राजश्व संकलनमा सुधार

विहीबार, ३२ असार २०८३, १२ : ५०

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन मात्रै बाँकी रहँदा सरकारले कुल १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजस्व उठाएको छ । यो कुल लक्ष्यको करिब ८३ प्रतिशत हो । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असार ३१ गतेसम्ममा सरकारले कुल १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजस्व उठाएको हो । यो संकलन सरकारले चालु वर्षका लागि तय गरेको कुल १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक लक्ष्यको ८२.७६ प्रतिशत हुन आउँछ ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्ष २०८१र८२ को असार ३१ गतेसम्म सरकारले ११ खर्ब ४० अर्ब ३६ करोड ६१ लाख रुपैयाँ मात्र राजश्व संकलन गर्न सकेको थियो । त्यसैले विगतको तुलनामा यस वर्ष राजश्व संकलनमा सुधार देखिएको छ । यस हिसाबले गत वर्षको सोही अवधिको तुलनामा यसपालि राजस्व संकलन ७.४० प्रतिशत अर्थात ८४ अर्ब ४४ करोड २९ लाख रुपैयाँले वृद्धि भएको नियन्त्रक कार्यालयले जनाएको छ ।

 बुधबारसम्म ११ खर्ब ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ कर राजस्व संकलन भएको छ । जुन लक्ष्यको ८३.४३ प्रतिशत हो । त्यस्तै गैरकर राजस्वतर्फ १ खर्ब १८ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ । यो कुल गैरकर राजस्व लक्ष्यको ७६.९९ प्रतिशत हो । गत वर्षको तुलनामा यस वर्ष कर राजस्व ७.३४ प्रतिशत र गैरकर राजस्व ८.०२ प्रतिशतले बढेको देखिन्छ ।

 अनुदान प्राप्तिको अवस्थामा पनि यस वर्ष उल्लेख्य सुधार आएको छ । चालु वर्षमा सरकारले कुल ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असार ३१ गतेसम्म ५८.५ प्रतिशत अर्थात् ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ प्राप्त भएको छ । यो गत वर्षको तुलनामा ३४।७५ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिसम्म सरकारले जम्मा २३ अर्ब २० करोड १६ लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो ।

अर्थतन्त्रको आन्तरिक संरचना जे जस्तो भए पनि बाहिरी सुचाकांकहरु त्यति निराशाजनक छैनन् भन्ने राजस्व संकलनको अवस्थाले पनि देखाएको छ । मुलुकमा नयाँ र स्थिर सरकार बनेकोले अर्थतन्त्रका विभिन्न पक्षहरुमा सुधार आउनु स्वभाविक छ । सरकारले आर्थिक नीतिहरुमा सामयिक सुधार गर्दै गएको खण्डमा समग्र अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ ।  

विहीबार, ३२ असार २०८३, १२ : ५०

प्रतिक्रिया