काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालमा ४७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४७ अर्ब ६१ करोड ६९ लाख ४६ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो।
विभागका अनुसार यस अवधिमा अटोमेटिक रुटमार्फत ७ अर्ब ७१ करोड रुपैयाँ तथा अप्रुभल रुटमार्फत ३९ अर्ब ९० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। कुल ९१४ कम्पनीमार्फत लगानी प्रतिबद्धता आएकोमा २०३ कम्पनी अप्रुभल रुट र ७११ कम्पनी अटोमेटिक रुटबाट दर्ता भएका छन्।
जेठ महिनामा मात्रै २ अर्ब २९ करोड ५३ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ। सो अवधिमा १८६ वटा परियोजना स्वीकृत भएका छन्, जसमध्ये १८३ साना तथा ३ मध्यमस्तरका उद्योग छन्। ठूला उद्योग भने जेठमा कुनै पनि स्वीकृत भएका छैनन्।
विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा स्वीकृत भएका ९१४ परियोजनाबाट २५ हजार ४५० जनाले रोजगारी पाउने अनुमान गरिएको छ। जेठमा स्वीकृत परियोजनाबाट मात्रै १ हजार २२१ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ।
क्षेत्रगत रूपमा हेर्दा कृषि तथा वनजन्य क्षेत्र वैदेशिक लगानीकर्ताको पहिलो रोजाइ बनेको छ। यस क्षेत्रमा २२ अर्ब ८ करोड रुपैयाँ अर्थात् कुल लगानीको ४६ प्रतिशत हिस्सा स्वीकृत भएको छ। परियोजनाको संख्याका आधारमा भने सूचना प्रविधि क्षेत्र अग्रस्थानमा रहेको छ, जहाँ ५७७ उद्योग दर्ता भएका छन्।
त्यसैगरी पर्यटन क्षेत्रमा १२ अर्ब ९९ करोड, सेवा क्षेत्रमा ४ अर्ब ५९ करोड, उत्पादनमूलक क्षेत्रमा ३ अर्ब ५७ करोड, सूचना प्रविधिमा २ अर्ब ३६ करोड, पूर्वाधार क्षेत्रमा १ अर्ब ६५ करोड, ऊर्जा क्षेत्रमा २३ करोड ४२ लाख र खनिज क्षेत्रमा ११ करोड ५० लाख रुपैयाँ लगानी स्वीकृत भएको विभागले जनाएको छ।
विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षभर वैदेशिक लगानीको प्रवाहमा उतारचढाव देखिएको छ। साउन महिनामा वर्षकै उच्च करिब २४ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको थियो। त्यसपछि भदौमा लगानी घटेर करिब ९ अर्ब रुपैयाँमा सीमित भएको थियो भने असोजदेखि माघसम्म लगानी अपेक्षाकृत सुस्त देखिएको थियो।
उद्योग विभागका अनुसार हालसम्म कुल ५ हजार २४८ उद्योग दर्ताका लागि ६ खर्ब ६० अर्ब ४३ करोड ८९ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भइसकेको छ।
प्रतिक्रिया