रोकिएन नेप्सेको ओरालो यात्रा

आइतबार, ०३ साउन २०८३, १२ : ४४

 काठमाडौं - आर्थिक समृद्धीको मुख्य नारा लिएर चुनावमा गएको दलले दुई तिहाई बहुमतको सरकार बनाएपछि अर्थतन्त्रका सुचकहरुमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको थियो । त्यसमा पनि विद्वान अर्थमन्त्री भएकोबेला समग्र अर्थतन्त्रले गति लिने आम विश्वास रहेको पनि सत्य हो । तर सरकारको अर्थ प्रशासनको कार्यक्षमता अत्यन्त कमजोर देखिएको छ । सत्तारुढ दलभित्रै अर्थमन्त्रीको कार्यक्षमतामाथि प्रशस्त प्रश्नहरु उठ्न थालेको पाइन्छ । त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको छ । यतिबेला नेपालको सेयर बजार (नेप्से) कठिन मोडबाट गुज्रिरहेको छ। सूचक दिनहुँ राताम्मे बन्दै जाँदा सामाजिक सञ्जालदेखि ब्रोकर कार्यालयसम्म निराशा र आक्रोश पोखिन थालेको छ। 

बैंकिङ प्रणालीमा पर्याप्त नगद तरलता छ, ब्याजदर इतिहासकै न्यून विन्दु नजिक छ, र देशमा नयाँ राजनीतिक समीकरणसमेत बनेको अवस्था छ। सामान्य आर्थिक सिद्धान्तअनुसार यस्तो अवस्थाले बजारलाई सकारात्मक दिशा दिनुपर्छ । तर व्यवहारमा नेपालमा अवस्था ठीक उल्टो देखिएको छ। आखिर नेप्से किन लगातार ओरालो लागिरहेको छ ?

बजार घट्नुको प्रमुख कारण नीतिगत अन्योलता हो। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नेतृत्वको अस्थिरता र नीतिमा भइरहने परिवर्तनले ठूला तथा संस्थागत लगानीकर्तालाई ‘पर्ख र हेर’ को अवस्थामा पुर्याएको छ। जबसम्म ठूला लगानीकर्ता सक्रिय रूपमा बजारमा प्रवेश गर्दैनन्, बजारले अपेक्षित गति लिन कठिन हुन्छ। पछिल्ला केही वर्षमा जलविद्युत् तथा अन्य कम्पनीका आईपीओ र हकप्रद सेयर ठूलो संख्यामा बजारमा आएका छन्। यसले सेयरको आपूर्ति उल्लेख्य रूपमा बढाएको छ। तर सोही अनुपातमा नयाँ लगानीकर्ता वा नयाँ पुँजी बजारमा प्रवेश गर्न सकेको छैन। मागभन्दा आपूर्ति बढी हुँदा मूल्यमा दबाब पर्नु स्वाभाविक हो।

छोटो अवधिका लगानीकर्ताका लागि पूँजीगत लाभकर ७।५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याइएपछि धेरै कारोबारकर्ता निरुत्साहित भएका छन्। यसको असर दैनिक कारोबार रकम ९टर्नओभर० मा समेत परेको देखिन्छ।

पूँजी बजारका लगानीकर्ताको दाबीअनुसार वर्तमान सरकार गठन भएयता नेप्सेमा आएको गिरावटका कारण बजार पुँजीकरण ९मार्केट क्यापिटलाइजेसन० करिब ५ खर्ब ५० अर्ब रुपैयाँले घटिसकेको छ। लगानीकर्ताहरूले यस अवस्थालाई गम्भीर आर्थिक क्षति भन्दै सरकार र नियामक निकायको मौनताप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्।

सरकारी नीतिहरुमा प्रष्टता नहुँदा लगानीकर्ताहरू विश्वस्त हुन सकेका छैनन् । उनीहरुले बैंकमा पर्याप्त तरलता, घट्दो ब्याजदर र अनुकूल आर्थिक संकेत हुँदाहुँदै पनि बजार निरन्तर ओरालो लाग्नुले उनीहरुको मनोबल कमजोर बनाएको बताएका छन् । अहिले लगानीकर्ताहरु बजारप्रति सरकार र नियामक निकायबाट स्पष्ट नीति, स्थायित्व र विश्वासको वातावरण निर्माण हुनुपर्ने माग गरिरहेका छन् । 

आइतबार, ०३ साउन २०८३, १२ : ४४

प्रतिक्रिया