काठमाडौं- सरकारले भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि कर, ब्याज, भन्सार र बीमामा सहुलियत प्रदान गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचवटा शीर्षकमा कर, भन्सार महसुल, ऋण तथा ब्याज छुट र बीमा दाबी तथा क्षतिपूर्तिमा सहुलियत प्रदान गरेको हो ।
बैठकले विभिन्न शीर्षकमा दिने छुटको कार्यान्वयन गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ । बाढीको कारण मर्मत सम्भार हुन नसक्ने गरी क्षतिग्रस्त भएका वा बाढीले बगाई हराएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानीको साधनको दर्ता खारेज गरी त्यस्तै किसिमका सवारी तथा ढुवानीका साधन पुनः आयात गर्न चाहेमा भन्सार विन्दुमा लाग्ने सम्पूर्ण महसुल छुट प्रदान गरिने भएको छ ।
बाढीको कारण कुनै प्राकृतिक व्यक्ति वा निकायको प्लान्ट, मेशिनरी, यन्त्र तथा उपकरण मर्मतसुधार हुन नसक्ने गरी नष्ट भएको भएमा त्यस्ता प्राकृतिक व्यक्ति वा निकायले नष्ट भएको प्रकृतिका प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरण नष्ट भएको परिमाणमा नबढ्ने गरी पैठारी गरेमा त्यस्ता प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरणको पैठारीमा भन्सार विन्दुमा लाग्ने सम्पूर्ण महसुल छुट प्रदान गरिने भएको छ ।
प्रतिक्रिया