काठमाडौँ - विद्वान अर्थशास्त्रीको रुपमा चिनिएका अर्थमन्त्री स्वर्णिम वाग्लेबाट अर्थतन्त्रले सकारात्मक छलाङ्ग मार्ने अपेक्षा गरिएको थियो । राष्ट्रिय / अन्तराष्ट्रिय क्षेत्रमा उनले गरेको कामको अनुभवको प्रतिवम्ब बजेटमा देखिने सरोकारवालाहरुको आशा रहनु स्वभाविक नै थियो । तर सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि घोषणा गरेको बजेटमा त्यस्तो ठूलो चमत्कार केही देखिएको छैन । जस्तो कि बजेट घोषणा गरेपछिको साप्ताहिक सेयर बजारमा उत्साह देखिएन । यस अवधिमा नेप्से परिसूचकसँगै कारोबार रकम र कारोबार संख्यामा पनि कमी आउनुले सेयर बजारमा लगानीकर्ताको उत्साह नदेखिएको देखिन्छ । यसअनुसार गत साता समग्र नेप्से साढे २६ अंकले घटेको छ ।
सातामा नेप्से तीन दिन बढेको छ भने दुई दिन घटेको छ । तीन दिनमा नेप्से ५१.५५ अंकले बढ्यो भने दुई दिनमा २४.८७ अंकले घट्यो । साप्ताहिक कारोबारमा भने नेप्से २६.६९ अंकले घटेको तथ्यांक छ ।
दुईतिहाइ निकट बहुमतको सरकार, नागरिकको ठूलो अपेक्षामा नेप्सेमा आएको गिरावटले सम्बद्ध क्षेत्रमा निराशा छाएको छ । आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेपछिको पहिलो साता सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजेटमार्फत सरकारले सेयर बजारमा लाग्दै आएको पुँजीगत लाभकर नै अन्तिम भएको घोषणा गरेको छ । यससँगै लाभकर अन्तिम हुने / नहुने भन्ने लामो समयदेखिको विवाद टुंगिए पनि सेयर बजार बढ्न सकेन । लगानीकर्ताको गिरेको मनोबल उकास्ने काम बजेटले पनि गर्न नसकेको र पुँजीगत लाभकरको दर पनि बढाइएकोले सेयर बजारको अवस्था खस्किन पुगेको हो ।
बजेटमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालको कुनै कार्यक्रम नआएको र लगानीकर्तामा बजेट आउनुअघिकै त्रास कायम रहँदा उनीहरू उत्साहित नदेखिएको बताइउको छ । बजेटमा पुँजीगत लाभकरलाई नै अन्तिम कर भनेर प्रस्ट्याइएको छ । तर लगानीकर्ताका लागि करभन्दा ठूलो मनोबल हो, । मनोबल उच्च भएका बेला करको दर धेरै भए पनि फरक पर्दैन । अहिले मनोबल बढ्न नसकेकाले सेयर बजार घटेको चर्चा छ । बजारको घटबढ सामान्य भएको र आज घटेको बजार भोलि बढ्न पनि सक्छ । तर अहिलेको अवस्थामा सेयर बजार दिगो रूपमा बढ्ने सम्भावना कमजोर देखिन्छ ।
प्रतिक्रिया