काठमाडौं- लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण घरपरिवार, जीविकोपार्जनका माध्यम तथा अत्यावश्यक पूर्वाधारमा समेत क्षति पुगेको छ ।
तत्कालीन उद्धार तथा राहतका कार्य क्रमशः पुनःस्थापना र पुनर्निर्माणतर्फ अघि बढिरहेको अवस्थामा प्रभावित समुदायलाई दीर्घकालीन सहयोग आवश्यक रहेकाले बैंकले उक्त योगदान गरेको जनाएको छ ।
बैंकका अनुसार सहयोगले प्रभावित परिवारलाई सामान्य जीवनमा फर्किन तथा पुनर्निर्माणका प्रयासलाई अघि बढाउन सञ्चालन भइरहेका राहत तथा पुनःस्थापना अभियानमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
लक्ष्मी सनराइज बैंकले विपद्का कारण आफन्त, घर तथा जीविकोपार्जन गुमाएका सबैप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापनमा खटिएका सरकारी तथा सुरक्षा निकाय, उद्धारकर्मी, स्वयंसेवक र स्थानीय समुदायप्रति सम्मान व्यक्त गरेको छ ।
बैंकले आगामी दिनमा पनि प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया