दाङ- नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले शुक्रबार विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ।
तुलसीपुरस्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाँको योगदानको स्मरण गर्दै झण्डोत्तोलन, दीप प्रज्वलन तथा उनको तस्बिरमा माल्यार्पण गरिएको थियो।
नेपाल रेडक्रस सोसाइटी दाङ शाखाका सभापति मदन गौतमको अध्यक्षता तथा दाङ शाखाका संस्थापक मन्त्री नवराज रजौरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य देवका नेपाली, रेडक्रस दाङ शाखाका पूर्वउपसभापति धर्मराज न्यौपाने, तुलसीपुर उपशाखाका सभापति मदन धिताल, शिक्षक नायक , कार्यकारिणी सदस्य, विभिन्न उपशाखाका पदाधिकारी तथा सदस्य, शाखा कार्यालयका लेखा प्रमुख, रक्तसञ्चार सेवाका प्रमुखलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले रेडक्रसका संस्थापक हेनरी ड्युनाँको तस्बिरमा फूलमाला तथा अबिर अर्पण गर्दै मानव सेवाका क्षेत्रमा उनले पु¥याएको योगदानको स्मरण गरेका थिए।
कार्यक्रममा वक्ताहरूले विपद्, स्वास्थ्य संकट तथा विभिन्न मानवीय कठिनाइका समयमा रेडक्रसले पु¥याउँदै आएको सेवाको चर्चा गर्दै संस्थाको भूमिका आगामी दिनमा अझ प्रभावकारी र व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए।
रेडक्रस मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वैच्छिक सेवा, एकता र विश्वव्यापीताजस्ता आधारभूत सिद्धान्तलाई आत्मसात् गर्दै मानवीय सेवामा क्रियाशील रहँदै आएको कार्यक्रममा बताइएको थियो।
नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले स्थानीयस्तरमा विपद् व्यवस्थापन, रक्तसञ्चार, स्वास्थ्य सेवा, उद्धार तथा राहतलगायतका क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको जनाइएको छ।
कार्यक्रममा रेडक्रसकर्मी तथा पदाधिकारीहरूले आगामी दिनमा विपद् र संकटमा परेका नागरिकको सहयोगलाई प्राथमिकतामा राख्दै मानवीय सेवामा अझ सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
स्थापना दिवसले रेडक्रसको मानवीय सेवा र परोपकारको मूल भावनालाई थप मजबुत बनाउनुका साथै समाजमा स्वयंसेवा र मानवीय सहयोगको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए।
शाखाका उपसभापति हरिहर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मन्त्री प्रकाश श्रीबन्दले गरेका थिए।
प्रतिक्रिया