको अभिमत सर्वमान्य नै हुन्छ । संभवतः निर्वाचनपछि रास्वपाको एकल सरकार बन्ने निश्चित जस्तै देखिएको छ । आफ्नै योजना र निर्देशनमा भएको जेनजि आन्दोलनका एजेण्डाहरु कसरी सम्बोधन हुन्छन् त्यसले नै रास्वपाको भावि राजनीतिक अवस्थाको निर्धारण गर्नेछ ।
प्रतिक्रिया