काठमाडौं - नेताहरु कहिल्यै सुध्रने भएनन् भन्ने एउटा भाष्य नेपाली समाजमा गहीरोस“ग गडेको देखिन्छ । पुराना दलका नेताहरुको यही प्रवृत्तिले नै आज संसदमा नया“ अनुहारको बर्चस्व रहेको कुरालाई इन्कार गर्न सकिदैन । त्यसका कारणहरु अरु पनि थुप्रै होलान् तर यो मुख्य कारण हो जस्तो लाग्छ । नयाँलाई मौका दिनुपर्छ भन्ने आम नागरिकको चाहना हो । त्यो दलभित्रैको पनि चाहना हो । तर दलका कार्यकर्ता नेतृत्वबाट दबाइएका छन् । दब्न नचाहनेहरु आफै दलबाट निस्केका छन् या निकालिएका छन् ।
यो रोग सबै दलमा छ । तर मूल रुपमा कम्युनिष्ट पार्टीहरुमा देखिन्छ । जस्तो कि मसालका महामन्त्री मोहनबिक्रम सिंह, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी., एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड आदि । फागुन २१ मा भएको निर्वाचनबाट नेपालका कम्युनिष्ट पार्टीहरुको जनमत निकै खस्किएको छ । तर पनि उनीहरुमा सुधारको कुनै लक्षण देखिंदैन । निर्वाचनबाट जम्मा १७ सिट पाएको प्रचण्ड नेतृत्वको पार्टी नेकपाको संसदीय दलको नेतामा फेरि प्रचण्ड नै चुनिएका छन् । उनी यस अघि २०६४ देखि नै दलको नेता रह“दै आएका थिए । तर त्यतिबेला परिस्थिति फरक थियो । पहिलो संविधानसभामा माओवादी २३८ सिटकासाथ संसदमा सबभन्दा ठूलो दलको रुपमा आएको थियो । उतिबेला प्रचण्ड र माओवादीको रापताप अहिलेको घण्टी पार्टीको जस्तै थियो । २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीको अवस्था निकै तल झर्यो । संसदमा तेस्रो शक्तिको रुपमा रह्यो । प्रचण्ड नै दलको नेता भए । २०७९मा पनि उनै भए । त्यो बेला माओवादीको सिट संख्या कम भए पनि निर्णायक भूमिका थियो । ३२ सिटका साथ उनी दल नेता थिए । जसलाई उनले ‘म्याजिक’ नम्बर भन्ने गरेका थिए । माओवादी जता मिल्छ उतै बहुमत पुग्ने अवस्था थियो । यसकै बलमा कहिले कांग्रेस त कहिले एमालेलाई समर्थन गरेर उनी प्रधानमन्त्री भैरहे । तर २०७९ असारमा एमाले –कांग्रेस दुवैले प्रचण्डको ‘म्याजिक’ नम्बरलाई नाकाम बनाइदिए । उनीहरु दुवै मिलेर सरकार बनाए ।
आजको राजनीतिक अवस्था नितान्त फरक छ । रास्वपाको झण्डै दुई तिहाइ बहुमत छ । उनीहरुलाई सरकार चलाउन कसैको समर्थन चाहिंदैन । यस्तो बेलामा त प्रचण्डले पार्टीका अरु कुनै नेतालाई अवसर दिन्छन् होला भन्ने अपेक्षा गरिएको थियो । नेकपा संसदमा चौथो स्थानमा रहेको छ । उनी प्रमुख प्रतिपक्षको हैसियतमा भएको भए त दलको नेता बन्नु पनि स्वभाविक नै थियो । प्रमुख प्रतिपक्षी दलको नेताको संवैधानिक परिषद लगायतमा उपपस्थिति हुने गर्दछ । तर अहिलेको अवस्थामा चौथो दलको नेतालाई त्यस्तो कुनै अवसर छैन । तर पनि प्रचण्डमा किन यस्तो लोभ पलाएको होला भन्ने जिज्ञासा दलका अन्य नेताहरुमा नै रहेको देखिन्छ । नेकपाका एक जिम्मेवार नेताले आजको अर्थसित नाम उल्लेख नगर्ने सर्तमा भने , ‘ अध्यक्षले सुरमा त म अब दलको नेता बन्दैन । अरु कमरेडहरु नै बन्नुहुन्छ । म २३८ को नेता भएको अहिले १७ जनाको नेता कहाँ बन्छु ? तर अहिले कुन्नी के लोभ जाग्यो । आफै नेता हुनुभयो । अरु साथीहरुलाई अवसर दिएको भए अध्यक्षको पनि उचाई बढ्ने थियो । ’
प्रतिक्रिया