डाक्टर उत्पादन गर्ने हैयितमा पुग्यो कर्णाली, केही भएन भन्नेहरुलाई मुखभरिको जवाफ

बुधबार, १० भदौ २०८३, ०८ : ०४


काठमाडौं - कुनैबेला साविक कर्णाली बाँकी नेपालका लागि अज्ञानता, अशिक्षा, अभाव र गरीबीको पर्यायको रुपमा चिनिन्थ्यो । कर्णालीको गरीबीको समाचार बेचेर खानेहरुले कर्णालीलाई चिन्न सकिरहेका थिएनन् । कर्णालीको गौरवपूर्ण इतिहास र शक्तिशाली खस साम्राज्यको इतिहास यसको आफ्रनै सम्पत्ति हो । अहिले भने कर्णाली विदेशी दातृ संस्था र राजधानीकेन्द्रित मिडियाले बुझेजस्तो रहेन । संसारसामु  एक दशकअघिसम्म कर्णालीमा विशेषज्ञ चिकित्सक त परै जाओस्, मेडिकल अफिसरसमेत टिकाउन कठिन थियो । उपचारको आधा संघर्ष त बिरामीलाई अस्पतालसम्म पुर्‍याउनमै गर्नुपर्थ्यो । अहिले भने कर्णाली देशलाई डाक्टर दिने हैसियतमा पुगेको छ । 

गर्भवतीलाई डोकोमा बोकेर स्वास्थ्य चौकी लैजाँदा–लैजाँदै मृत्यु हुने घटना सामान्य जस्तै थिए । हवाई टिकट खोज्दाखोज्दै विमानस्थलमै बिरामीको ज्यान जाने अवस्था थियो । धनीले जग्गा बेचेर उपचारका लागि शहर धाउन सक्थे, गरिबका लागि मृत्यु स्वीकार्नुबाहेक अर्को विकल्प नहुने अवस्था थियो ।

कर्णालीमा मेडिकल कलेजको कल्पना गर्नु यथार्थभन्दा निकै टाढा जस्तो लाग्थ्यो कुनै समय । एउटा मेडिकल अफिसर बस्न मान्दैन, विशेषज्ञ चिकित्सक कसरी टिक्लान् ?  बिरामीको संख्या कम छ, मेडिकल कलेज कसरी चल्ला ? सडक, पूर्वाधार र सुविधा कमजोर छन्, चिकित्सक र प्राध्यापक कसरी पुग्लान् ? यिनै प्रश्न देखाएर कर्णालीलाई लामो समय चिकित्सा शिक्षाबाट टाढा राखियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहिले पहिलो ब्याचका १८ जना एमबीबीएस डाक्टर उत्पादन गरेको छ । यो संख्या आफैंमा ठूलो छैन, तर कर्णालीको इतिहास र स्वास्थ्य सेवाको अवस्थासँग तुलना गर्दा यसलाई परिवर्तनको संकेत मान्न सकिन्छ । राज्यसँग डाक्टर मागेर नपाएको कर्णालीले अब डाक्टर उत्पादन गर्न थालेको छ ।

अहिले भन्नेहरुलाई त सजिलै छ । ३५ वर्षमा के भयो ? तर तथ्यहरुले यो कुराको सिधा खण्डन गरेका छन् । ३५ वर्षभित्रै कर्णालीमा सडक पुग्यो र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भयो । यसको स्थापनमा तत्कालीन माओवादी सांसद नरेश भण्डारीको नेतृत्व सबैभन्दा महत्वपूर्ण छ । उनको मेहनतमा नै कर्णालीका राजनीतिक दल, स्थानीय अगुवा र विभिन्न क्षेत्रका विज्ञको पहलमा अवधारणा अघि सारिएको थियो । पछि संसद्बाट विधेयक पारित भएपछि प्रतिष्ठान स्थापना भयो ।

naresh

‘प्रतिष्ठान स्थापना अभियानका एक प्रमुख परिकल्पनाकार नरेश भण्डारीले कुनै समय कर्णालीले राज्यसँग डाक्टर माग्दा नपाएको पीडा देखेका थिए । अहिले उनी कर्णालीले राज्यलाई नै डाक्टर दिने थालेको बताउँछन् ।

जुम्लामा अहिले ३०० शय्याको शिक्षण अस्पताल छ । प्रतिष्ठानमा ४८ विशेषज्ञ चिकित्सक कार्यरत छन् । मेडिकल अफिसर २१ जना छन् ।

भण्डारी भन्छन्, ‘पहिला डाक्टर मागेर कर्णाली लैजानुपर्ने अवस्था थियो । अहिले आफैंले पहिलो ब्याचका चिकित्सक उत्पादन गर्न सफल भएका छौं । कर्णालीका लागि गर्वको विषय हो ।’

कर्णालीले डाक्टर उत्पादन गर्ने क्षमता देखाइसकेको छ । तर अब सबैभन्दा ठूलो चुनौती उत्पादन भएका जनशक्तिलाई टिकाउनु नै हो ।

दुर्गम क्षेत्रमा चिकित्सक टिकाउन अझै आवासको समस्या छ । विशेषज्ञ चिकित्सकले भाडामा बस्नुपर्ने अवस्था छ । आफ्ना छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन चाहने चिकित्सकका लागि पनि पर्याप्त विकल्प छैन ।

त्यसैले कर्णालीलाई अब ‘डाक्टर उत्पादन गर्ने ठाउँ’ होइन, ‘डाक्टर टिक्ने ठाउँ’ बनाउनुपर्ने चुनौती छ ।
कर्णाली स्वास्थ्य विज्ञानको यो सफलताले गरे के संभव छैन भन्ने प्रमाणित गरेको छ । आज कर्णाली मात्र होइन भौगोलिक विकटता भएका क्षेत्रहरु पनि राज्यको मूलधारमा जोडिएका छन् । ३५ वर्षमा केही भएन भन्नेहरुलाई कर्णालीमा उत्पादन भएका डाक्टरहरुले नै उचित जवाफ दिएका छन् । त्यसैले ३५ वर्षमा केही भएन भन्नुभन्दा आगामी ३५ वर्षमा कस्तो देश बनाउने भनेर योजना बनाए पुग्छ । 

बुधबार, १० भदौ २०८३, ०८ : ०४

प्रतिक्रिया