मुद्राको इतिहास र एशियाली एकताको आवश्यकता

बुधबार, ०४ चैत्र २०८२, १५ : ०१

हाम्रै एशियाली सभ्यताका सभ्यहरुले आफ्नो कृषिजन्य हातहतियारहरुसँग मासु साट्ने काम सुरु गर्दागर्दै वस्तु विनिमय प्रणालीको विकास गरेका थिए । विकासको त्यो सुरुवात मध्यपूर्व एशियामा हालको इराकी तत्कालीन मेसोपोटामियम जातिले गरेका थिए । दुई पक्ष वा बहु–पक्षहरुबीच समान आवश्यकता मात्र नभई फरक फरक आवश्यकताहरु माझ वस्तु विनिमय प्रणाली विस्थापित गर्न पैसाको आविष्कार भयो । यसरी संसारमा सबैभन्दा पहिला एशियाली सनातन “मममु” सभ्यताको जगमाथि उभिएर पैसाको आविष्कार हुन पुग्यो ।

“मममु” एकता अर्थात् सनातन मष्टो, मङ्गोल, मुस्लिम भाई भाई सभ्यताको प्राग ऐतिहासिककालीन साझा घर एशिया हो । त्यही एशियाली चीनको सोेङ राजवंश (ई.पू. ९६०– ई.पू. १२७९) राज्यकालमा “सियाओची” नामको विश्वको पहिलो आधिकारिक कागजी मुद्राको आविष्कार भएको मौद्रिक इतिहास छ । चीनले जनावरका हड्डी, तामा र पित्तलका सिक्काहरु पनि बनाइसकेको थियो । चीनको हेनान प्रान्तस्थित कुआनचुआङ सहरमा व्यवस्थित टक्सार पद्दतिको विकास गरी यस्ता सिक्काहरुको प्रारम्भ गरेको थियो । ईशापुर्वको सातौं शताब्दीमा एशियाली बाहुल्य क्षेत्र टर्कीले “दि लिडियन लायन स्ट््याटस्” को विकास गरेपछि यसलाई संंसारको सबैभन्दा पहिलो सिक्का मान्न थालियो । ईशापूर्व ६०० मा युरोपेली सभ्यताको प्राचीन ग्रीसमा सिंह र साँढेका चित्र अंकित सुन, चाँदीका सिक्काहरु प्रयोगमा आए ।

पहिलो ऐतिहासिक एकीकृत चीनका सम्राट छिन सि ह्वाङ (ई.पु. २२१– ई.पु. २०७) ले जिसस् क्राइष्ट जन्मिनु अघि नै एकीकृत चीन निर्माण गरिसकेका थिए । उनले कागज, मानकीकृत धातु मुद्राको सिर्जना, नापतौल प्रणाली, परम्परागत आर्युवेद प्रणाली, कम्पास तथा बारुद् प्रणाली, प्रशासनिक क्षेत्र तथा इलाकाहरुको विकास, निर्माण र पुर्ननिर्माणमा महत्वपूर्ण भूमिका खेले । विस्तारै विस्तारै संसारभरका अधिकांश देशका राजाहरुले आ–आफ्नो नामको सिक्का निकाल्न थाले । ईस्वी सम्बतको छैठौं शताब्दीमा नेपालका लिच्छवी राजा मानदेवले सर्वप्रथम मानाङ्क सिक्कालाई प्रचलनमा ल्याए । तर धातुका सिक्काहरुको तौल धेरै भएकाले ठूलो व्यापार गर्न, बोक्न, ओसारपसार गर्न अप्ठ््यारो भयो । 

तत्कालीन चिनियाँ युआन वंशका संस्थापक राजा कुब्ला खाँले ई.सं. १२७९ मा “म तिम्रो ऋणी हुँ” अर्थात् “आइओयु”  स्ट्याटसको सर्वप्रथम आधुनिक कागजी मुद्रा प्रचलनमा ल्याएका थिए । व्यवस्थापनको लागि बैंकहरु पनि अस्तित्वमा आए । बैंकहरुले मानिसहरुसँग भएको सुन, चाँदी, हीरा, मोती लिएर त्यसको सट्टामा कागजी मुद्रा दिन थाले । उनीहरुले आफुसँग भएको सुन, चाँदी, हीरा, मोतीको सट्टा बैंकबाट कागजी मुद्रा लिन थाले । बैंकहरुले मानिसहरुलाई कागजी मुद्रा उधारो दिन थाले । त्यसकारण कागजी मुद्राको परिणाम बढ्दै गयो । कागजी मुद्राको अधिकताले मुद्रास्फिती पनि बढ्यो । परिणामतः बजारमा महंगी बढ्यो । १ आइओयुमा पाइने सामानको मूल्य बढेर १० आइओयु पर्न गयो । बैंकहरुमा पनि पर्याप्त सुन, चाँदी स्टक थिएन । बैंकहरुमा भएको सुन, चाँदीको तुलनामा शहरमा भएका कागजी मुद्राहरुको परिमाण धेरै भयो । यी घटनाक्रमहरुको अन्तर्य थाहा पाएपछि मानिसहरुले बैंकमा आफुले राखेका सुन, चाँदी, हीरा, मोती फिर्ता लिन पुगे । तर बैंकले दिन सकेन । यसले गर्दा बैंकप्रति मानिसहरुको विश्वास घट्यो । 

बेलायतले “क्वाइनेज एक्ट अफ १८१६” लागू गरी एक नयाँ नियम निकाल्यो । उसले आफ्नो ऐन माथि टेकेर जति परिमाणमा सुन, चाँदी छ त्यतीमात्रै कागजी मुद्रा छपाउन थाल्यो । यसले गर्दा महंगीमा नियन्त्रण आयो । यसरी बेलायतले कागजी मुद्रलाई आफ्नो सञ्चित सुनको परिमाणमा मुद्रा छापेर व्यवस्थापन ग¥यो । बेलायतको यो कामलाई देखेर संसारका अधिकांश देशहरुले सुन, चाँदीको सञ्चितीका आधारमा सोही परिणाममा कागजका मुद्राहरु छाप्न थाले । 

नेपालमा राष्ट्र बैंकको स्थापना हुनुअघि खजाञ्चीद्धारा हस्ताक्षरित सदर मुलुकीखानाबाट २००२ आश्विन १ मा सर्वप्रथम मोरु एक, पाँच, दस र एक सय रुपैयाको कागजी नोट प्रचलनमा आए । नेपालमा वि.सं. २००९ सालदेखि प्रचलित नेपाली मुद्रालाई आधिकारिक रुपमा “नेपाली रुपैयाँ” भनी घोषणा गरियो । हो, यहीँनेर आएर एउटा स्मरण गरौं ः शब्दको मनोविज्ञानभित्र कति तागत लुकेको हुन्छ ? यस्ता प्रयोग गरिने, लेखिने संवेदनशील शब्दहरुमा बडो ध्यान दिनुपर्ने रहेछ । उदाहरणको लागि नेपालको मुद्रालाई “रुपैयाँ” भनिन्छ, लेखिन्छ । तर भारतको मुद्रालाई “रुपये” भनिन्छ, लेखिन्छ । यसरी सामान्य रुपमा हेर्दा, सुन्दा र बोल्दा करिब करिब उस्तै उस्तै जस्तो लाग्छ । तर मनन् गरौं, यस्ता विषयहरुमा हाम्रा लेखाइहरु बिग्रिएर यदी नेपाली रुपये अथवा भारतीय रुपैयाँ लेखियो भने कति गहिरो संवेदनशील भाषिक अन्तर पर्छ ?  

वि.सं. २०१२ तद्अनुसार ई.सं. १९५५ मा नेपाल राष्ट्र बैंक ऐन लागू भयो । त्यसअनुरुप २०१३ वैशाख १४ तद्अनुसार अप्रिल २६, १९५६ मा नेपाल राष्ट्र बैंकको स्थापना भयो । पहिलो गर्भनर हिमालय शमशेर ज.ब.रा. नियुक्त हुनुभयो । २०१३ असोज २२ गते तद्अनुसार अक्टोबर ७, १९५६ मा नेपाल र चीनबीच पहिलो “आर्थिक सहयोग सम्झौता” भयो । वि.सं. २०१४ तद्अनुसार ई.सं. १९५७ मा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ अन लाइ नेपालको पहिलो भ्रमणमा आउनु भयो । उहाँले पशुपतिनाथ मन्दिर दर्शन गर्नेक्रममा पाँच सय भारतीय रुपये भेटी चढाउनु भयो । त्यो बेला एक अमेरिकी डलरको विनिमय दर भारु ४.२६ थियो भने भारतमा सुन प्रति तोला एक सयको हाराहारीमा थियो । यसरी एउटा सार्वभौम मुलुकको प्रसिद्ध मन्दिरमा अर्को मुलुकका प्रधानमन्त्रीले भारतीय रुपये चढाएको घटनाले नेपालका तत्कालीन राजा महेन्द्रको ध्यानाकर्षण भयो । 

भनिन्छ, ‘त्यसलगत्तै राजाले रणनीतिक रुपमा नेपाली नोट “रुपैयाँ” चलाउन तत्कालीन प्रधानमन्त्री, अर्थमन्त्री र पहिलो गभर्नरलाई निर्देशन दिए ।’ नेपालमा दक्षिणी सँधियार मित्रराष्ट्र भारतको भारतीय मुद्रा प्रयोग गर्नुपर्ने तत्कालिन व्यवस्था र अवस्थामाथि सन्तुलन कायम गर्न राजा महेन्द्रको आदेश निर्देशलें प्रधानमन्त्री टंकप्रसाद आचार्य र नेपाल राष्ट्र बैंकका गभर्नर हिमालयसमशेर राणाले आन्तरिक गृहकार्य गरे । फलस्वरुपः नेपालमा केन्द्रीय बैंकले शाखा, प्रशाखा, सटही काउण्टर खोलेर भारतीय रुपयेको सट्टा नेपाली रुपैयाँको प्रचलन बढायो । 

चीनसँग “आर्थिक सहयोग सम्झौता” गरिसकेपछि चीनले पहिलोपल्ट औपचारिक रुपमा नेपाललाई १० करोड नेपाली रुपैयाँ बराबरको सहयोग उपलब्ध गरायो । भूतपूर्व अर्थमन्त्री र गभर्नर डा. भेषबहादुर थापाले चीनबाट उपलब्ध गराएको सोही नगदबाट नेपाल राष्ट्र बैंकको जग हालेको स्मरण गर्नुहुन्छ । वास्तवमा सोही चिनियाँ रकमको सहयोगबाट नेपाल राष्ट्र बैंकको स्थापना भएको इतिहास साक्षी छ । यसबाट त्यतिबेला बैंकको पुँजि बापत छुट्याइएको एक करोड र बेलायतको डे.ला.रुए. कम्पनीमा छापिएका नेपाली नोटको लागि आवश्यक जमानत वापत चीनले उपलब्ध गराएको सोही विदेशी मुद्रा प्रयोग गरिएको थियो । 

नेपालमा नेपाली मुद्राको चलनचल्ती बढाउने सम्बन्धी ऐन, वि.सं. २०१४ लागू गरियो । २०१७ बैशाख १ गतेबाट भारतीय १०० रुपये बराबर नेपाली १६० विनिमय दर तोकियो । यसरी भारतीय रुपयेसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम भइआएको छ । तर भारतीय रुपये पनि अमेरिकी डलरसँग स्थिर विनिमय दर कायम भएकाले यदी भारतीय रुपये अमेरिकी डलरसंग कमजोर भइदियो भने त्यस प्रणालीबाट नेपाली रुपैयाँ पनि स्वतः कमजोर हुन पुग्छ । त्यसकारण यसमा सरकारले नेपाली रुपैयाँ र भारतीय रुपयेबीचको स्थिर विनिमय दरलाई वैज्ञानिक पुनरावलोकन र सन्तुलन कायम गर्न सक्यो भने अरु न्यायोचित हुन सक्छ भन्ने कतिपय विज्ञहरुको धारणा छ । ताकि यसबाट नेपाल र भारत दुवै देशको पारस्परिक मौद्रिक हित प्रणाली समतामुलक, न्यायोचित् होस् । दुई देशीय मैत्रीपूर्ण सम्बन्धमा पनि बढोत्तरी आओस् । अपेक्षा गरौं, यसमा भारत जस्तो विशाल हृदय भएको दक्षिणी सँधियार मित्रराष्ट्रले आफ्नो.उत्तरी सँधियार मित्रराष्ट्र नेपालप्रति उच्च सदासयता राख्ने नै छ ।

नेपालको मौद्रिक इतिहासमा पनि विभिन्न दरका कागजी रुपैयाँहरु प्रचलनमा ल्याइयो, चलाइयो । २०२६ वैशाख १४ गतेदेखि रु. एक हजार; २०२७ जेठ ३० गतेदेखि रु. पाँच सय; २०३४ वैशाख १४ गतेदेखि रु. पचास; २०३८ वैशाख १४ गतेदेखि रु. दुई र २०३९ कात्र्तिक २२ गतेदेखि रु. वीसका कागजी रुपैयाँहरुको सुरुवात भयो । नेपाल राष्ट्र बैंकले उत्तरी सँधियार मित्रराष्ट्र चीनको युआनलाई अमेरिकी डलर, बेलायती पाउण्ड युरो जस्तै वि.सं. २०५९ तद्अनुसार सन् २००२ देखि विनिमय सूचीमा राखेको छ । फलस्वरुपः व्यापारी, विद्यार्थी र पर्यटकहरुले चिनियाँ युआनमा पनि कारोबार गर्न पाए । प्रविधिको विकासले अन्तराष्ट्रिय भुक्तानी प्रणालीमा देखिएको परिवर्तनसँगै नेपाल र चीनका बैंकहरुले पनि त्यसलाई अपनाए । 

चिनियाँ डिजिटल भुक्तानी प्रणालीका वालेट, विच्याट पे र अलि पेबाट नेपालमा पनि भुक्तानीको सुविधा छ । विभिन्न दरका नेपाली नोट तथा सिक्काहरुको टकमारी तथा छपाई कार्य चिनियाँ सरकारी कम्पनीले पनि गर्दै आएको छ । १ सय ५ वर्षअघि स्थापित “चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन” ले अन्य मुलुकहरुमा जस्तै आफ्नै चिनियाँ “रनमिनपी” नोट र सिक्काको टकमारी तथा छपाई कार्य गर्दैआएको छ । चीनमा नेपाली नोट छाप्दा धेरै कम लागत पर्ने गरेको विज्ञहरु बताउँछन् । साथै, चीनमा छापिएका नेपाली नोटको गुणस्तर पनि अन्यत्र देशहरुको तुलनामा उत्कृष्ट र सस्तो पर्न गएको पाइएको छ । यसरी मौद्रिक व्यवहार र कारोबारको निकटताले पनि चार किल्ला जोडिएका हामी सभ्य एशियाली सँधियार चीन–नेपाल–भारत त्रिदेशीय सम्बन्धलाई अक्षुण्ण राख्दैआएको छ । 

त्यसकारण एशियाको दूध कहाँ पोखियो ? एशियाली सभ्यताकै थालभित्रको भागमा पोखियो । त्यसकारण अरु फरक सभ्यताले एशियाली सभ्यताभित्र “विभाजन गर र शासन हत्याउ” को सोंच राखी हामीलाई परस्परमा लडाउने, भिडाउने प्रयत्न गरेभने पनि हामी सभ्य एशियाली शक्तिहरु परस्परमा कहिल्यै लड्दैनौ बरु झन बलियोगरी एकजुट भइकन मिलिजुली बस्छौं भन्ने गोरखाली युद्धबाज नेपालका “जीवित सिंह” बडाकाजी अमरसिंह थापा र नेपालका प्रथम मुख्तियार कमाण्डर–ईन–चिफ भीमसेन थापाको ऐतिहासिक अभियान संचार गर्नु छ । उहाँहरुले नै सर्वप्रथम नेपालबाट एशियाली एकताको पक्षमा विगुल फुक्नु भएको इतिहास पाइन्छ । यसरी इतिहासमा मात्र सीमित होईन, अब एशियाली एकताको आन्तरिक चेतना वर्तमान व्यवहारिक आवश्यकता पनि हो । यसले एशियाली–प्रशान्तीय मानवहरुको मन, मस्तिष्क र श्वासप्रश्वास प्रणालीभित्र मनोवैज्ञानिक तागत बढाउँछ । (लेखक राजनीतिशास्त्र विषयअन्तर्गत ‘नेपाल–चीन राजनीतिक–आर्थिक सम्बन्ध’ शीर्षकमा विद्यावारिधि शोधार्थी हुन् ।) 

 
 
 
बुधबार, ०४ चैत्र २०८२, १५ : ०१

प्रतिक्रिया