नेपालमा दलित समुदायमाथि भएको ऐतिहासिक विभेद केवल सामाजिक व्यवहारको समस्या होइन, यो राज्य संरचनासँग गाँसिएको गहिरो अन्याय हो । पछिल्लो समय रवि लामिछाने ले संसद भवनबाट दलित समुदायप्रति माफी मागेको विषय चर्चामा छ । तर त्यो माफी पार्टीको तर्फबाट आएको हो, राज्यको तर्फबाट होइन। यहीँबाट मूल प्रश्न उठ्छ—के एउटा नेताको अभिव्यक्तिले सदियौँको अन्याय अन्त्य गर्न सक्छ ?
वास्तवमा, दलित समुदायमाथि भएको विभेद कुनै एक व्यक्तिको शब्दले टुंगिने विषय होइन । यो राज्यले औपचारिक रूपमा स्वीकार गर्नुपर्ने ऐतिहासिक अन्याय हो । राज्यकै संरचनाले लामो समयसम्म विभेदलाई सहने वा मौन समर्थन गर्ने काम गरेको थियो । त्यसैले यसको समाधान पनि राज्यकै तहबाट आउनुपर्छ । त्यसकारण, केवल राजनीतिक भाषण वा सहानुभूति व्यक्त गर्नु पर्याप्त हुँदैन—यसलाई कानुनी रूपमा सम्बोधन गर्नुपर्छ ।
आजको सन्दर्भमा, जब नेपाल सरकार दुई तिहाइ नजिकको शक्तिशाली अवस्थामा छ, तब जिम्मेवारी अझ बढेको छ । प्रधानमन्त्री स्वयंले राज्यको तर्फबाट औपचारिक माफी माग्नु आवश्यक छ । तर त्यो माफी पनि केवल औपचारिकतामा सीमित हुनु हुँदैन । माफीसँगै ठोस नीतिगत निर्णय र कानुनी सुनिश्चितता हुनुपर्छ, जसले दलित समुदायलाई न्याय र अवसर दुवै दिलाउन सकोस् ।
क्षतिपूर्तिको प्रश्न यहाँ मुख्य बन्छ । दलित समुदायलाई केवल ‘समान अवसर’ भन्ने सामान्य नारा पर्याप्त हुँदैन । किनकि, उनीहरू इतिहासकालदेखि पछाडि पारिएका छन् । त्यसैले जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नु अनिवार्य छ । प्रस्तावित रूपमा कम्तीमा १५ वर्षका लागि १४ प्रतिशत अतिरिक्त विशेष अधिकारको व्यवस्था गर्नु न्यायको दिशामा एउटा ठोस कदम हुन सक्छ । यस्तो व्यवस्था शिक्षा, रोजगारी, राजनीतिक प्रतिनिधित्व र राज्यका विभिन्न निकायमा लागू गरिनुपर्छ ।
सबैभन्दा पहिल आवासको समस्या समाधान गर्न सरकारले विशेष व्यवस्था गर्नुपर्छ । आज पनि धेरै दलित नागरिकलाई जातकै आधारमा कोठा नदिने अवस्था छ । यसका लागि सरकारले “भेदभावविरुद्ध कडा कार्यान्वयन” गर्नुपर्छ र पीडितलाई कानुनी संरक्षणसँगै क्षतिपूर्ति दिनुपर्छ । साथै, सहुलियत दरमा आवास योजना र सहकारीमार्फत घर बनाउने कार्यक्रम ल्याउन सकिन्छ ।
रोजगारको सवाल अत्यन्त गम्भीर छ । दलित समुदायलाई काम नदिने, वा कम ज्यालामा काम गराउने प्रवृत्ति अझै छ। सरकारले सरकारी तथा निजी क्षेत्रमा आरक्षणको कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । साथै, सीपमूलक तालिम, उद्यमशीलताको लागि बिना धितो ऋण, र साना व्यवसाय सुरु गर्न अनुदान उपलब्ध गराउनु पर्छ । सरकारी
तथा निजी क्षेत्रमा समान अवसर र आरक्षणको कडाइका साथ कार्यान्वयन हुनुपर्छ । यसले आर्थिक रूपमा आत्मनिर्भर बनाउनेछ ।
शिक्षा र क्षमता विकास मा विशेष ध्यान दिनुपर्छ । दलित विद्यार्थीहरूका लागि निःशुल्क शिक्षा, छात्रवृत्ति, होस्टेल सुविधा, र प्राविधिक शिक्षामा पहुँच बढाउनु आवश्यक छ । शिक्षाबाटै दीर्घकालीन परिवर्तन सम्भव हुन्छ ।छुवाछुत, हिंसा वा अपमानका पीडितलाई तुरुन्त आर्थिक सहयोग, कानुनी सहायता, र पुनस्र्थापना दिनु पर्छ । केवल मुद्दा दर्ता गरेर छोड्नु पर्याप्त हुँदैन—न्याय महसुस हुने गरी सहयोग हुनुपर्छ । सामाजिक सचेतना र कानुनी कार्यान्वयन दुवै सँगै जानुपर्छ । कानुन बनिसकेको छ, तर कार्यान्वयन कमजोर छ । पानीको धारा, मन्दिर प्रवेश, शिक्षालय, जस्ता आधारभूत क्षेत्रमा समेत उनीहरूलाई समान व्यवहार गरिएको पाइँदैन । दोषीलाई कडा कारबाही र समाजमा व्यापक जनचेतना अभियान आवश्यक छ, ताकि व्यवहारमै परिवर्तन आउन सकोस् ।
यसका साथै, आज पनि दलित समुदायले कोठा भाडामा नपाउने, रोजगारी नपाउने, र आफ्ना परम्परागत सीप जोगाउन कठिनाइ भोग्ने यथार्थ अन्त्य गर्न राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ । सीप संरक्षण, बजार पहुँच, र आर्थिक सशक्तिकरणका योजनाहरू अनिवार्य रूपमा लागू गरिनुपर्छ । “सीपलाई सम्मान” गर्ने नीति आवश्यक छ ।
यदि यी विषयहरूलाई गम्भीरतापूर्वक सम्बोधन गरिएन भने, नेताहरूका भाषण केवल मिडिया ट्रायल वा प्रोपगाण्डामा सीमित हुने खतरा रहन्छ । यस्तो अवस्थामा माफीको मूल्य घट्छ र उल्टै दलित समुदायमाथि अपमान थपिन्छ । समाजमा वास्तविक परिवर्तन ल्याउनका लागि शब्दभन्दा बढी काम आवश्यक हुन्छ ।
न्याय, समानता र राज्यको जिम्मेवारीसँग जोडिएको छ । दलित समुदायले भोग्दै आएको विभेद केवल इतिहास होइन—आज पनि कोठा भाडामा नपाउने, रोजगारी नपाउने, परम्परागत सीप हराउँदै जाने जस्ता समस्या जिउँदो यथार्थ हुन् । यस्तो अवस्थामा “माफी” मात्रै पर्याप्त हुँदैन; राज्यले स्पष्ट रूपमा क्षतिपूर्ति र संरचनात्मक सुधारका कार्यक्रम लागू गर्नुपर्छ ।
माफी माग्नु सकारात्मक संकेत अवश्य हो । यसले राज्यले आफ्ना कमजोरीहरू स्वीकार गरेको देखाउँछ । तर माफी शब्दमा सीमित भयो भने यसको अर्थ गुम्छ । दलित समुदायले भोगेको पीडा केवल भावनात्मक होइन—यो सामाजिक, आर्थिक र शैक्षिक रूपमा गहिरो असर पार्ने खालको छ । त्यसैले “अब छुवाछुत हुँदैन” भनेर घोषणा गर्नु मात्र पर्याप्त हुँदैन, व्यवहारमा परिवर्तन देखिनु आवश्यक छ ।
अन्ततः, सरकारको माफी केवल सुरुवात मात्र हो, समाधान होइन । वास्तविक परिवर्तन तब मात्र सम्भव हुन्छ जब राज्यले नीतिगत सुधार, प्रभावकारी कार्यान्वयन र पीडित समुदायलाई न्याय दिने ठोस कदम चाल्छ । दलित समुदायलाई सम्मान, समानता र अवसर दिनु केवल दायित्व मात्र होइन—यो समृद्ध र न्यायपूर्ण नेपालको आधार पनि हो । जबसम्म दैनिक जीवनका समस्या—कोठा, काम, सम्मान—समाधान हुँदैनन्, तबसम्म माफी केवल शब्दमै सीमित हुन्छ ।
प्रतिक्रिया