सीटीईभीटीको निर्णयप्रति अनेरास्ववियू क्रान्तिकारीको आपत्ति, परीक्षा स्थगन र केन्द्र निर्धारणमा पारदर्शिता माग

शुक्रबार, २६ भदौ २०८३, १६ : १२

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का पछिल्ला निर्णयप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले गम्भीर आपत्ति जनाएको छ।

अनेरास्ववियू क्रान्तिकारीले प्राविधिक शिक्षामा भविष्य खोजिरहेका हजारौं विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेको भन्दै सीटीईभीटीका निर्णयप्रति असन्तुष्टि जनाएको हो।

संगठनले परीक्षा सुरु हुनुभन्दा करिब १४ घण्टाअघि परीक्षा स्थगित गरिएको र ६–७ महिनाअघिदेखि ‘होम सेन्टर’ हुने भनिए पनि अन्तिम समयमा ५१ वटा कलेजलाई मात्र होम सेन्टर तथा बाँकीलाई बाह्य परीक्षा केन्द्र तोकिएको जनाएको छ।

एउटै परीक्षामा विद्यार्थीलाई असमान र विभेदपूर्ण ढंगले परीक्षा केन्द्र तोकिएको भन्दै अनेरास्ववियू क्रान्तिकारीले यसको आधार र मापदण्ड स्पष्ट पार्न सीटीईभीटीसँग माग गरेको छ। स्थगित परीक्षा कहिले सञ्चालन हुने भन्ने जानकारीसमेत नदिँदा विद्यार्थी थप अन्योलमा परेको संगठनको भनाइ छ।

त्यस्तै, महिनौंसम्म परीक्षा नतिजा सार्वजनिक नहुनु, दक्ष शिक्षकको अभाव तथा पर्याप्त प्रयोगशाला र गुणस्तरीय प्रयोगात्मक शिक्षाको व्यवस्था नहुनुले सीटीईभीटीको समग्र प्रणालीमाथि गम्भीर प्रश्न उठेको संगठनले जनाएको छ।

अनेरास्ववियू क्रान्तिकारीले असमान परीक्षा केन्द्रको निर्णय तत्काल सच्याउन, स्थगित परीक्षाको नयाँ मिति सार्वजनिक गर्न, समान तथा पारदर्शी मापदण्ड लागू गर्न र समयमै परीक्षा तथा नतिजा प्रकाशनको व्यवस्था गर्न माग गरेको छ।

साथै, गुणस्तरीय प्रयोगात्मक शिक्षाको सुनिश्चितता गर्नसमेत उसले जोड दिएको छ। विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने प्रवृत्ति तत्काल अन्त्य नगरिए संगठन कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ।

शुक्रबार, २६ भदौ २०८३, १६ : १२

प्रतिक्रिया