एमसीसी परियोजना अन्तर्गत ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न

आइतबार, २८ भदौ २०८३, १६ : ४५

काठमाडौं– नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले उक्त प्रसारण लाइन तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न गरेको जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुरोधपछि निर्माण कार्यलाई तीव्रता दिइएको थियो।

न्यू बुटवल सबस्टेसनमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधार विस्तार र सीमापार ऊर्जा सञ्जाल निर्माणका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले एमसीसी नेपाल कम्प्याक्टमार्फत सहयोग गरेकोमा अमेरिकी सरकारप्रति आभार व्यक्त गरे।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेल र नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जलविद्युत् उत्पादन बढिरहेको अवस्थामा नयाँ प्रसारण पूर्वाधारले भारतसँगको विद्युत् सञ्जाल थप सुदृढ बनाउने र क्षेत्रीय विद्युत् व्यापार विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

एमसीसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्को र एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले स्थानीय समुदाय, निर्माण व्यवसायी तथा सरकारी निकायबीचको समन्वयका कारण निर्माण कार्य समयमै सम्पन्न गर्न सम्भव भएको बताए।

नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भए पनि तत्काल विद्युत् प्रवाह भने सुरु हुने छैन। सीमापार विद्युत् प्रसारणका लागि आवश्यक कानुनी स्वीकृति तथा अन्य प्राविधिक प्रक्रिया पूरा भएपछि मात्रै उक्त लाइन सञ्चालनमा आउनेछ।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत कुल ३१५ किलोमिटर लामो उच्च भोल्टेज प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण गर्ने लक्ष्य छ। आयोजनाले नेपालको विद्युत् आपूर्ति तथा प्रसारण प्रणालीलाई थप विश्वसनीय बनाउनुका साथै भारतसँग विद्युत् व्यापारका लागि आवश्यक पूर्वाधार तयार पार्ने अपेक्षा गरिएको छ।

आइतबार, २८ भदौ २०८३, १६ : ४५

प्रतिक्रिया