मौद्रिक नीति सकारात्मक, वित्तीय प्रणालीलाई बलियो बनाउने विश्वास : सिबिफिन

विहीबार, २५ असार २०८३, १६ : ५८

काठमाडौं- बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई स्वागत गर्दै यसले वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको जनाएको छ।

सिबिफिनले मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशामा सन्तुलित कार्यदिशा अवलम्बन गरेको उल्लेख गरेको छ। विगतको परम्परागत ढाँचाभन्दा फरक ढंगले ल्याइएका व्यवस्थाले बैंकिङ क्षेत्र र निजी क्षेत्रको मनोबल बढाउने विश्वास पनि परिसंघले व्यक्त गरेको छ।

परिसंघले रुग्ण उद्योगमा रहेको निष्क्रिय कर्जाको व्यवस्थापन, दबाबमा रहेका कर्जाको पुनरुत्थान, नीतिगत दर, स्थायी निक्षेप सुविधा दर, बैंक दर, नगद मौज्दात अनुपात (सीआरआर), वैधानिक तरलता अनुपात (एसएलआर) तथा स्थायी तरलता सुविधा यथावत् राख्ने निर्णयलाई सकारात्मक कदमका रूपमा व्याख्या गरेको छ।

त्यस्तै बैंकका शाखा खोल्ने तथा बन्द गर्ने प्रक्रियालाई लचिलो बनाउने, बैंकिङ सेवाको डिजिटलाइजेसनमार्फत सञ्चालन खर्च घटाउने, विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न वाणिज्य बैंकलाई प्रोत्साहन गर्ने तथा विदेशी मुद्रा खरिदका क्रममा स्टेरिलाइज्ड इन्टरभेन्सन गर्ने व्यवस्थालाई पनि दूरदर्शी नीति भएको सिबिफिनको धारणा छ।

यद्यपि परिसंघले मौद्रिक नीति निर्माणका क्रममा आफूले दिएका केही महत्त्वपूर्ण सुझाव भने तत्काल सम्बोधन नभएको जनाएको छ। जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था, सुरक्षित कर्जामा कुल जोखिमका आधारमा नोक्सानी प्रबन्ध, पूँजीकोष पर्याप्ततासम्बन्धी सहजीकरण तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विवेकशील नियमन सुधारका विषय आगामी एकीकृत निर्देशनमार्फत समेटिने अपेक्षा सिबिफिनले गरेको छ।

नेपालको वर्तमान आर्थिक अवस्था, बैंकिङ क्षेत्रमा बढ्दो पूँजीगत दबाब, निष्क्रिय कर्जा व्यवस्थापन तथा निजी क्षेत्रतर्फ कर्जा प्रवाह विस्तारका लागि आफ्ना सुझाव उपयोगी हुने विश्वास व्यक्त गर्दै सिबिफिनले राष्ट्र बैंकले आवश्यक अध्ययनपछि ती विषय कार्यान्वयनमा ल्याउने अपेक्षा गरेको छ।

साथै, मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनमार्फत वित्तीय स्थायित्व कायम राख्न, बैंकिङ प्रणालीलाई अझ सबल, प्रतिस्पर्धी र सक्षम बनाउन तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग निरन्तर संवाद, सहकार्य र रचनात्मक सुझाव प्रदान गर्न सिबिफिन प्रतिबद्ध रहेको जनाएको छ।

विहीबार, २५ असार २०८३, १६ : ५८

प्रतिक्रिया