काठमाडौं- नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवद्र्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र चर्चित मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
नेपाल टेलिकमले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी भुर्तेल र शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो। भुर्तेललाई गत साउन २० गते र शाहलाई भाद्र २५ गते ब्रान्ड एम्बेसडर नियुक्त गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी ९अर्याल०ले खेलकुद तथा मनोरञ्जन क्षेत्रका स्थापित व्यक्तित्वसँगको सहकार्यले युवा पुस्तासहित आम नागरिकसँग कम्पनीको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरिन्।

उनले ब्रान्ड एम्बेसडरका रूपमा भुर्तेल र शाहसँगको आबद्धताले कम्पनीको सामाजिक छवि अभिवृद्धि गर्नुका साथै व्यवसाय प्रवद्र्धन र सेवासुविधाको प्रचारप्रसारमा नयाँ ऊर्जा थप्ने बताइन्।
नवनियुक्त ब्रान्ड एम्बेसडरद्वय भुर्तेल र शाहले देशकै ठूलो तथा स्वदेशी लगानीको दूरसञ्चार संस्थासँग जोडिन पाउँदा आफूहरू गौरवान्वित र उत्साहित भएको बताए। उनीहरूले नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै कम्पनीको सामाजिक छवि संरक्षण, सेवासुविधाको प्रवद्र्धन तथा बजारीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
ब्रान्ड एम्बेसडरका रूपमा भुर्तेल र शाहले स्वदेश तथा विदेशमा रहेका ग्राहकसमक्ष नेपाल टेलिकमले उपलब्ध गराउँदै आएका विभिन्न सेवा तथा सुविधाको प्रचारप्रसार गर्नेछन्। साथै, कम्पनीको ब्रान्ड प्रवद्र्धनसम्बन्धी विभिन्न गतिविधिमा समेत उनीहरूको सक्रिय सहभागिता रहने नेपाल टेलिकमले जनाएको छ।
प्रतिक्रिया