काठमाडौं - वर्तमान संविधान बनेको ११ औं वर्ष पुरा भएको छ । सधैं झैं यस वर्ष पनि असोज ३ गते संविधान दिवस मनाइएको छ । दिवस भनेपछि एउटा उमङ्ग र उत्साहको क्षण हो । तर यसपटक संविधान दिवस मनाइरहँदा नेपालीको मनमा कुनै उत्साह, उमंग देखिएन । देशको शासनसत्ता संविधान अनुसार चन्लने गर्दछ । तर नेपालको इतिहासमा यो संविधान निकै कठिन अवस्थामा रहेको छ । गत वर्ष भदौमा भएको विध्वंशले संविधानको आत्मा मरिसकेको छ । घोषित रुपमा संविधानको अन्त्य नगरिए पनि व्यवहारमा मुलुक त्यसको बर्खिलापमा चलिरहेको छ । संविधान, सिंहदरवार र सर्वोच्च अदालत जलाउनेहरु नै अहिले सर्वशक्तिमान भएको अवस्था छ ।
अघिल्लो वर्षको भाद्रले सिंहदरबारलगायतका संरचना ध्वस्त बनाएको थियो भने त्यही पृष्ठभूमिमा अहिलेको सरकार बनेको हो, जसले उत्पादन वा रोजगारी वा अर्थतन्त्रमा नयाँ दिशा दिन सकेको छैन, बरु ग्याँसको चरम अभाव, भान्सामा बिजोग, करको बढोत्तरी, आम उपभोक्ताले धान्न नसक्ने बजारभाउ र सबैतिरका पूर्वाधार कमजोर अनि मूल राजधानी नाका छिर्ने सडक सञ्जाल नै तोडिएको अवस्था छ । मनको पीडा ओकल्दै यो आलेख तयार भएको छ ।
संविधानमा मौलिक हकहरू धेरै लेखिएका छन् । जसमा आर्थिक समृद्धि र विकासको खाका पनि कोरिएको छ । नागरिकको आधारभूत अधिकारको ग्यारेन्टि संविधानमा नै लेखिएको छ । तर व्यवहारतः संविधानले देखाएको बाटोमा सरकार चल्न सकेन । संविधान आउनुपूर्व नै गाउँघर रित्तो बनायो, युवा जनशक्ति होनाहारलाई खाडी धकेल्यो, विप्रेषण र व्यापारघाटाको अब्बल देश बनायो र बाकसमा युवा फर्काउने कार्यलाई निरन्तरता दियो । अति कमजोर, ठेकेदारी, असारे, बिचौलिया पूर्वाधार तयार गरी वर्षाको भेलसँगै मानव मात्र बगाएन यसले कृषि प्रणाली, उद्योगधन्दा सबै चौपट बनायो ।
शिक्षा, स्वास्थ्य मात्रै महँगो बनाएन, कुनै पूर्वाधार नभएको जंगल बस्तीलाई नगरपालिका बनाएर करको हम्मरले तालु फुट्ने गरी हिर्कायो । यस्ता विकट क्षेत्रमा बस्न नसकेर नेपालीहरू सहर पसे र पीडाबोध गरे त्यहाँ, सार्वजनिक क्षेत्र अतिक्रमण गरे, पछि छातीमै डोजर चल्यो । सहरको भोको सिंहदरबार खरो नङ्ग्रा लिएर गाउँ पस्यो र गाउँवासी रक्ताम्य भए, पछि नङ्ग्राविहीन दरबार जल्यो, पालमा पुग्यो, अहिले पनि घुम्टो ओढेर बसेको छ, यसो भनौँ यो संविधानलाई इतिहास नै ध्वस्त बनाउने औजारको रुपमा प्रयोग गरियो ।
यो संविधान आफैमा संझौताको दस्तावेज हो । विपरित स्वार्थ भएका स्वार्थ समूहको सहमतिमा बनेको संविधानले आफैले परिकल्पना गरेका विषयहरु कसरी पुरा गर्न सक्ने ? विदेशीहरुको दवाव र प्रभावमा संविधानका अन्तरवस्तुहरु समावेश गरिएको आरोप यसको जन्मकालदेखि नै लाग्दै आएको छ । कोतपर्वमा जंगबहादुरको संविधान थियो, १ सय ४ वर्षको राणाकालीन समयमा श्री ३ हरूको ओठैमा संविधान बस्थ्यो, पछि पद्मशमशेरले म देशको नोकर हुँ भने । सात सालपछिको संविधानले पनि देशलाई निकास दिएन, पन्ध्र–सत्र हुँदै नेपालको संविधान बीस जारी भयो, केही पञ्चहरूमै सीमित रह्यो संविधान, तर पछिल्लो समय जस्तो धेरै अत्याचार तिनले गरेनन् । छत्तीस सालमा सामान्य आगजनी हुँदा जनमत–संग्रह गर्ने राजाले दलहरूलाई छयालीसमा स्वतन्त्र गरेर ४७ सालको संविधान दिए, तर बाउन्नपछिको सशस्त्र संघर्षका कारण इतिहास मात्रै भत्केन, राजाको श्रीपेच राष्ट्रपतिले लिए । त्यसैमा आएको अन्तरिम संविधान र फेरि आएको ७२ को संविधान जुक्तिले बचाउने राष्ट्रपति शीतल निवासमा छन्, जनता भने विदेशी भूमिमा नारकीय जीवन बिताउन बाध्य छन् ।
संविधान तत्कालिक राजनीतिक अवस्थाको संझौताको दस्तावेज हो । यो आफै बोल्दैन । तर यसलाई प्रयोग गर्नेहरुको नियत र इमान्दारितामा यसको कार्यान्वयन भर पर्दछ । नाना, खाना, छानाको कुरो गौण छ । स्वच्छ श्वास–प्रश्वासमै समस्या छ, विषादी खाना व्याप्त छ, मानव स्वास्थ्यमा ध्यान छैन, कुन बेला को पुरिएर वा बलात्कृत भएर मर्ने हो, निश्चित छैन । आफ्नो खाद्यान्न नै छैन पहिले, लत्ताकपडा, आवासको कुरो त कता हो कता ? घरजग्गाबाट र आयातित सवारी साधन अनि तिनले प्रयोग गर्ने संसारकै महँगो इन्धन आयात गरेर सिंहदरबार र सबै संयन्त्र सञ्चालित रहनुपर्ने अवस्था छ । कसेर कर उठाउँदा पनि नधानिएर भन्सारका सामानबाट कर उठाएर सरकारले ठूलो व्यापार गरिरहेको छ । गरिनुपर्ने उद्योग थियो, गर्नुपर्ने उत्पादन थियो, हुनुपर्ने बेरोजगारी समस्या समाधान थियो, स्वस्थ नागरिक उत्पादन गरी सामाजिक–आर्थिक रूपान्तरण थियो, तर सबै क्षेत्रमा चरम निराशा छर्दै विद्यमान संविधानले टुलुटुलु हेरेर मूकदर्शक भएर बसेको छ र अझै जीवित हुने अपेक्षा गरिरहेको छ, जबकि यसले धेरै नेपालीलाई निर्जीव गराइसकेको छ ।
प्रतिक्रिया