काठमाडौं- लगातार सात कारोबार दिनसम्म ओरालो लागेको नेपाली सेयर बजारले बुधबार उल्लेख्य पुनरागमन गरेको छ। बजारमा खरिदकर्ता सक्रिय बन्दा नेप्से परिसूचक ४४.५९ अंक अर्थात् १.७० प्रतिशतले बढेर २,६५२.९३ विन्दुमा पुगेको हो।
अघिल्लो दिन ३ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८६ करोडको भयो । बजारमा लगानीकर्ताको उत्साह फर्किएसँगै अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। आज ३६२ कम्पनीमध्ये २५२ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको मात्रै घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
बजारको समग्र सुधारसँगै सेन्सेटिभ इन्डेक्स पनि ५.७७ अंकले उकालो लाग्दै ४५८.५७ विन्दुमा पुगेको छ। अझ उल्लेखनीय पक्ष के भने, कारोबारमा रहेका सबै १३ उपसूचक हरियो बनेका छन्, जसले बजारमा व्यापक सुधार देखिएको संकेत गरेको छ।
कारोबार रकम पनि उल्लेख्य रह्यो। बुधबार ३६२ कम्पनीका ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर ५६ हजार ८५० पटक किनबेच हुँदा कुल ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसले बजारमा लगानीकर्ताको उत्साह थप बलियो बनेको संकेत दिएको छ।
प्रतिक्रिया