काठमाडौं– नारायणी नदीको कटान तथा डुबानबाट प्रभावित भरतपुर महानगरपालिका–१६ को तटीय क्षेत्रको दीर्घकालीन सुरक्षाका लागि स्थानीय संघसंस्था तथा सरोकारवालाहरू संगठित भएका छन्।
ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा बसेको संयुक्त बैठकले नारायणी तटीय क्षेत्रमा उच्चस्तरीय तटबन्ध निर्माणका लागि दबाब दिन तथा सम्बन्धित निकायसँग समन्वय गर्न विजय परियारको संयोजकत्वमा १३ सदस्यीय ‘पहल समिति’ गठन गरेको हो।
समितिको संयोजकमा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विजय परियार र सचिवमा सिद्धि गणेश सामुदायिक वनका धिरेन्द्र घिमिरे चयन भएका छन्।

समितिका सदस्यहरूमा ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णप्रसाद पौडेल, सिद्धि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णुहरि अधिकारी (केशव), सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष नन्दप्रसाद भट्ट, ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूहकी सचिव रश्मी कोइराला, उपाध्यक्ष गोपाल गुरुङ, सिद्धि गणेश सामुदायिक वनका द्रोण गुरुङ, सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहकी सचिव शारदा पोखरेल, कोषाध्यक्ष विशाल सुवेदी, अनुगमन संयोजक सुरेस मगर, सिद्धि गणेश मन्दिर समितिका उपाध्यक्ष गोविन्द अधिकारी र सेतीदेवी टोल विकास संस्थाका अध्यक्ष तुलबहादुर गुरुङ रहेका छन्।
ज्ञानेश्वर, सेतीदेवी तथा सिद्धि गणेश सामुदायिक वन क्षेत्रसँगै आसपासका मानव बस्तीहरू नारायणी नदीको बाढी, कटान र डुबानबाट बर्सेनि प्रभावित हुँदै आएका छन्। वर्षायाममा नदीले ठूलो भूभाग कटान गर्ने र बस्तीहरूमा समेत जोखिम बढाउने भएपछि स्थानीयले दीर्घकालीन समाधानका रूपमा पक्की तथा दिगो तटबन्ध निर्माणको माग गर्दै आएका छन्।
नवनिर्मित पहल समितिले तटीय क्षेत्रमा तत्काल तटबन्ध निर्माणको काम अघि बढाउन सम्बन्धित सरकारी निकाय तथा सरोकारवालामाथि आवश्यक दबाब सिर्जना गर्ने र स्थानीयस्तरमा समन्वय गर्ने जनाएको छ।
प्रतिक्रिया