सल्यानको लक्ष्मीपुरस्थित पौराणिक त्रिकुटेश्वर महादेव र कमलाक्षी शक्तिपीठ

आइतबार, ०१ चैत्र २०८२, १० : ५७

कर्णाली प्रदेशको सल्यान जिल्लाको कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुर देउराली कुटीमा अवस्थित प्राचीन कमलाक्षी मन्दिर तथा त्रिकुटेश्वर महादेव धाम धार्मिक तथा पौराणिक महत्त्व बोकेको एक महत्वपूर्ण तीर्थस्थल हो। जिल्ला सदरमुकाम खलंगाबाट करिब २४ किलोमिटर पश्चिमतर्फ रहेको यो धार्मिक शक्तिपीठ श्रद्धालु भक्तजनका लागि उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा परिचित छ।

यस शक्तिपीठको उत्पत्तिसँग सम्बन्धित पौराणिक कथनहरू पाइन्छन् । श्रीस्वस्थानी व्रतकथा तथा स्कन्दपुराणमा वर्णन गरिएको कथा अनुसार, आफ्ना पिता दक्ष प्रजापतिले आयोजना गरेको महायज्ञमा पति भगवान् शिवको निन्दा सहन नसकी सतीदेवीले यज्ञकुण्डमा हाम फाली देहत्याग गर्नुभएको थियो। त्यसपछि भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा जहाँ–जहाँ सतीदेवीका अंगहरू पतन भए, त्यहाँ–त्यहाँ शक्तिपीठहरूको उत्पत्ति भएको विश्वास गरिन्छ। सोही क्रममा लक्ष्मीपुरको देउराली क्षेत्रमा सतीदेवीको बायाँ करङ पतन भएको र त्यसबाट त्रिकुटेश्वर महादेव तथा कमलाक्षी शक्तिपीठको उत्पत्ति भएको जनश्रुति प्रचलित छ ।

स्थानीय कथन अनुसार शक्तिपीठ स्थापना भएपछि विभिन्न देवी–देवताहरू पूर्वतर्फबाट यहाँ आउने र पश्चिमतर्फ झरेर शिव–पार्वतीको शयनकक्षमा पूजा गरी अन्तरध्यान हुने गरेको किवदन्ती रहेको छ। अझै पनि यहाँको एउटा ढुंगाको प्वालबाट पञ्चेबाजाको धुन सुनिने स्थानीय विश्वास छ। देवी–देवता पूजा गर्न आउने क्रममा पञ्चेबाजा बजाउने गरिन्थ्यो र त्यसैको धुन अहिले पनि सुनिने गरेको विश्वास स्थानीय बासिन्दाको छ। पहाडको आकृतिमा रहेको यस मन्दिर परिसरमा सतीदेवीको करङका आकृतिहरू जस्तै देखिने प्राकृतिक संरचना पनि प्रष्ट रूपमा देख्न सकिन्छ।

यो धाममा विशेषगरी महाशिवरात्रि, होलीपूर्णिमा, श्रीपञ्चमी, तीज तथा ऋषिपञ्चमीका अवसरमा ठूलो संख्यामा तीर्थालु आउने गर्दछन्। त्रिकुटेश्वर धाममा लामो समयदेखि साधनारत सल्यान साउटोलाका ८० वर्षीय मदनमोहन गौतमका अनुसार यहाँ श्रद्धापूर्वक पूजा–आराधना गरेमा मनोकामना पूरा हुने र निसन्तान दम्पतीलाई सन्तान प्राप्ति हुने विश्वास रहेको छ। यस धाममा सल्यानसहित दाङ, सुर्खेत लगायत विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन्।

हराभरा वन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थल पछिल्ला वर्षहरूमा स्वदेशी तथा विदेशी धार्मिक पर्यटकको आकर्षण बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक परम्पराको अद्वितीय संगमले यो क्षेत्र पर्यटक तथा भक्तजन दुवैका लागि उत्कृष्ट गन्तव्य बनेको छ। वरिपरि देखिने हरिया पहाड, कुहिरोले ढाकिएको वातावरण र शान्त प्राकृतिक दृश्यले यहाँ पुग्ने जोकोहीलाई मोहित बनाउँछ।

इतिहासका दृष्टिले पनि सल्यान जिल्ला महत्वपूर्ण मानिन्छ। बाइसे राज्यअन्तर्गत पर्ने सल्यानको इतिहास लामो र गौरवपूर्ण छ। नेपाल एकीकरण अभियानका क्रममा यहाँका राजा कृष्ण शाह र पृथ्वीनारायण शाहबीच घनिष्ठ मित्रता रहेको उल्लेख पाइन्छ। वि.सं. १८२३ माघ २५ गते सल्यानी युवराज रणभिम शाहसँग पृथ्वीनारायण शाहले आफ्नी छोरी विलासकुमारीको विवाह गराइदिएको ऐतिहासिक प्रसंग पनि उल्लेखनीय छ। पछि वि.सं. १८६९ भदौ ३ गते सल्यान नेपाल एकीकरण अभियानमा समेटिएको इतिहास पाइन्छ।

राणाकालमा सल्यान जिल्लाअन्तर्गत अहिलेका रुकुम, रोल्पा र दाङ जिल्लाका धेरै भूभाग समेटिएका थिए। त्यसबेला यसको प्रशासनिक क्षेत्र पनि निकै ठूलो थियो। हाल सल्यान जिल्ला भौगोलिक रूपमा पहाडी क्षेत्रमा पर्ने भएकाले यहाँका धेरै स्थानमा पूर्वाधार विकास अझै पनि सीमित छ। कृषि नै यहाँको मुख्य पेशा हो भने अदुवा, अमिलो जातका फलफूल तथा बाख्रापालन प्रमुख आर्थिक गतिविधिका रूपमा रहेका छन्।

यद्यपि धार्मिक र पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना बोकेको कमलाक्षी माता तथा त्रिकुटेश्वर महादेव धामसम्म पुग्न अझै पनि पर्याप्त पूर्वाधार अभाव रहेको स्थानीय तथा भक्तजनको गुनासो छ। स्तरीय सडक, खानेपानी, शौचालय, धर्मशाला तथा बासस्थानको अभावका कारण तीर्थालुलाई कठिनाइ हुने गरेको बताइन्छ। सवारीसाधन सञ्चालन हुने सडकको अभावमा कतिपय स्थानमा पैदल यात्रामार्फत पुग्नुपर्ने अवस्था छ।

धार्मिक तथा पर्यटकीय सम्भावना अत्यन्त उच्च रहेको यस पवित्र धामको संरक्षण, प्रचार–प्रसार र पूर्वाधार विकासमा राज्य तथा सम्बन्धित निकायको ध्यान जान सकेमा यो क्षेत्र भविष्यमा महत्वपूर्ण धार्मिक तथा पर्यटकीय केन्द्र बन्न सक्ने विश्वास गरिएको छ।


 

 
 
 
आइतबार, ०१ चैत्र २०८२, १० : ५७

प्रतिक्रिया