विश्वको सर्वोच्च शिखर सगरमाथामय भूपरिवेष्ठित देश नेपालसंग जोडिएको चार–किल्ला मध्येको एक उत्तरी सँधियार चीनको स्वायत्त प्रदेश सिचाङ हो । सिचाङलाई महाचीन, तुवो भन्ने गरिन्थ्यो । स्थानीय तुवो शब्द अंग्रेजीमा अपभ्रंश भएर बन्न गएको टिबेट, टिबेटन शब्दहरुलाई पुनः स्थानीयकरण गदै नेपालीमा आगन्तुक भएपछि तिब्बत भन्न थालियो । तर आजको चिनियाँ भाषिक नीतिले अंग्रेजी शब्दलाई भाषिक स्थानीयकरण गर्न रुचाउँदैन । त्यसकारण अब कथ्य र लेख्यमा ‘तिब्बत’ शब्द प्राथमिकतामा परेको देखिदैन । बरु, आजभोलि बाक्लोगरी ‘सिचाङ’ भनेर बोलिन्छ, लेखिन्छ । चीन (चोङ्को) ले आफ्नो स्थानीय सिचाङ शब्द प्रयोग गरेर भाषिक अन्तराष्ट्रियकरण गरिरहेको छ ।
चोङ्कोका कतिपय उच्च पदाधिकारीहरुले पनि अन्तराष्ट्रिय समुदायमाझ अंग्रेजी भाषामा भन्दा आफ्नै चिनियाँ मेण्डरिन भाषाबाट बोलिरहेका छन्, लेखिरहेका छन् । बरु, दोभासेको सहायताबाट विदेशी भाषालाई आफ्नै चिनियाँ मेण्डरिन भाषामा अनुवाद गरी कार्य–व्यवहार गर्दैछन् । जीवनमा कतिपय यस्ता चिनियाँ उच्चपदाधिकारीहरुको संगत पनि गरियो जसले सोझै अंग्रेजी आउँदैन, म चिनियाँ भाषाबाटै कुरा गर्छु भनेको पनि पाइयो । बरु, तपाइँलाई चाहिन्छ भने चिनियाँ भाषालाई अंग्रेजी भाषामा अनुवाद गराउनुहोस् भनेको पाइयो । तर आजको दुनियाँमा अंग्रेजी बोल्न, लेख्न आउँदैन भन्यो भने इज्जत जान्छ कि जस्तो नियती हामीले नै सिर्जना गरिरहेका छौं । हुन पनि हो, के अंग्रेजी भाषा अन्तराष्ट्रिय भाषा होईन र ?
नेपाल अर्थात् निपोको दक्षिणपट्टिको विशाल समथर भूभागसँग जोडिएको चार किल्ला सिमाना मध्येको दक्षिणी सँधियार भारत (इन्तु) हो । नेपाली भूगोलसंग टाँसिएका दुई राष्ट्रहरु छिमेकीभन्दा नजिकको करेसा जोडिएका सँधियारहरु हुन् भने विश्वका सबै राष्ट्रहरु नेपालका छिमेकीहरु हुन् । उत्तरी सँधियार सिचाङको दक्षिणपट्टिको सँधियार नेपाल (भालयुल) देशकी भाल्सा (नेपाली राजकुमारी भृकुटी) अर्थात् डोल्मा तारा लिच्छिवी कुलकी नारी हुन् । लिच्छिवी कुलकी तारा भृकुटीका वराजु पुर्खा मानदेवले नेपालमा पहिलोपल्ट मानाङ्क मुद्रा प्रचलनमा ल्याए । राजा मानदेवको यो शासनकालक्रम वि.सं. ५२१ (ई.सं. ४६४) देखि वि.सं. ५६२ (ई.सं. ५०५) भित्रको अवधि हो ।
उता, सिचाङमा मानाङ्क जस्तो शक्तिशाली मुद्रा नभएकाले त्यहाँ धेरै हद्सम्म सामान्य स्थानीय सिचाङी ‘स्राङ’ मुद्रा र वस्तु विनिमय प्रणाली नै सञ्चालनमा थियो । यता, नेपालमा राजा शिवदेव प्रथमका छोरा महाराजाबाट विभूषित उदयदेवद्वारा पनि छोरा नरेन्द्रदेव र छोरी भृकुटीको जन्म भइसकेको थियो । ऊनै शिवदेव प्रथमका भानिज राजा अंशुवर्मा पनि राजकाजमा सक्रिय थिए । यसरी यी सबै लिच्छिवी कुलकेतु राजा शिवदेव प्रथम (पछि बौद्ध भिक्षु) को परिवारभित्रकै सदस्यहरु थिए । तीमध्ये अंशुवर्माले सन् ६१८ ताका उत्तरतर्फका नेपाली भञ्ज्याङ्गहरु कुती र केरुङबाट नेपाल–सिचाङ (चीन) बीच औपचारिकरुपमा व्यापारिक सम्बन्धको सुरुवात गरे । यस्तो सम्बन्धमाझ हिमालय क्षेत्र वारिपारी मुद्राको प्रचलन हेर्दा हिमालपारी सिचाङमा (व)स्रोङ(व)त्सनगमपोको शासन सुरु हुनु दुईपुस्ता अघिदेखि तौल एकाइको रुपमा “स्राङ” मुद्रा अस्तित्वमा आएको थियो ।
चीनले नेपाललाई सन् ६३० मा एक स्वतन्त्र राज्यको परम्परागत मान्यता दिई भृकुटीका दाजु युवराज नरेन्द्रदेव र सिचाङी राजा (व)स्रोङ(व)त्सन(स)गमपोबीच “पहिलो प्रतिरक्षा सैनिक सहयोग तथा व्यापार–पारवहन सन्धि” भयो । यो सन्धिले सिचाङको दक्षिणपट्टिको सीमालाई नेपालले सुरक्षित गर्नुपर्ने व्यवस्थासाथ नरेन्द्रदेवले सिचाङी सेनाको “सुवेदार” पद स्वीकार गरे । त्यसकारण नेपाल र सिचाङबीच सन् ६३० मा सम्पन्न पहिलो प्रतिरक्षा सैनिक तथा व्यापार–पारवहन सन्धिले सुरक्षासंगै विकासको अवधारणा जोड्यो ।
राजा नरेन्द्रदेवकी बहिनी भृकुटीको यार्लुङवंशीय सिचाङी राजा (व)स्रोङ(व)त्सन(स)गमपोसंग सन् ६३३ मा विवाह भएको बर्षदेखि १ दशकभित्र भोट सिचाङमा नेपाल र चीन सम्बन्धको बलियो राजकीय मेलको प्रक्रिया प्रारम्भ भयो । यसले नेपाल–चीन दुईदेशीय (सिचाङसमेत गरेर) त्रिपक्षीयरुपमा सांस्कृतिक–आर्थिक सम्बन्ध स्थापित भयो । यो राजकीय वैवाहिक कुटनीतिले नेपालको लिच्छिवी राजवंश, सिचाङको यार्लुङ राजवंश र चीनको ताङ राजवंशबीच त्रिपक्षीयरुपमा निकटतम सम्बन्ध स्थापित हुन पुग्यो ।
कसरी भने (व)स्रोङ(व)त्सन(स)गमपोले भृकुटीलाई विवाह गरेको ८ वर्षपछि चीनका शक्तिशाली सम्राट ताइजोङकी छोरी वेनचेन कोङचोसंग पनि विवाह गरी यी दुई रानीहरुको माध्यमबाट एशियाली सभ्यताको क्षेत्रमा अभूतपुर्व योगदानले गहिरो सम्बन्ध निर्माण गर्न पुग्यो । नेपालबाट भृकुटीले विवाहको क्रममा उपहारस्वरुप सिचाङमा अहिलेसम्म विश्वकै अति दूर्लभ मानिएको ८ वर्षे शाक्यमुनि बुद्धको प्रतिमा लगेर त्यहाँ गुम्बा निर्माण गरी प्रतिष्ठापन गर्नुभयो । भृकुटीले सिचाङमा नेपालबाट मैत्रेय बुद्धको प्रतिमा, अक्षोभ्य बुद्धको प्रतिमा, आफै उत्पत्ति भएको मानिएको दूर्लभ चन्दनको तारा, नेपाली दक्ष कालिगढहरु, नेपाली अन्नबालीका बिऊ–बिजनहरु उपहार लानुभयो ।
बोन धर्मावलम्बी राजा (व)स्रोङ(व)त्सनगमपोले भृकुटीको प्रभावबाट बौद्धधर्म अवलम्बन गर्नुभयो ।
सिचाङमा भृकुटीले आफूसँग लैजानुभएका नेपाली कालीगढहरुको सहयोगबाट ल्हासास्थित हालको पोटाला दरबारको बृहत् दीर्घकालीन नगर विकास योजना सहितको पुरानो रातो डाँडो दरबार निर्माण योजनामा भृकुटीले नै सक्रिय भएर त्यस प्रभावबाट राजा (व)स्रोङ(व)त्सनगमपोद्वारा रातो डाँडो दरबार निर्माण गराउनु भएको थियो । भृकुटीले ल्हासामा अर्को ऐतिहासिक जोखाङ गुम्बा पनि निर्माण गराउनु भयो । भृकुटीद्वारा निर्मित यी ऐतिहासिक सम्पदाहरुले आज चीन (सिचाङ) लाई विश्वभरि चिनाइरहेका छन् । त्यसैगरी चीनबाट विवाह गरेर ल्याएकी अर्की रानी वेनचेन कोङ्चोले विवाहको क्रममा चीनबाट पनि प्रशस्त खरखजना, गरगहना, धनदौलत, बौद्ध ग्रन्थहरु, बुद्धका प्रतिमाहरु ल्याउनु भयो । चिनियाँ राजकुमारी वेनचेन कोङचोले ल्हासामा रामोचे गुम्बा निर्माण गराउनु भयो ।
यी दुवै नेपाली र चिनियाँ रानीहरुले आ–आफ्नो देशबाट सिचाङ पुर्याउनु भएका अमूल्य, बहुमूल्य उपहारहरु आज पनि उत्तिकै महत्वपूर्ण दिर्घकालीन सिचाङी जनताको सम्पत्ति बनेर रहेका छन् । सिचाङ निर्माणको अभूतपुर्व कार्यको सफलतामा यी दुवै रानीहरु मिलेर आफ्ना राजालाई अमूल्य सरसल्लाह, सुझाव र साथसहयोग गरेर सिचाङी जनताको सुख शान्ति, सुरक्षा र समृद्धिमा महत्वपूर्ण योगदान दिएकाले भृकुटीको विवाहको प्रतापले सिचाङमा नेपाल र चीनको अभिन्न मेल भएको इतिहास साक्षी छ ।
ऐतिहासिक अर्थ–मुद्राकै चर्चा गर्दा लिच्छिवी राजा मानदेवको मानाङ्क मुद्रापछि पनि नेपालका केही शक्तिशाली शासकहरुले व्यापारिक सरलिकरणको लागि तामाका सिक्काहरु जारी गरे । ती सिक्काहरुको एउटा पाटोमा सिंह, हात्ती, साँढे र घोडा जस्ता प्रतिकहरु राखिन्थे । सिक्काको अर्कोपट्टिको पाटोमा अंशुवर्मा, जिष्णु गुप्त जस्ता राजाहरुको नाम राखिन्थ्यो । लिच्छिवी महाराजा उदयदेव र रानी भद्रावतीकी छोरी भृकुटीको विवाह सिचाङमा भएको कारणले पनि तत्कालीन लिच्छिवी शासकहरु र लिच्छिवी अर्थतन्त्रको हाँगाबिँगा दक्षिणमा भारत र उत्तरमा भोट सिचाङ, चीनसम्म फैलिएको थियो । यद्यपि सिचाङमा वस्तु विनिमय प्रणालीसंगै सून, चाँदीलाई विनिमयको माध्यमको रुपमा प्रयोग गरिन्थ्यो भने त्यसपछिको कालक्रममा चिनियाँ मुद्राहरुको पनि प्रचलन रहेको इतिहास पाइन्छ ।
राष्ट्रिय मुद्रा संग्रहालय, नेपालको अभिलेख अनुसार सिचाङमा ई.सं. १६४० को दशकदेखि नेपाली मुद्रा प्रचलनमा रहेको पाइन्छ । रणजित मल्लको समयमा निष्कासन गरी सिचाङ पठाइएका मुद्राहरु संग्रहालयमा संग्रहित छन् । सिचाङी भाषामा नेपाली मुद्रालाई “नाङटाङ” भनिन्छ । राजा जयप्रकाश मल्ल र राजा प्रतापसिंह शाहको पालामा काटिएका मोहरहरुलाई सिचाङमा “चोटाङ” (काटेको मोहर) भनिन्छ । त्यसैगरी सिचाङसंग भौगोलिक सिमाना जोडिएको तत्कालीन गोरखाका राजा राम शाह (शासनकाल वि.सं. १६६३–१६९३) ले भोट सिचाङसंग गरेको व्यापारिक सम्झौतामार्फत त्यहाँ चाँदीका नेपाली मोहरको चलनचल्ती गराए । तत्कालीन नेपालका राजा प्रताप मल्लको समयदेखि सिचाङमा नेपाली सिक्काहरु औपचारिकरुपमा चलनचल्तीमा रहेको पाइन्छ । राजा प्रताप मल्लको आदेश निर्देशमा सिचाङी राजाको अधिनमा रहेको कुती, खासा र केरुङमाथि भीम मल्लले युद्ध गरेर जितेपछि सिचाङ र नेपालीबीच सिगाच्छेमा सन्धि भयो । यसै सन्धिको एउटा धारामा “कान्तिपुरका राजाले सिचाङमा चल्ने चाँदीका सिक्का बनाउनका लागि चाहिने चाँदी सिचाङले उपलब्ध गराउने वा नेपालले दिएको चाँदीको सिक्का बापत सिचाङले सून दिने” उल्लेख छ ।
सिचाङमा सन् १७९२ देखि १८३५ सम्म चिनियाँ छियान लोङ, ताओ कुवाङ र चिया चिनको समयक्रममा सिचाङी सिक्कामा चिनियाँ प्रभाव प्रबल रह्यो । सन् १८३६ देखि १९११ सम्मको अब्धिमा सिचाङले सिक्काको उत्पदन पुनः सुरु ग¥यो । यसको डिजाइन काठमाडौंको सिक्काबाट प्रेरित थियो । सिचाङले ऐतिहासिकरुपमा चिनियाँ, नेपाली र आफ्नै पनि सिक्काहरु (तामा÷चाँदी) र बैंकनोटहरु प्रयोगगर्दै आइरहेको थियो । सन् १९५९ देखि सिचाङमा चिनियाँ रेनमिनपीले सिचाङी मुद्रालाई विस्थापित ग¥यो । त्यसो त नेपाली सिक्काको विषयलाई लिएर नेपाल र भोट सिचाङबीच युद्धहुँदा सिचाङले चीनलाई गुहार्ने, चीनले सिचाङको सुरक्षार्थ नेपालसंग प्रत्याक्रमण युद्ध समेत गर्ने गथ्र्यो । चीन–सिचाङ मुद्रा प्रचलनको हकमा पनि चीनबाट सिचाङलाई त्यसैगरी निरन्तर समर्थन प्राप्त हुन्थ्यो । अर्थात सिचाङलाई चिनियाँ मुद्रा रेनमिनपी (युआन) को गौरवमय आवश्यकता परिपूर्ति भइरहन्थ्यो । सिचाङभित्र पश्चिमा क्रिश्च्यिनिटीको दबदबा बढेको समयमा पनि चीनले सिचाङलाई सहयोग गथ्र्यो । मंगोलियाबाट सिचाङमाथि भएको दबाब र भविष्यमा हुन सक्ने त्यस्ता खतराविरुद्ध चीनले सिचाङलाई खतरामुक्त राखी ऐतिहासिक सुरक्षा र समृद्धिमा पहिलो प्राथमिकता दिँदैआएको थियो । वास्तवमा चीन र सिचाङको अभिन्न आन्तरिक सुरक्षा सम्बन्धको बारेमा आज पनि बाहिरी विश्वलाई कमै जानकारी छ । यसरी इतिहासकालदेखि नै सिचाङ स्वायत्त प्रदेश, ताइवान प्रान्त चीनका एक अभिन्न अङ्गहरु हुन् जसलाई “एक चीन नीति” भनिन्छ ।
निष्कर्ष- सँधियार शक्तिहरुलाई छिमेकहरुसंग साट्न सकिदैन । छिमेकीहरुलाई गरेजस्तो सौदाबाजी चार किल्ला जोडिएका सँधियार शक्तिहरुसंग गर्दा ज्यादै संवेदनशील र सतर्क हुनुपर्छ । उदाहरणको लागि नेपालको विदेश नीति चीनको सन्दर्भमा “एक चीन नीति” नै हो, भारतको सन्दर्भमा “अखण्ड भारत नीति” नै हो । यी नीतिहरु युगदेखि युगसम्म अटल रहनेछन् । त्यसमा पनि हाम्रो देशलाई चाहे “भूजडित” भनौं चाहे “भाईब्रेण्ट ब्रिज” भनौं, यथार्थमा हाम्रो देश नेपालभित्र करिब ६ हजारभन्दा बढी नदीनालाहरु बगिरहेको नदीजन्य स्वतन्त्र सार्वभौम भूपरिवेष्ठित राष्ट्र हो । हाम्रो देशलाई समुन्द्रले त छोएन, छोएन तर त्यही समुन्द्र बनाउने विशाल तागत हाम्रै देशबाट बगेर गएका नदीनालाहरु पनि हुन् । यो भौगोलिक यथार्थ, व्यवहारिक अवस्था–व्यवस्थालाई उचाल्दै केवल “भूराजनीतिक” हुइँया मात्रै पिटेर नानाथरीका शंका, उपशंका गरी राजनीतिक बजारलाई तताउनु उचित हुँदैन । अझै मसीनोगरी केलाउने हो भने नेपालसंग जोडिएको उत्तरी सँधियार चीनको सिचाङ पनि भूपरिवेष्ठित स्वायत्त प्रदेश हो । त्यसैगरी नेपालसंग जोडिएको दक्षिणी सँधियार भारतको पश्चिम बंगाल बाहेक उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र सिक्किम पनि भारतका भूपरिवेष्ठित प्रान्त (राज्य) हरु हुन् । यसरी हामी भूपरिवेष्ठितभित्र पनि भूपरिवेष्ठित यथार्थमाझ रहेर हामीले हाम्रा असल सँधियारद्वय चीन र भारत विशाल अर्थतन्त्र बोकेका समुद्रजडित देशहरु पाएका छौं ।
कुदरतका कानून, अन्तराष्ट्रिय कानून र मानवीय विधि–व्यवहारको आँखामा सँधियार नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रले सँधियार चीन र सँधियार भारतबाट इतिहासकालदेखि नै निर्वादरुपमा पारवहन तथा व्यापार आदानप्रदानको सुविधा हासिल गर्दैआएका छौं । यो वास्तवकि अवस्था–व्यवस्थाभित्र पनि हामी नेपाली जनताले हाम्रो देशको समग्र राष्ट्रिय हित, शान्ति, सुरक्षा र समृद्धिको लागि विश्वका सबै राष्ट्रहरुसँग इतिहासकालदेखि नै अर्को आकाशे ढोका पनि खुला गर्दैआएका छौं । सँगसँगै हामीले आफ्नो यस्तोखाले भू–धरातलीय यथार्थता र सँधियार शक्तिहरुसंगको तटस्थता, समदूरी, सन्निकट, सन्तुलित सम्बन्धलाई पनि असंलग्न गतीशिल सन्तुलनबाट अगाडि बढाउँदै आएका छौं । जाँदाजाँदै ऐतिहासिक सिक्काहरुको सम्झना, बैंकनोट, मुद्रा प्रणालीको पारस्परिक आदानप्रदान र आदेश निर्देशले वास्तवमा “चीन (सिचाङ)–नेपाल–भारत” त्रिदेशीय त्रिपक्षीय “चिनी–नेपाली–हिन्दी” भाई भाईको निरन्तर अविराम सम्बन्धले कहिल्यै पूर्णविराम लिने छैन । (लेखक त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र विषयअन्तर्गत ‘नेपाल–चीन राजनीतिक आर्थक सम्बन्ध’ मा विद्यावारिधी शोधकर्ता हुन् ।)
प्रतिक्रिया