काठमाडौँ - नेपालको बैंकिङ क्षेत्रमा देखिएको अहिलेको दबाबबाट बाहिरिन नयाँ पुँजी र नयाँ लगानीकर्ता भित्र्याउनुपर्नेमा सरोकारवालाहरुको जोड रहेको छ । पुराना प्रवर्द्धक तथा सेयरधनीलाई आफ्नो हिस्सा क्रमशः घटाउन वा बाहिरिन सहज हुने व्यवस्था गर्न सके बैंकिङ क्षेत्रमा नयाँ पुँजी, लगानीकर्ता र नयाँ सोच भित्र्याउन सकिने अवस्था रहेको उनीहरुको भनाइ छ ।
अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्या अर्थतन्त्रको संरचनागत क्षतिका कारण भएको होइन । बरु उत्पादनशील क्षेत्रमा अपेक्षाअनुसार लगानी हुन नसक्नु, विगतमा आएका विभिन्न आर्थिक झट्का र श्रम पलायनका कारण बैंकिङ क्षेत्रमा दबाब देखिएको अवस्थालाई अस्विकार गर्न सकिदैन । अर्थतन्त्र चलायमान हुन सके बैंकिङ क्षेत्र पनि पुनः बलियो बन्नेछ ।
निश्चित रुपमा बैंकिङ क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले अहिले देखिएका समस्यालाई दीर्घकालीन संकटका रूपमा हेर्नुभन्दा सुधारका लागि नीतिगत र संरचनागत पहल आवश्यक छ। नयाँ पुँजी भित्र्याउने वातावरण बनाउन पुराना प्रवर्द्धकलाई बाहिरिने वा आफ्नो हिस्सा घटाउने अवसर भने दिनुपर्दछ । यस्तो व्यवस्थाले पुँजी परिचालन र आर्थिक गतिविधि बढाउन सहयोग गर्न सक्तछ ।
‘बैंकिङ क्षेत्रमा देखिएको अर्को चुनौतीका रूपमा कर्जा नोक्सानी व्यवस्थापन र त्यससँग जोडिएको करसम्बन्धी व्यवस्थालाई लिन सकिन्छ । अर्थतन्त्रमा आएको असरका कारण बढेको कर्जा नोक्सानीको भार बैंकिङ क्षेत्रले मात्र बेहोर्नुपर्ने अवस्था नहुने गरी नीतिगत सुधार आवश्यक रहेको सम्बद्ध पक्षहरुले आत्मसात गर्न आवश्यक छ ।
हालैको बाढी तथा विपद्बाट बैंकका ऋणीको सम्पत्ति र व्यवसायमा परेको क्षतिको उचित मूल्यांकन आवश्यक छ । निक्षेपकर्ताको रकम सुरक्षित रहे पनि ऋणीको सम्पत्ति र व्यवसायमा परेको क्षतिको असर बैंकिङ क्षेत्रमा पर्ने भएकाले राष्ट्र बैंक र बैंकहरू मिलेर त्यसको उचित निकास खोज्न सबैको ध्यान जानुपर्दछ । स साना त्रुटिका कारण बैंकिङ क्षेत्रमा काम गर्नेहरूमा डरको वातावरण बन्नु हुँदैन ।
नेपालले ठूलो आकारको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखेको अवस्थामा त्यसअनुसार बैंकिङ क्षेत्रको आकार र क्षमता पनि विस्तार गर्नुपर्दछ । अर्थतन्त्र विस्तारका लागि आवश्यक पुँजी उपलब्ध गराउन बैंकहरूमा नयाँ इक्विटी आकर्षित हुने वातावरण बनाउन पनि उत्तकै जरुरी छ ।
बैंकिङ क्षेत्रमा लगानी आकर्षित गर्न सेयरधनीले उचित प्रतिफल पाउने वातावरण आवश्यक रहेकोले बैंकहरूले नाफा कमाएको तथ्य मात्र पर्याप्त नभई त्यसबाट लगानीकर्ताले पाउने प्रतिफल र बैंकमा नयाँ पुँजी आकर्षित हुने वातावरणलाई पनि नीतिनिर्माणमा ध्यान दिनुपर्दछ ।
प्रतिक्रिया