काठमाडौं- गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको कर्मचारी सुविधासम्बन्धी खर्च बढेको छ। सार्वजनिक भएको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २८ वटा बीमा कम्पनीले कर्मचारी सुविधा तथा सेवासुविधामा कुल १२ अर्ब ५५ करोड ७० लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३.४५ प्रतिशतले बढी हो।
जीवन बीमा व्यवसाय गर्ने १४ वटा कम्पनीले गत आर्थिक वर्षमा कर्मचारी सुविधाका लागि ७ अर्ब २९ लाख रुपैयाँ खर्च गरेका छन्। अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरूको यस्तो खर्च ६ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ थियो। यस आधारमा जीवन बीमा कम्पनीहरूको कर्मचारी खर्च ५.०५ प्रतिशतले बढेको देखिन्छ।
जीवन बीमा कम्पनीहरूमध्ये कर्मचारी सुविधामा सबैभन्दा धेरै खर्च गर्नेमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा कर्मचारी सुविधाका लागि ९० करोड २७ लाख रुपैयाँ खर्च गरेको छ। त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले ८३ करोड ९८ लाख रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६८ करोड ५५ लाख रुपैयाँ खर्च गरेका छन्।
प्रतिशतका आधारमा हेर्दा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कर्मचारी खर्च सबैभन्दा धेरै बढेको छ। कम्पनीको कर्मचारी सुविधासम्बन्धी खर्च अघिल्लो वर्षको तुलनामा ३४.४७ प्रतिशतले वृद्धि भएको हो। यद्यपि नेपाल लाइफ, मेट लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीसहित ६ वटा जीवन बीमा कम्पनीको कर्मचारी खर्च भने अघिल्लो वर्षको तुलनामा घटेको छ।
यता, निर्जीवन बीमा व्यवसाय गर्ने १४ वटा कम्पनीले गत आर्थिक वर्षमा कर्मचारी सुविधामा कुल ५ अर्ब ५५ करोड ४१ लाख रुपैयाँ खर्च गरेका छन्। अघिल्लो आर्थिक वर्षमा यस्तो खर्च ५ अर्ब ४७ करोड २६ लाख रुपैयाँ थियो। यसअनुसार निर्जीवन बीमा कम्पनीहरूको कर्मचारी खर्च १.४९ प्रतिशतले मात्रै बढेको छ।
निर्जीवन बीमा कम्पनीमध्ये कर्मचारी सुविधामा सबैभन्दा धेरै खर्च गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा कर्मचारी सुविधाका लागि ६८ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ। त्यस्तै, शिखर इन्स्योरेन्सले ६२ करोड ३१ लाख रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले ५५ करोड ३३ लाख रुपैयाँ खर्च गरेका छन्।
प्रतिशतका आधारमा भने ओरिएन्टल इन्स्योरेन्सको कर्मचारी खर्चमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ। कम्पनीको यस्तो खर्च अघिल्लो आर्थिक वर्षको तुलनामा ७१.५९ प्रतिशतले बढेको छ।
अर्कोतर्फ, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र युनाइटेड अजोड इन्स्योरेन्ससहित ७ वटा निर्जीवन बीमा कम्पनीले भने अघिल्लो आर्थिक वर्षको तुलनामा कर्मचारी सुविधामा गर्ने खर्च घटाएका छन्।
समग्रमा जीवन बीमा कम्पनीहरूको कर्मचारी खर्चमा तुलनात्मक रूपमा उच्च वृद्धि देखिए पनि निर्जीवन बीमा कम्पनीहरूको खर्च भने सामान्य मात्र बढेको वित्तीय विवरणले देखाएको छ। बीमा कम्पनीहरूको व्यवसाय विस्तार, कर्मचारी संख्या तथा पारिश्रमिक र अन्य सेवासुविधामा भएको परिवर्तनले यस्तो खर्चमा प्रभाव पारेको देखिन्छ।
प्रतिक्रिया