काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरमा यात्रु बसमा आगलागी हुँदा बस जलेर नष्ट भएको छ। त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्ट्यान्डमा केहीबेरअघि आगलागी भएको हो।
आगलागीमा बसका चालकसमेत घाइते भएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गर्दै चालक घाइते भएको जानकारी दिएका छन्।
प्रहरीका अनुसार आगलागी भएको बस बा ५ ख ४२७४ नम्बरको हो। बसका चालक काभ्रेका २५ वर्षीय दावा लामा रहेका छन्।
प्रहरीका अनुसार बसभित्र चालक रहेका बेला आगलागी भएकाले प्रारम्भिक अनुसन्धानमा चालक आफैंले आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ। घाइते लामालाई उपचारका लागि अस्पताल पठाइएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया