काठमाडौं- हालै आएको बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति एफवानसफ्ट ग्रुपले सहानुभूति व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।
इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, ईसेवा मनि ट्रान्स्फर तथा ग्रुपअन्तर्गतका कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम सहयोग गरिएको हो । बाढीबाट प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले योगदान गरिएको ग्रुपले जनाएको छ ।
यसैगरी, फोनपे र इसेवामार्फत राहतका लागि व्यक्तिगत रूपमा सहयोग गर्ने प्रयोगकर्ताप्रति पनि एफवानसफ्ट ग्रुपले आभार व्यक्त गरेको छ । हालसम्म इसेवाका १ लाख २९ हजार १३ जना प्रयोगकर्ताले ९ करोड ७० लाख रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, फोनपेका ८ लाख ६२ हजार ४४५ प्रयोगकर्ताले २ अर्ब १९ करोड रुपैयाँ सहयोग गरेका छन् । फोनपेमार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदानसमेत समावेश रहेको ग्रुपले जनाएको छ ।
भारतबाट एनपीसीआई इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार ८५८ प्रयोगकर्ताले ४ करोड २२ लाख रुपैयाँ तथा चीन र दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९६५ प्रयोगकर्ताले १ करोड ६३ लाख रुपैयाँ सहयोग गरेका छन् ।
एफवानसफ्ट ग्रुपले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै कठिन परिस्थितिबाट अघि बढ्न सबैमा साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ ।
साथै, प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति ग्रुपले धन्यवाद तथा आभार व्यक्त गरेको छ ।
प्रतिक्रिया