रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा सेनाको खोजी तीव्र, हेभी मेसिनरीदेखि ध्वनि उपकरणसम्म प्रयोग

शुक्रबार, १९ भदौ २०८३, १३ : ३२

काठमाडौं- रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार भइसकेको छ । योसँगै नेपाली सेनाले रसुवा क्षेत्रमा रहेका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ ।

नेपाली सेनाका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा सेना, आयोजनाका प्रतिनिधि तथा इन्जिनियरसहितको संयुक्त टोली सुरुङभित्र २७५ मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ । उद्धार कार्यलाई तीव्र बनाउन उक्त क्षेत्रमा हेभी मेसिनरीसमेत प्रयोग गरिएको सेनाले जनाएको छ ।

लाङटाङ जलविद्युत् आयोजनामा विदेशी नागरिकसहित २५ सदस्यीय संयुक्त खोज तथा उद्धार टोली सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोजीमा जुटेको छ ।

त्यस्तै, चिलिमे जलविद्युत् आयोजनामा माउन्टेन एसोसिएसन तथा विदेशी नागरिकसहितको संयुक्त टोली सुरुङभित्र करिब १५० मिटरसम्म पुगेको थियो । सुरुङ बन्द अवस्थामा भेटिएपछि ध्वनि उपकरण प्रयोग गरी थप निरीक्षण तथा खोजी भइरहेको सेनाले जनाएको छ ।

अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा संयुक्त खोज तथा उद्धार टोलीले सुरुङको मुख ढुङ्गाले थुनिएको अवस्थामा फेला पारेको छ । अवरोध हटाउँदै सुरुङभित्र प्रवेश गर्ने प्रयास भइरहेको सेनाले जनाएको छ । हाकुबेसी क्षेत्रमा विदेशी नागरिकसहितको संयुक्त टोलीले २६० मिटरसम्म पुगेर खोजी गर्दा हालसम्म केही फेला नपरेको बताइएको छ ।

यसैगरी, मुख्य सुरुङको एक्सेस–१ बाट करिब १५० मिटर र एक्सेस–२ बाट २० मिटर अगाडि बढ्दा २६ मिटर पानी जमेको पाइएको सेनाले जनाएको छ ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा ९३ सदस्यीय संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ । त्यहाँ चारवटा एक्स्काभेटर र बबक्याट प्रयोग गरी माटो तथा अन्य अवरोध हटाउने काम भइरहेको छ । ब्लास्टिङपछि सुरुङ क्षेत्रमा लेदो भेटिएपछि त्यसलाई हटाएर पुनः चट्टान ब्लास्ट गर्ने काम भइरहेको सेनाले जनाएको छ ।

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा नेपाली सेनाका ६१ जना, तीन जना गैरसैनिक तथा आयोजनाका प्राविधिक सम्मिलित संयुक्त टोली परिचालन गरिएको छ । टोलीले आयोजनाको कार्यालय तथा आवासीय क्षेत्र पहिचान गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ ।

रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य जोखिमयुक्त क्षेत्रमा नेपाली सेना, आयोजनाका प्राविधिक, विदेशी विशेषज्ञलगायत सरोकारवाला निकायको संयुक्त टोली परिचालन गरिएको छ । सुरुङभित्र फसेका तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजी र उद्धारका लागि विभिन्न प्रविधि तथा हेभी उपकरण प्रयोग गर्दै अभियानलाई तीव्र बनाइएको नेपाली सेनाले जनाएको छ ।
 

शुक्रबार, १९ भदौ २०८३, १३ : ३२

प्रतिक्रिया