काठमाडौँ - खाद्यान्न, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यासलगायत सबैको मूल्य बढेपछि उपभोक्ता मर्कामा छन् । उनीहरू बढिरहेको खाद्यान्नको मूल्यदेखि आजित छन् । दालचामल र तेलको मूल्य किन्न गएपिच्छे बढेको र यही बेला कोठा भाडासमेत बढेपछि सर्वसाधारण दिग्दार छन् ।
बजारमा चिनीदेखि लिएर सबैको मूल्य बढेको छ । रासनको मूल्य बढिरहेकाले घर कसरी चलाउने भन्ने पीरमा गृहिणीहरु छन् । सबै कुरा एकैचोटि बढेको छ । छोइखानु केही भएन, कसरी घर चलाउने हो भन्ने पीर परेको छ । मानिसलाई दैनिक जीवनमा जे चिज धेर चाहिन्छ त्यसैको भाउ बढेको छ । आज किन्न जाँदा एउटा मूल्य छ भोलि किन्न जाँदा अर्कै मूल्य हुन्छ । तेल, दाल, ग्यास, चिनी जस्ता सामानको मूल्य बढेको बढ्रयै छ । यसरी नै सामानको मूल्य बढिरहने तर तलब नबढ्ने हो भने काम गरेर खाने श्रमजीवी र सर्वसाधारणको अवस्था बेहाल हुने देखिन्छ ।
१४ वर्षदेखि काठमाडौंस्थित रानीवनमा सञ्चालित बज्र स्टोरकी सञ्चालक यशोदा गुरुङ पनि महँगीले आकाश छोएको दाबी गर्छिन् । हरेक दिन खाद्य सामग्री किन्न आउने ग्राहकले खाद्यान्नको मूल्य धेरै बढेको भन्दै गुनासो गर्ने गरेको उनले सुनाइन् । ‘दसैंअगाडिसम्म हामीले नै खाने तेलको मूल्य प्रतिकार्टुन २ हजार १ सयमा रुपैयाँमा बेचेका थियौं । अहिले २ हजार ९ सय पुगेको छ,’ उनले भनिन्, ‘हरेक सामानको मूल्य बढेको छ । मूल्य बढिरहँदा ग्राहकलाई बेच्न पनि गाह्रो भइसक्यो ।’ पश्चिम एसियामा जारी युद्धका कारण मूल्य बढेको भनेर आफूहरूलाई सुनाउने र ग्राहकलाई पनि त्यही भन्ने गरेको उनले जनाइन् ।
खाद्य सामग्रीको मूल्यमा वृद्धि भए जसरी तरकारीहरूको भाउ पनि अकासिएको छ । १५ फागुनको तुलनामा १५ चैतमा तरकारीको पनि मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाउँछ ।माघमा प्रतिकिलो ५ सय २० रुपैयाँ रहेको जिरा फागुनयता ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । संघका अनुसार पुसमा भटमासको तेलको मूल्य प्रतिलिटर २ सय ४५ रुपैयाँ थियो । माघ र फागुनमा मूल्य नै तोकिएको थिएन । तर १५ चैतमा आइपुग्दा २ सय ९० रुपैयाँ पुगेको संघले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले पनि खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत पुगेको देखाएको छ । २०८१ फागुनमा महँगी दर ३.३४ प्रतिशत थियो । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । २०८१ फागुनको तुलनामा भने मूल्य घटेको हो । २०८१ फागुनमा ३.९७ प्रतिशत थियो । मासिक रूपमा हेर्दा महँगी दर बढेको केही विन्दुले बढेको देखिए पनि औसतमा घटेको देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा औसत मुद्रास्फीति २.१३ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.७२ प्रतिशत थियो ।
सर्वसाधारणहरुको गुनासो छ, एउटा वस्तुको मात्र भाउ बढेको भए पो काठमाडौं बस्न सजिलो हुन्थ्यो । पेट्रोलदेखि रासनसम्मको मूल्य बढेको छ, कोठा भाडा पनि त्यही अनुपातमा बढिरहन्छ । यस्तो अवस्थामा दैनिक दुखजीलो गरेर गुजारा गर्नेहरु सबैभन्दा पीडित छन् । पहिले जस्तो भए यतिबेला सडकमा बिरोध प्रदशैन भैसकेको हुन्थ्यो भने सामाजिक सञ्जाल पनि बिरोधको आवाजले भरिइसकेको हुन्थ्यो । तर अहिले नेपाली समाज र सामाजिक सञ्जाल प्रयोगकर्ताहरु केही नभए जस्तो शान्त छन् । हुन त यतिबेला सडक तताउने र सामाजिक सञ्जाल संगाउनेहरु धेरैजसो संसद र सरकारमा छन् । तिनलाई भोट हाल्नेहरु पनि आफ्नै ‘भगवानहरु’ बिरुद्ध बोल्न सकिरहेका छैनन् । बाँकी दलहरु कोमामा छन् । समाजमा मुर्दा शान्ति छ ।
प्रतिक्रिया