काठमाडौँ - नेपाली समाजमा बिरलै देखिने साम्प्रदायिक भडकावले यतिबेला सुनसरी आसपासका स्थानहरुमा तनावपूण अवस्था बनेको छ । सुनसरीको देवानगन्जमा आइतबार राति भएको दुईपक्षीय झडप, मृत्यु र तनावले मुलुकको दक्षिणी भेगका केही क्षेत्र अशान्त बनेका छन् । झडप, आगजनी र तोडफोडका घटना बढेका छन् । यो क्रम तराईका अन्य जिल्लामा पनि फैलिएको छ । बिहीबारसम्म आइपुग्दा विभिन्न जिल्लाका विभिन्न स्थानमा कर्फ्यु लागेको छ । तीन युवाको ज्यान गएको छ, कैयौं घाइते भएका छन् ।
यी घटनाक्रमहरुले परिस्थिति लम्बिँदै गएर काबु बाहिर पुग्न सक्ने र त्यसले अथाह क्षति गराउन सक्ने त्रास व्यक्त भइरहेको छ । यसर्थ, परिस्थितिलाई थप बिग्रिन नदिन र जनधनको क्षति रोक्न सरकार, राजनीतिक दल, नागरिक समाज, मिडिया, सामाजिक सञ्जालका प्रयोगकर्ता, स्थानीय संघसंस्थाको संयमित र विवेकपूर्ण अग्रसरता अपरिहार्य छ । यो अग्रसरता बिस्तारै होइन, तत्कालै आवश्यक छ । ढिलै भए पनि प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा उनले संयम अपनाउँदै शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् ।
आ आफ्ना राजनीतिक स्वार्थ भए पनि राजनीतिक दलहरुबीच सहकार्यको खाँचो बढेको छ । यसै पनि नेपाली समाज मूलभूत रूपमा फरक–फरक पहिचानप्रति उदार रहँदै आएको छ । त्यसै कारण फरक–फरक धर्म, जात, भाषालगायत पहिचानका बीच मुलुक सद्भावपूर्ण गतिमा अगाडि बढिरहेको छ । यसलाई नेपाली समाजको विशेषता र शक्तिका रूपमा व्याख्या गरिँदै आएको छ । यो मर्म र विशेषतालाई जीवन्त तुल्याउनु र पुस्तौंपुस्ता जोगाउनु सबैको दायित्व हो । विविधतालाई नै शक्ति मानेर नेपाली समाजले प्रगति गर्न सकेको हो भन्दा जुन गर्व इतिहासका पानामा अंकित हुन्छन्, विविधताप्रति असहिष्णु बनेर तनावबीच प्रगतिका सम्भावना खुच्याइयो भने उति नै लज्जास्पद र हानिकारक हुनेछ ।
अहिले देखिएको समस्याको समाधान राजनीतिक तथा सामाजिक तवरबाट खोजिनु पर्दछ । बल प्रयोगले मात्र समस्याको निकास दिन सक्तैन । यो सरकार र राजनीतिक नेतृत्वले आपसी समझदारी र सहकार्यबाट मात्र समस्याको स्थायी समाधान निकाल्न सकिन्छ । साँच्चै भन्ने हो भने यतिबेला परिस्थिति दोसाँधमा उभिएको छ । मुलुकका केही भागमा देखिएको तनावलाई कुशलतापूर्वक व्यवस्थापन गरी नेपाली समाजले विवेकसम्मत उच्च र फराकिलो हृदय देखाउनु अपरिहार्य छ । यसले नेपाली समाजको एकताको मानक पनि स्थापित हुनेछ । तनाव बढ्यो भने हामी लज्जास्पद भविष्यतर्फ अघि बढ्नेछौं । हामीबीच निर्विकल्प रूपमा परिस्थितिको निकासतर्फ अघि बढ्नुभन्दा अर्को बाटो हुन सक्दैन । त्यसैले शान्ति स्थापना नै अहिलेको मुख्य काम हो । राज्य संयन्त्र पनि तदनुसार नै परिचालन होस् ।
प्रतिक्रिया