बाढीपहिरो पीडितको उद्धार र पुनःस्थापनामा जुट्न महासंघको आग्रह

शुक्रबार, २६ भदौ २०८३, १५ : २६

काठमाडौं- नेपाल जग्गा तथा आवास विकास महासंघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्रलाई थप सक्रिय हुन आग्रह गरेको छ।

महासंघले प्रेस विज्ञप्ति जारी गर्दै गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अचानकको भीषण बाढी तथा पहिरोले स्याफ्रुबेसी, टिमुरे, रसुवागढीलगायत सीमावर्ती क्षेत्र तथा छिमेकी जिल्ला नुवाकोट र धादिङका विभिन्न भूभागमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको जनाएको छ।

महासंघले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीपहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

संकटको यस घडीमा राज्यका सम्पूर्ण संयन्त्र थप तदारुकताका साथ परिचालित हुनुपर्ने महासंघको भनाइ छ। बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिनु, घाइतेलाई निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्नुका साथै विस्थापित परिवारलाई तत्काल बासस्थान, खाद्यान्न र औषधिको प्रबन्ध गर्नुपर्नेमा महासंघले जोड दिएको छ।

त्यस्तै, जोखिमपूर्ण नदी किनारका बस्तीलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गरी थप मानवीय तथा भौतिक क्षति हुन नदिन राज्य तथा सम्बन्धित निकायले प्राथमिकताका साथ काम गर्नुपर्ने महासंघले जनाएको छ।

व्यावसायिक क्षेत्र आर्थिक गतिविधिमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि उत्तिकै सचेत हुनुपर्ने महासंघको धारणा छ। विपद्को यस्तो संवेदनशील अवस्थामा राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम तथा आम नागरिक सबैले आ–आफ्नो क्षेत्रबाट एकीकृत रूपमा सहयोग गर्नुपर्नेमा महासंघले जोड दिएको छ।

उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा समन्वय र सहकार्य गर्दै अघि बढ्नु अहिलेको मानवीय दायित्व भएको महासंघले जनाएको छ। बाढीपीडित नागरिकलाई राहत सामग्री उपलब्ध गराउने तथा उनीहरूको पुनःस्थापनामा सरकार र नागरिक समाजसँग सहकार्य गर्न महासंघ पूर्ण प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

महासंघले संकटको यस घडीमा एकजुट भई पीडित नागरिकलाई सहयोग गर्न सम्पूर्ण व्यवसायी तथा नागरिक समाजलाई समेत हार्दिक आह्वान गरेको छ।

शुक्रबार, २६ भदौ २०८३, १५ : २६

प्रतिक्रिया