व्यापार घाटा किन घटेको छैन, सरकारको ध्यान जाओस्

आइतबार, ०७ भदौ २०८३, ११ : १३

काठमाडौं - व्यापार सन्तुलन हुन नसक्नु विकासशील देशहरुको सबैभन्दा ठूलो आर्थिक समस्याहो । कच्चापदार्थ सस्तोमा विकसित देशलाई बेच्ने र तयारी सामान महङ्गोमा आयात गर्नुपर्ने बाध्यतामा हाम्रो जस्ता मुलुकहरु रहेका छन् । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपालको निर्यातमा उल्लेख्य सुधार देखिए पनि आयातको ठूलो आकारका कारण व्यापार घाटा झन् फराकिलो भएको छ। साउनमा निर्यात ६१.७२ प्रतिशतले बढ्दा आयात ३१.०४ प्रतिशतले बढेको छ। निर्यातको वृद्धिदर आयातको भन्दा करिब दोब्बर भए पनि एक महिनामै व्यापार घाटा १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

भन्सार विभागले सार्वजनिक गरेको साउनको वैदेशिक व्यापार तथ्यांकअनुसार नेपालले चालु आर्थिक वर्षको पहिलो महिनामा ३८ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा निर्यात २३ अर्ब ९३ करोड रुपैयाँ थियो। यस वर्ष निर्यात १४ अर्ब ७७ करोड रुपैयाँले बढेको हो।

विभागको तथ्यांकअनुसार नेपालले आयातको तुलनामा निर्यातको आकार निकै बढाएको छ। तर पनि व्यापारघाटा घटेको छैन । साउनमा नेपालले १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। गत वर्षको साउनमा १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँको आयात भएको थियो। यसरी एक वर्षमा आयात ४४ अर्ब ४० करोड रुपैयाँले बढेको छ।

आयात र निर्यातबीचको अन्तर बढेपछि व्यापार घाटा पनि २९ अर्ब ६३ करोड रुपैयाँले थपिएको छ। गत वर्ष साउनमा १ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ रहेको व्यापार घाटा चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ पुगेको हो। व्यापार घाटा २४.८८ प्रतिशतले बढेको छ।

साउनको तथ्यांकले नेपालको बाह्य व्यापारमा देखिएको मुख्य विरोधाभास यही हो, निर्यातको वृद्धिदर आयातको भन्दा झन्डै दोब्बर छ, तर व्यापार घाटा घट्नुको साटो बढेको छ।

यसको मुख्य कारण आयातको आधार नै निर्यातभन्दा धेरै ठूलो हुनु हो। साउनमा नेपालले ३८ अर्ब ७० करोड रुपैयाँको वस्तु विदेश पठाउँदा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँको वस्तु भित्र्याएको छ।

अर्थात् नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ४ रुपैयाँ ८४ पैसाको वस्तु आयात गरेको छ। गत वर्ष यही अनुपात ५ रुपैयाँ ९८ पैसा थियो। यस अर्थमा आयात–निर्यात संरचनामा भने केही सुधार देखिएको छ।
अर्थतन्त्रलाई स्वाधिन र आत्मनिर्भर बनाउन व्यापार सन्तुलन कायम गर्न अत्यन्त जरुरी छ । यसको लागि मुलुकभित्र उत्पादन बढाउने, लगानीको वातावरण सिर्जना गर्ने, स्वदेशी वस्तु तथा सेवाको प्रयोगमा जनतलाई प्रोत्साहन गर्ने जस्ता नीतिहरु सरकारले अख्तियार गर्न आवश्यक हुन्छ । आफ्नो स्रोत साधन जे उपलब्ध छ त्यसैलाई सदुयोग गर्ने अभ्यासको थालनी गर्न सकेमा परनिर्भरता कम गर्न सकिन्छ ।  

आइतबार, ०७ भदौ २०८३, ११ : १३

प्रतिक्रिया