काठमाडौं - अहिलेको सरकार इतिहासमै स्थिर शासनका लागि अनुपम नमुना बनेको छ । यो सरकारको निर्माणको कथा व्यथा एकदमै फरक खालको छ । बिगत ३५ वर्षदेखि शासन चलाएका पुराना दलहरुले मुलुकलाई नयाँ गन्तव्यमा लैजान सकेनन् भन्ने बेजोड भाष्य तयार भयो । जस्तो कि देशलाई वैदेशिक ऋणमा डुबाएको, यसुवालाइ देश छोड्न बाध्य पारेको, आफ्नालाई काखा र अरुलाई पाखा गरेको, भ्रष्टाचारको ग्राफ निकै बढेको आदि । तर अहिले आफैले लगाएका आरोपहरु सरकारतिरै फर्कने अवस्था बनेको छ । पुराना दलले ३५ वर्षमा लिएको ऋण नयाँ सरकारले पाँचै दिनमा ल्यायो । आखिर नयाँ बोतलमा पुरानै रक्सी । अभागी नेपाली जनतालाई जुन जोगी आए पनि कानै चिरेको । इतिहासमै स्थिर र बलियो सरकार भएको बेला पनि देशको पुँजी बजारले भने यो सरकारलाई पत्याएको देखिएन । देशको पुँजी बजार भनेको पनि एक प्रकारले खुला रूपको जनमत नै हो भन्ने विज्ञहरू बताउँछन् ।
निर्वाचन सम्पन्न भएर सरकार गठन हुनुअघिसम्म केही घटबढबाहेक यो बजार खुसी नै थियो । जब सरकारले कतिपय अवस्थामा प्रतिशोध देखिने खालका गतिविधि सुरुभएको ठानियो त्यसपछि यो निरन्तर ओरालोमा गइरहेको छ । त्यसकारण यो अवस्थालाई कुनै मन्त्री वा प्रधानमन्त्रीको कुरासंगमात्र जोड्न नमिल्ने भनिएको हुनुपर्छ । जुन बेला सरकारले आफ्नो गति समात्यो सेयर बजार त्यसैबेलादेखि लगातारको ओरालो यात्रामा आएको थियो । यो साताको पहिलो दिन त विगतमा कहिल्यै नदेखिएको अवस्था प्रकट भयो । सेयर बजार परिसूचक नेप्से यस दिन एक सय पाँच दशमलव ५० अंकले ओरालो लागेर २६ सय ७६ दशमलव ६८ विन्दुमा खुम्चिएको अवस्था प्रकट भयो । यसको अर्को दुःखद्पक्ष भनेको ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आजसम्म विरलैमात्र देखिएको अवस्थामा ओरालो लाग्यो, जो १५ दशमलव ६२ अंकले झरेर चार सय ५७ दशमलव ६१ विन्दुमा आयो । पुँजी बजारका लागि यी धेरै नै संवेदनशील विषय मानिन्छन् र समग्र रूपमा सरकालाई विश्वास गर्न नसकेको यो क्षेत्रको जनमत मानिन्छ । यस दिन तीन सय ४५ वटा कम्पनीहरूको एक लाख ४१ हजार ३६ पटकको कारोबारमा तीन करोड १२ लाख छ हजार एक सय ६२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम १२ अर्ब ३८ करोड नौ लाख १४ हजार पाँच सय ७० रुपैयाँ कायम भएको देखियो ।
परिवर्तनको नारा दिएर आएको सरकारले मुलुकको बागडोर स्रम्हालेको बेला पनि पूँजी बजार किन स्थिर र पल्लवित हुन सकेन ? किन मानिसहरु आशावादी बन्न सकेनन् ? यो सामान्य विषय होइन । अहिले कारोबार भएको रकमको अंक पनि निकै सानो हो, जसले बजार व्यापक रूपले त्रसित भएको बुझाउँछ । जस्तो १३ वटा उपसमूहहरूको सेयर कारोबार हुँदा सबभन्दा बढी अंकमा रहेका वाणिज्य बैंक उपसमूहको सूचक ४८ दशमलव ३६ अंकले घट्यो । यो कुनै एउटा उपसमूहको सूचकमात्र होइन । सबै उपसमूहका सूचकहरूको अवस्था यस्तै देखिएका छन् । यो भनेको पुँजी बजार त्रसित भएको अवस्था नै हो । यो हप्ता सरकारद्वारा उद्योगी व्यवसायीको धरपकड र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जसरी व्यापक पारियो जसका कारण लगानीकर्ता मनोवैज्ञानिक रूपले त्रसित भए । त्यसमाथि कतिपय अवस्थामा सरकाले आफ्नो छनौटमा परेका माथि अनावश्यक शक्ति लगाएको भन्ने दबाब पनि परकोहुनुपर्छ । नेप्से परिसूचक एक सातामै झन्डै ३ सय अंकले घट्नु र पुँजी बजार झण्डै पाँच खर्बले खुम्चिएको अवस्था सामान्य होइन । यो बजारमा निर्वाचनका बेला प्रकट भएको उत्साहलाई कायम राख्न सकिएन, जसले सरकारप्रतिको विश्वासको परीक्षा हुन्छ । सरकार आफैँले यसका कारणहरू खोजेर अबका दिन यसको हैसियतअनुसार पुँजी विश्वास कायम हुने वातावरण बनाइयोस् ।
मुलुकले विज्ञ र क्षमतावान अर्थमन्त्री पाएको छ । अर्थमन्त्रीले मुलुकको अर्थतन्त्र उकास्न आफ्नो क्षमताको भरपुर उपयोग गर्न सकून् । जनताले भोटमार्फत् व्यक्त गरेको मनोकांक्षालाईमूर्तरुप दिन सरकारलाई सफलता प्राप्त होस् ।
प्रतिक्रिया