मनसुनसँगै दोहोरिन्छ चट्याङको त्रास, पाँच वर्षमा कोशीमा ६६ जनाको मृत्यु

विहीबार, २८ साउन २०८३, ११ : ४९

सुनसरी– गत असार १३ गते मध्यरात इलामको रोङ गाउँपालिका–६, सलकपुरमा मुसलधारे पानी परिरहेको थियो। ८८ वर्षीय कालुवीर मोक्तान काठको बेरा र टिनको छानो भएको दुईतले घरको बरन्डामा बसिरहेका थिए। राति करिब १ बजे आकाश थर्किने गरी चट्याङ पर्यो। त्यही चट्याङको चपेटामा परेर मोक्तानको घटनास्थलमै मृत्यु भयो।

त्यसको भोलिपल्ट असार १४ गते सङ्खुवासभाको मकालु गाउँपालिका–१, चिर्खाङमा पनि चट्याङले ३९ वर्षीया कुमारी राईको ज्यान लियो। ठूलो वर्षा र हावाहुरी चलिरहेका बेला घरको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी राईको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुमतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।

यी घटना वर्षायाममा चट्याङबाट हुने मानवीय क्षतिका केही उदाहरण मात्रै हुन्। नेपालमा मनसुन सुरु भएसँगै बाढी र पहिरोको चर्चा बढ्ने गरे पनि कुनै पूर्वसङ्केतबिना आकाशबाट खस्ने चट्याङले हरेक वर्ष ठूलो जनधनको क्षति गरिरहेको छ।

बाढी, पहिरो र भूकम्पजस्ता दृश्य रूपमा देखिने विपद्का तुलनामा चट्याङ शान्त र क्षणभरमै आउने विपद् हो। तर यसको प्रभाव उत्तिकै घातक छ। वर्षा सुरु हुनासाथ आकाशमा चम्किने बिजुली र त्यससँगै आउने गर्जन सामान्य प्राकृतिक प्रक्रिया जस्तो देखिए पनि केही सेकेन्डमै यसले मानिसको ज्यान लिन सक्छ।

विशेषगरी मनसुन तथा प्रि–मनसुन अवधिमा कोशी प्रदेशका पहाडी तथा तराईका विभिन्न जिल्लामा चट्याङका घटना बढ्ने गरेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ देखि चालु आव २०८२/८३ को असार २५ गतेसम्म चट्याङका कारण प्रदेशमा ६६ जनाको मृत्यु भएको छ भने २१८ जना घाइते भएका छन्। मृत्यु हुनेमा ४४ पुरुष र २२ महिला छन्। घाइतेमध्ये ११५ पुरुष र १०३ महिला रहेका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार बाहिरी काममा पुरुषको संलग्नता बढी हुने भएकाले महिलाको तुलनामा पुरुष चट्याङको जोखिममा बढी पर्ने गरेका छन्।

तथ्यांक अनुसार आव २०७८र७९ मा १५ जनाको मृत्यु भएको थियो। आव २०७९/८० मा १२ जना, आव २०८०/८१ मा १२ जना, आव २०८१/८२ मा १८ जना तथा चालु आव २०८२/८३ को असार २५ गतेसम्म नौ जनाले चट्याङका कारण ज्यान गुमाएका छन्।

पछिल्लो पाँच आर्थिक वर्षमा चट्याङबाट सबैभन्दा बढी ओखलढुङ्गामा ४३ जना घाइते भएका छन्। भोजपुरमा ४०, उदयपुरमा ३३, खोटाङमा २७ र ताप्लेजुङमा १९ जना घाइते भएका छन्। झापा र सुनसरीमा १३र१३ जना, धनकुटामा नौ, पाँचथर र मोरङमा आठरआठ तथा सोलुखुम्बुमा छ जना घाइते भएका छन्। इलाम, तेह्रथुम र सङ्खुवासभामा भने उक्त अवधिमा चट्याङबाट घाइते भएको विवरण शून्य रहेको प्रहरीले जनाएको छ।

चट्याङबाट मानिस मात्र होइन, पशुधन र भौतिक संरचनामा समेत ठूलो क्षति हुने गरेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार पाँच वर्षको अवधिमा चट्याङका कारण एक हजार ३२ वटा पशुचौपाया मरेका छन्। चट्याङबाट लागेको आगलागीमा १७० वटा घर तथा गोठ जलेर नष्ट भएका छन्। त्यसबाट रु तीन करोड ७२ लाख ६५ हजार ३५० बराबरको क्षति भएको छ।

ग्रामीण बस्तीमा चट्याङको जोखिम अझ बढी देखिन्छ। गाउँघरमा काठ र टिनले बनेका घर धेरै हुनु, घरमा अर्थिङजस्ता सुरक्षा प्रविधि नहुनु तथा चट्याङबाट जोगिने उपायबारे पर्याप्त जानकारी नहुनुले जोखिम बढाएको छ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ विभागीय मौसमविद् विभूति पोख्रेल पछिल्ला केही वर्षयता मौसममा देखिएको अस्थिरता र जलवायु परिवर्तनको प्रभावका कारण मेघगर्जनसहित चट्याङका घटना बढ्दो क्रममा देखिएको बताउँछन्।

उनका अनुसार मनसुन तथा प्रि–मनसुन अवधिमा मौसममा अचानक परिवर्तन भई मेघगर्जन, हावाहुरी र वर्षासँगै चट्याङ पर्ने सम्भावना उच्च हुन्छ। यस्तो अवस्थामा विशेष सतर्कता अपनाउन आवश्यक हुन्छ।

चट्याङले विशेषगरी खुला स्थानमा रहेका मानिसलाई बढी प्रभावित गर्छ। खेतबारीमा काम गरिरहेका किसान, पशु चराइरहेका गोठाला, जंगलमा घाँस–दाउरा संकलन गर्न गएका व्यक्ति तथा खुला चौर, डाँडाकाँडा र नदीकिनारमा रहेका मानिस बढी जोखिममा पर्छन्।

मौसम खराब हुने सङ्केत देखिएलगत्तै खुला स्थानबाट सुरक्षित आश्रयमा जानुपर्ने मौसमविद् पोख्रेलको सुझाव छ। अग्ला रुखमुनि बस्न नहुने, बिजुलीका पोल, टेलिफोनका तार, ट्रान्सफर्मर तथा अन्य धातुजन्य संरचनाबाट टाढा रहनुपर्ने उनी बताउँछन्।

सम्भव भएसम्म पक्की भवनभित्र बस्ने, झ्याल–ढोका बन्द गर्ने, विद्युतीय उपकरणको अनावश्यक प्रयोग नगर्ने तथा मौसमसम्बन्धी सूचना र पूर्वानुमान नियमित रूपमा पछ्याउने बानी बसाल्नुपर्ने उनको सुझाव छ।

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि व्यक्तिगत सावधानीसँगै स्थानीय तह, विद्यालय, समुदाय र सरोकारवाला निकायको भूमिका पनि महत्वपूर्ण हुन्छ। नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, चट्याङबाट बच्ने उपायबारे नागरिकलाई जानकारी गराउने तथा मौसमसम्बन्धी पूर्वसूचना स्थानीयस्तरसम्म प्रभावकारी रूपमा पुर्याउन सके मानवीय तथा भौतिक क्षति घटाउन सकिने मौसमविद् पोख्रेल बताउँछन्।

अभिलेखका लागि ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ आवश्यक

चट्याङ कहाँ, कहिले, कति पटक र कति तीव्रतासहित परेको थियो भन्ने वैज्ञानिक अभिलेख राख्न ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ आवश्यक मानिन्छ। तर कोशी प्रदेशमा यस्तो प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा नहुँदा चट्याङका घटनाको विस्तृत र वैज्ञानिक अभिलेख राख्न चुनौती रहेको छ।

जल तथा मौसम विज्ञान कार्यालय धरानका सूचना अधिकारी रूपक थापाका अनुसार प्रदेशभर चट्याङको स्थान, समय, आवृत्ति र तीव्रता मापन गरी अभिलेख राख्ने प्रणाली हाल सञ्चालनमा छैन।

उहाँका अनुसार विराटनगर विमानस्थलमा रहेको ‘लाइटनिङ डिटेक्टर’बाट सीमित रूपमा विवरण प्राप्त हुने गरेको छ। विमानस्थलको हवाई सेवा सञ्चालनसँग सम्बन्धित प्रयोजनका लागि जडान गरिएको उक्त उपकरणले विमानस्थल सञ्चालन अवधिमा मात्र रेकर्ड गर्ने भएकाले प्रदेशभरका चट्याङका घटनाको समग्र विवरण सङ्कलन गर्न पर्याप्त छैन।

धरानमा पनि लाइटनिङ डिटेक्टर उपकरण रहेको छ। तर केही वर्षअघिसम्म सञ्चालनमा रहेको उक्त उपकरण अहिले बिग्रिएको अवस्थामा छ। आवश्यक मर्मत तथा स्तरोन्नति हुन नसक्दा उपकरण पुनः सञ्चालनमा आउन सकेको छैन।

थापाका अनुसार धरान कार्यालयमा रहेको लाइटनिङ डिटेक्टर लामो समयदेखि बिग्रिएकाले अहिले कोशी प्रदेशमा विराटनगर विमानस्थलबाहेक अन्यत्र चट्याङ मापन गर्ने प्रभावकारी प्रणाली छैन।

कोशी प्रदेशमा चट्याङका अधिकांश घटना प्रि–मनसुन र मनसुन अवधिमा हुने गरेका छन्। तर कुन क्षेत्रमा, कुन समयमा, कति पटक र कति तीव्रतासहित चट्याङ पर्यो भन्ने तथ्यांक नियमित रूपमा संकलन गर्ने प्रणाली नहुँदा वैज्ञानिक अध्ययन तथा जोखिम विश्लेषणमा कठिनाइ भइरहेको छ।

दैनिक, मासिक वा वार्षिक रूपमा चट्याङको अभिलेख राख्ने व्यवस्था नहुँदा कुन जिल्ला बढी प्रभावित छ र जोखिमको प्रवृत्ति कस्तो छ भन्ने विषयमा विस्तृत विश्लेषण गर्नसमेत समस्या हुने गरेको थापा बताउँछन्।

उहाँका अनुसार चट्याङको वैज्ञानिक अभिलेखले जोखिमयुक्त क्षेत्र पहिचान, पूर्वसूचना प्रणाली विकास, विपद् व्यवस्थापन योजना निर्माण तथा जनधनको क्षति न्यूनीकरणका लागि महत्वपूर्ण आधार प्रदान गर्छ। 

त्यसैले कोशी प्रदेशका विभिन्न जिल्लामा लाइटनिङ डिटेक्सन नेटवर्क विस्तार गरी नियमित सञ्चालनमा ल्याउन सके चट्याङसम्बन्धी तथ्याङ्क सङ्कलन, अनुसन्धान र पूर्वतयारीका काम अझ प्रभावकारी बनाउन सकिने उनको भनाइ छ। संगीता राई/रासस 

विहीबार, २८ साउन २०८३, ११ : ४९

प्रतिक्रिया