काठमाडौं - देशमा धार्मिक द्वन्द्व चर्किएका बेला सरकारले नेपालललाई हिन्दु राष्ट्र घोषणाको बहसमा प्रवेश गराउने सहमति गरेको छ । ठिक यही बेला हिन्दुवादी संघ संस्था र केही राजनीतिक दलले पनि यो बहस थाल्नुपर्ने माग अगाडि सारेका छन् । संविधानसभाले बनाएको संविधानमा समेत धर्म निरपेक्ष राष्ट्र घोषणा गरिसकेको अवस्थामा यो बहसले स्थायी समाधान देला त भन्ने अर्को प्रश्न पनि उठ्न थालेको छ । तराई–मधेस क्षेत्रमा भइरहेका हिंसात्मक घटनाले हिन्दु राष्ट्र नेपालको आवश्यकता पुनः प्रमाणित गरेको हिन्दुवादी पक्षहरुले दाबी गरेका छन् । यो यथार्थलाई स्वीकार गर्दै तदअनुरुप बहस प्रारम्भ गर्न उनीहरुको आह्वान छ ।
वास्तवमा अहिले तराई–मधेशमा देखिएको साम्प्रदायिक द्वन्द्व धर्म निरपेक्षताको कारणले भएको हो कि होइन भन्ने विषयको गहीरो विश्लेषणबिना अन्य बहस थाल्नु त्यति उपयुक्त होइन । राज्यले संयमता गुमाउँदा र परिस्थितिको सही विश्लेषण गर्न नसक्दा तराई–मधेशमा तनाव बढेको हो कि भन्ने तर्फ पनि सोच्न जरुरी छ । घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई न्याय दिलाउने काम तत्कालीन महत्वको हो ।
यस्ता घटनाको कारण, पृष्ठभूमि, सुरक्षा व्यवस्थाका कमजोरी र प्रशासनिक उत्तरदायित्वको गहिरो अध्ययन गरी समस्याको जरासम्म पुग्न तथा दीर्घकालीन समाधान खोज्न सरकारले गम्भीर ध्यान दिन जरुरी छ । अहिले संवैधानिक व्यवस्थालाई उल्ट्याउने प्रपञ्च रच्नु ठिक नहुन सक्तछ । नेपाली समाजको विकासक्रम र इतिहासलाई विश्लेषण गर्ने हो भने अनेकतामा एकता नै देखिन्छ । यहाँका मूलवासीहरु धर्म र सम्प्रदायको नाममा आपसमा लडेको इतिहास छैन । बाहिरिया तत्वहरु घुसेर शान्त समुदायलाई तरंगित बनाउने काम भने बेलाबखतमा भएको पाइन्छ । यसतर्फ हामी सबै सचेत र सतर्क रहन त्यत्तिकै जरुरी छ ।
बरु राष्ट्रिय पहिचान, सांस्कृतिक निरन्तरता र सामाजिक एकतालाई पर्याप्त महत्व नदिइएका कारण धार्मिक तनाव चर्किने गरेको हो भन्ने विषयमा सबैको ध्यान जानुपर्दछ । त्यसैले हिन्दु राष्ट्र घोषणा गर्दैमा यस्ता समस्याहरुको समाधान हुन सक्तैन । त्यसले झन ठूलो धार्मिक तथा साम्प्रदायिक द्वन्द्व निम्त्याउने हो कि भन्नेतर्फ गम्भीर बन्नुपर्ने अवस्था रहेको छ । राज्यका तर्फबाट सबै जातजाति र धार्मिक समुदायमाथि समान व्यवहार हुनुपर्दछ । सामाजिक न्याय स्थापनाको दिशामा राज्यको ध्यान गएमा सामाजिक शान्ति पनि स्थापना हुने अवस्था रहन्छ ।
प्रतिक्रिया