काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले नेपाली कांग्रेसका नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको विचारलाई व्यवहारमा उतार्दै समृद्ध, न्यायपूर्ण र लोकतान्त्रिक नेपाल निर्माणमा एकजुट हुन आह्वान गरेको छ।
बीपी कोइरालाको ४४औँ स्मृति दिवस तथा पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा मंगलबार प्रेस वक्तव्य जारी गर्दै पार्टीले दुवै नेताको राजनीतिक योगदान स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।
पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङद्वारा जारी प्रेस विज्ञप्तिमा बीपी कोइराला र पुष्पलाल फरक राजनीतिक धाराका प्रतिनिधि भए पनि नेपालको लोकतान्त्रिक रूपान्तरण, जनअधिकारको विस्तार र राष्ट्रिय हितको संरक्षणप्रति दुवैको प्रतिबद्धता समान रूपमा प्रेरणादायी रहेको जनाइएको छ।
वक्तव्यमा बीपीले राजनीतिक स्वतन्त्रता, नागरिक अधिकार र प्रजातान्त्रिक समाजवादको दृष्टि अघि सारेको तथा पुष्पलालले वर्गीय शोषणविरुद्धको संघर्ष, राष्ट्रिय स्वाधीनता र समाजवादी रूपान्तरणको वैचारिक आधार निर्माणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरिएको छ। लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्य र संयुक्त जनआन्दोलनको अवधारणालाई दुवै नेताले अघि बढाएको स्मरण गर्दै उनीहरूको योगदान नेपालको आधुनिक राजनीतिक इतिहासमा उज्ज्वल रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रलोपाले वर्तमान लोकतान्त्रिक गणतन्त्रले नयाँ चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै लोकतन्त्रको गुणस्तर, सुशासन, उत्पादनमुखी अर्थतन्त्र, युवाको भविष्य, सामाजिक न्याय र राष्ट्रिय आत्मनिर्भरताजस्ता विषयमा गम्भीर राजनीतिक बहस आवश्यक भएको जनाएको छ।
प्रतिक्रिया