टिप्पणी

आर्थिक कुटनीति र नेपाल

आइतबार, ०४ असोज २०८३, १३ : ०८

काठमाडौं - मुलुकको समग्र विकासमा कुटनीतिको अर्थपूर्ण भूमिका हुने गर्दछ । नेपाल जस्तो कमजोर र साना मुलुकहरुको लागि त कुटनीति नै सबैभन्दा ठूलो हतियार हो । नेपाल एक सार्वभौम सत्ता तथा राजकीय सत्ता जनतामा निहित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक , मिश्रित अर्थव्यबस्था अपनाएको मुलुक हो ।

नेपालको आर्थिक इतिहासमा धेरै लामो समयसम्म नेपालले आफ्ना आर्थिक गतिबिधिलाई बाह्य जगत्मा पुर्याउन सकेन । सोही कारण नेपाली अर्थतन्त्रको बाह्य मुलुक सँगका आर्थिक गतिबिधि भएन यसले गर्दा नेपालमा प्रजातन्त्रको स्थापना हुनु भन्दा अघिका दिनमा नेपालको औपचारिक आर्थिक कुटनीति निर्माण गरिएको पाईदैन् ।

आफ्नो इतिहासमा कसैको कुनै प्रकारको पनि उपनिवेशमा नपरेको मुलुकले पनि समयमा आफ्नो आर्थिक कुटनीति बनाउन नसक्दा नै आजको दिनमा लाखौँ नेपालीे आफ्नो श्रमशक्तिलाई सिन्कीको भाउमा विदेशी मुलुकमा बेच्न बाध्य भएका छौ ।

नेपाल राणकालको १०४ वर्षसम्म बाह्य जगत्को घुलमिलबाट पृथक रह्यो । नेपालले २००७ सालपछि बाह्य जगत्मा आफ्नो सम्बन्ध विस्तार गर्दै लैजान सुरुवात गरेको हो । जब नेपालमा नेपालमा राणा शाशनको विरुद्धमा संघर्षको औपचारिक सुरुवात गरियो सो आन्दोलनलाई भारतीयहरुले हर प्रकारको सहायता प्रदान गरेका थिए । भारतमा स्वतन्त्रताका लागि भएको भारत छोड अभियानमा कैयौँ नेपालीहरुले प्राणको आहुती दिएर सहयोग गरेका थिए । यी गतिबिधिले नेपाललाई बाह्य मुलुकको सञ्जालमा पहुँच वृद्धि अवसर प्रप्ति भयो । त्यसपछिका दिनहरुबाट नेपाली अर्थतन्त्रले आफ्नै परिवेशको आर्थिक कुटनीति पाएको थियो ।

२००७ पछिको परिवर्तन लगतै दरबार पूर्व राणाशासक र नेपाली कांग्रेस पाटीको त्रिपक्षीय सरकार गठन गरियो । २००७ सालको परिवर्तन पछि नेपाली अर्थतन्त्तमा बार्षिक बजेट कार्यक्रम तथा आवधिक योजनाको सुरुवात भयो जसलाई आर्थिक नीतिको सुरुवाती कदम मानिन्छ ।

२००७ सालमा त्रिकोणात्मक शक्ति सन्तुलनको आधारमा गठन गरिएको सरकार केही समयमै असफल भयो । त्यसपछिका दिनहरुमा शक्ति दरबार र कांग्रेसका हातमा गयो । २०१५ सालमा आम निवार्चन भई गठन भएको सरकार १८ महिनासम्म मात्र अस्तित्वमा रहन गयो ।

सो समयमा नेपाली आर्थिक कुटनीतिले बामे सर्ने अवस्था आएको थियो । तर तत्कालिन राजतन्त्रबाट नेपालमा बहुदलिय प्रजातन्त्र अफासिद्ध भएको आरोप लगाउँदै निर्दलिय पञ्चयाती व्यवस्थाको सुरुवात गरिएको थियो जसले ३० वर्ष आफ्नो आधिपत्य जमायो । यस अवधिमा शासन सत्ता जोगाउने कसरत बाहेक नेपाली अर्थतन्त्रलाई अगाडि बढाउने खालका उल्लेख्य कदम भएको छैन भन्ने अवस्था छैन किनकी यस समयमा नेपाली अर्थतन्त्रलाई आत्मनिभर बनाउनको लागि भर मग्दूर प्रयासको थालनी गरिएको थियो ।

२००७ देखी २०१५ सम्मको अवधिमा नेपाली अर्थतन्त्रले आफ्नो कुटनीतिमा सफलता पाएको पाईन्छ । सो अवधिमा नेपालले भारत, चिन , बेलायत , अमेरिका जस्ता दातृ मुलुकसँगको आफ्नो आर्थिक सम्बन्धलाई ठोस रुप दिँदै अगाडी बढाएको थियो ।

२००८ साल पछिका बार्षिक बजेटमा बैदेशिक ऋण, अनुदान भित्रयानमा नेपाली कुटनीति सफल भएको पाईन्छ । यद्यपि परिचालनमा भने असफलता प्राप्त गरेको थियो । जसको मुख्य कारक तत्व भनेको शासन सत्ताको बागडोर समालेर बसेका जिम्मेवार व्यत्तित्वहरु नै जिम्मेवार थिए । उनीहरुले आर्थिक स्रोत र साधन कसरी र कहाँबाट जुटाउने भन्नेमा समय दिए तर परिचालन र अनुगमनमा प्रयाप्त समय दिन सकेनन् । त्यसकारणले नेपाली आर्थिक कुटनीतिले आंशिक उपलब्धीमै चित बुझाउनु पर्ने अवस्था आयो ।

 २०४७ सालमा देशमा बहुदलीय प्रजातन्त्रको पुनः स्थापना भएपछि गठन भएका प्रत्येक सरकारले नेपालको निर्यात प्रवद्र्धन गर्ने विभिन्न नीतिगत तथा कार्यगत कदम चाल्दै आएपनि सफल भएनन् । देशमा बद्दो व्यापार घाटा र भारतसँगको अत्यधिक निर्भरतामा खासै सुधार आउन सकेको छैन् । निर्यात प्रवद्र्धन गर्दै लैजाने र भारतसँगको बढ्दो आयात कम गर्ने नेपालको पहिलो आर्थिक कुटनीति हुनुपर्छ ।

 आर्थिक कुटनीतिका विभिन्न पक्षमध्ये पर्यटन एक महत्वपूर्ण क्षेत्र हो । किनभने नेपालको पर्यटन उद्योग विकास तथा विस्तारका लागि आर्थिक कुटनीतिले उल्लेख्य सहायता गर्न सक्छ । त्यसमाथि केही समय अगाडी मनाइएको पर्यटन वर्ष २०११ र लुम्बिनी पर्यटन वर्ष पनि असफल भइसकेका छन् । जसले पनि नेपालको आर्थिक कुटनीति असफलता तर्फ केन्द्रीत हुदै गएको प्रमाणित गरेको छ ।

देशमा २००७ देखि २०७४ सम्म विभिन्न किसीमका राजनैतिक परिवर्तन भएता पनि देशको आर्थिक कुटनीतिले प्रमुख स्थान हासिल गर्न नसक्दा नेपाली अर्थव्यवस्था दिनानुदिन परनिर्भरतातर्फ धकेलीरहेको छ । विश्वव्यापी परिवर्तनलाई आत्मसाथ गर्ने होडबाजीमा नेपालले आफ्नो वास्तविकतालाई आँखा चिम्लेर स्वीकार गर्नाले देशमा रहेका लगानीकर्ता निरुत्साहित भएका छन् ।

२०४९ साल पछि नेपाल सरकारका तर्फबाट पूर्ण स्वामित्वका उद्योग, व्यवसाय स्थापना भएको अवस्था छैन । जसले नेपालको आर्थिक कुटनीतिलाई असफल बनाउन बल पुगेको छ ।

नेपालको आर्थिक कुटनीतिले असफलता प्राप्ती गर्नुमा दश वर्षे जनयुद्द पनि जिम्मेवार छ किनकी सो समय अवधिमा लगानी कर्ताहरु सबैभन्दा बढि पिडित भए जसले गर्दा नेपाली अर्थतन्त्रले बाह्य लगानी प्राप्त गर्ने सकेन ।

नेपाली अर्थनीति विदेशी सँग माग्ने आफ्नालाई पोस्ने नीतिका रुपमा नेपाली समाजमा परिचित हुदै गएको छ । यो अवस्था अझै केही समय कायम रहेमा नेपाली अर्थतन्त्रले अरुबाट माग्ने आफ्ना मान्छे पोस्नेमा विश्व किर्तिमान कायम नगर्ला भन्न सकिन्न ।

नेपाली सीमाना खुला छ जसले गर्दा यहाँको वैदेशिक व्यापार प्रतिकुल छ यसको सिधा असर भुक्तानी सन्तुलन तथा शोधानान्तर स्थितीमा परेको छ । इतिहासमा नेपाली अर्थव्यस्थालाई सबैभन्दा बढी असफल बनाउनमा २०५१ सालदेखि हाल सम्मका राजनैतिक गतिविधि जिम्मेवार छन् ।

नेपालमा जति पनि नीति तथा कार्यक्रम निमार्ण गरिन्छ ति सबै कागजमा विश्वामा सर्वोेत्कृष्ट प्रथम स्थानमा पर्दछन तर विडम्बना कार्यान्यवनका क्षेत्रमा भने अन्तिममा पर्दछ ।

नेपाली अर्थतन्त्रलाई सबल समृद्ध बनाउन विभिन्न प्रयास भएको भएता पनि ठोस उपलब्धी पाउन सकिएको छैन । नेपाली राजनीति विदेशीको ईशारामा चल्छ र सोही अनुसार आर्थिक नीति जसको नतिजा युवा जनशक्ति विदेश पलायन हुनुपरेको तीतो यथार्थ छ ।
देशको आर्थिक नीतिले सफलता प्राप्ति गर्दछ त्यती बेलामात्र देश विकासका हरेक पूर्वाधारले समृद्धि प्राप्त गर्दछन अनि मात्र देश बन्छ । 
नेपाललाई आर्थिक रुपमा असफल मुलकुको सूचीबाट बचाउनको लागि देशको आर्थिक विकासका पूर्वाधारमा क्षती पुर्याएका कुनै पनि पाटीलाई तिरस्कार गर्नुपर्छ । साथै गफ गर्नेलाई नभई काम गर्नेलाई जनताले सहयोग गर्नुपर्छ । नेपालले बदलिदो परिवेशमा आर्थिक कुटनीतिलाई परिमार्जन गर्न जरुरी छ । नेपाल अब विदेशमा भाडाका श्रमिक उपलब्ध गराउने मुलुकमा रुपमा चिनिनु हुँदैन । आर्थिक नीतिहरुलाई व्यापक परिमार्जन गर्दै  आर्थिक कुटनीतिको माध्यमबाट समृद्धिको आधार पहिल्याउनु पर्दछ ।  

आइतबार, ०४ असोज २०८३, १३ : ०८

प्रतिक्रिया